Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी  दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार  कपिलवस्तु, तनहुँ, सुर्खेत, मकवानपुर, मोरङ र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६ जनाको ज्यान गएको हो ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ भुसुडीस्थित सडकमा लु.९२ प १३०९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–१ सेखुईया बस्ने १६ वर्षीय आकाश विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सिटि अस्पताल भैरहवामा उपचार भइरहेको छ । यस्तै तनहुँको बन्दिपुर गाउँपालिका–४ बिमलनगरस्थित सडकमा डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा.प्र.०२–०५५ प १६३९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक  पैदलयात्रीको मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने ७० वर्षीया पम्फा बोटेको  मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको अन्नपूर्ण अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भालुखोलास्थित सडकमा भालुखोलाबाट खहरे खोलातर्फ जाँदै गरेको भे.२ त ५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–९ बोटेचौर बस्ने २८ वर्षीय बिमल रानाको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–८ ईपादेउरालीस्थित सडकमा ईपाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२ ख ९४३० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ६३ वर्षीया लिला देवी खत्रीको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै झापाको दमक नगरपालिका–५ स्थित सडकमा प्र.१–०२–०५३ प ७४३९ नम्बरको मोटरसाइकललाई प्र.१–०१–००१ ख ४२९२ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका–८ बस्ने पाँचथर घर भएका ५३ वर्षीय मंगल प्रसाद साउदेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङको विराटनर महानगरपालिका–१० निर्मल जलस्थित सडकमा निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्र.१–०४–००१ प ३३७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा चालक सोही महानगरपालिका–१ बस्ने २४ वर्षीय अंकित पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update