Shittalpati
पाल्पामा हराउँदै पिङ संस्कृति

पाल्पा, हिन्दुको महान् चाड दसैं–तिहारमा पिङ हाल्ने र खेल्दै आएपनि केही वर्षदेखि मौलिक संस्कृति हराउँदै गएको छ । यहाँका गाउँ–गाउँदेखि सहरबजारमा दसैं आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउँदै  गएको हो ।

दसैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ बनाउन युवायुवतीदेखि बुढापाकासम्म जुट्थे । कसैले वनबाट बाबियो ल्याउँथे, लठ्ठा बाट्थे, कसैले बाँसको जोहो गर्थे । पिङ हालिसकेपछि त्यसको रौनक छुट्टै हुन्थ्यो । दसैं मनाउन सहर, भारत तथा विदेशबाट घर फर्किनेहरूका लागि पनि पिङ खेल्नु पर्वको एउटा विशेष आकर्षण मानिन्थ्यो । तर अहिले यहाँका गाउँघरमा दसैं–तिहारको त्यही रौनक कम हुँदै गएको छ । पिङ हाल्ने र खेल्ने परम्परा क्रमशः ओझेलमा पर्दै गएको छ । गाउँलेलाई एउटै ठाउँमा भेला गराउँथ्यो पिङले तर पछिल्ला वर्ष यस्ता दृश्य ग्रामीण क्षेत्रमा कम देखिन थालेका छन् । परम्परादेखि नै पाल्पामा चलनचल्तीमा आएको चर्खे, लिङ्गेजस्ता पिङ लोप हुँदै गएको छ ।

झण्डै दुई दशकअघि गाउँ–गाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे तापनि अहिले पिङको नाम मात्र लिनुपरेको रैनादेवी छहराका दिपक पोखरेलले बताए । “खरबारी र जङ्गलबाट बाबियो, काठ काटेर ल्याइन्थ्यो, वल्लाघर पल्लाघरका सबै जम्मा भएर डहर, खुला चौरमा पिङ राखिन्थ्यो, पिङ खेल्नेको ठूलै भीड लाग्थ्यो, अहिले त पिङप्रति खासै चासो दिएको पाइँदैन”, उनले भने, “काठैकाठले बनेको चर्खे पिङ खेल्दै रमाउनेको भीड हुन्थ्यो ।” चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको उनी सम्झन्छन् । माथागढी गाउँपालिका देउगीरका गम्भीर थापा दसैं आउनुअघि साथीसँगी मिलेर बाबियो लिन जाने र पिङ बनाउने गरेको सम्झन्छन्  उनी भन्छन् “पिङ बनाउन र खेल्न गाउँका मानिसमा छुट्टै उत्साह हुन्थ्यो । अहिले भने त्यस्तो चलन हराउँदै गएको छ । पहिला दसैं आउँदा साथीसाथी मिलेर बाबियो लिन जान्थ्यौं । पिङ बनाउँथ्यौँ । आजभोलि त्यो पिङ नै हरायो ।” दिलबहादुर थापा आफूले जानेबुझेदेखि नै गाउँका साथीभाइ जम्मा भएर ज·लमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकोमा गुनासो गन्छन् । 

चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो । “गाउँघरमा पिङ राखेपछि बल्ल दसैं लाग्यो भन्ने आभाष हुन्थ्यो, दसैंका दिन एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिन्थ्यो, हिजोआज त पुरानो संस्कृति नै हराउँदै जान थालेकामा चिन्ता लागेको छ,” उनी भन्छन् । पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढा–टाढाबाट दसैंका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो, तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गे पिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यसपटक भने त्यति रौनक छैन ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update