पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, रुपन्देही र तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो ।
गुल्मीको इस्मा गाउँपालिका–६ आपलायस्थित सडकमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जैथुमबाट कुखुरेतर्फ जाँदै गरेको लु.२ त ६१९४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मान बहादुर खत्रीको छोरा १२ वर्षीय कुञ्जन खत्रीको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रूपन्देहीको देवदह नगरपालिका–६ मिलन चोकस्थित सडकमा पनि गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुटवलबाट नवलपरासीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–७ खैरेनी बस्ने ८२ वर्षीय बुद्धि प्रसाद पोखरेलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ ।
यसैगरी रूपन्देहीकै बुटवल उपमहानगरपालिका–५ पुष्पलालपार्कस्थित सडकमा गाडी र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । लु.१ क १६२९ नम्बरको गाडी र लु. ११ प ४२३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१४ कृष्णगंज बस्ने ३३ वर्षीय मिलन न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धार्थनगर सिटि अस्पताल भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पञ्चमुनी चोकस्थित सडकमा पनि स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको गण्डकी बिएए १४८४ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ गाछेपानी बस्ने ३६ वर्षीया सबिना गुरूङको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्कबाट गम्भीर घाइते भएकी उनको मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


