नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वमध्ये कोजाग्रत पूर्णिमाको विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको छ । बडादसैँको समापनसँगै आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने अवसर हो । यस दिन रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गर्ने परम्परा छ । ‘को जागर्ति’ अर्थात् ‘को जागा छ ?’ भन्ने धार्मिक मान्यतासँग जोडिएको यस पर्वले मानिसलाई निद्राबाट मात्र नभई अज्ञानता, आलस्य र नकारात्मक सोचबाट समेत जागृत हुन प्रेरित गर्दछ । त्यसैले कोजाग्रत व्रतलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी जीवनमा सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा लिन आवश्यक छ ।
हाम्रो समाजमा कोजाग्रत पूर्णिमाका दिन घरआँगन सफा गर्ने, दीप प्रज्वलन गर्ने, लक्ष्मीको पूजा गर्ने तथा परिवारका सदस्य एकै ठाउँमा भेला भएर जाग्राम बस्ने चलन छ । कतिपय स्थानमा भजनकीर्तन, सामूहिक पूजा तथा धार्मिक कार्यक्रमसमेत आयोजना गरिन्छन् । यस्ता परम्पराले परिवार र समुदायबीच आत्मीयता, सद्भाव र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । विशेषगरी आधुनिक जीवनशैलीका कारण पारिवारिक सम्बन्ध कमजोर बन्दै गएको वर्तमान अवस्थामा यस्ता पर्वले आपसी सम्बन्धलाई थप मजबुत बनाउने अवसर प्रदान गर्दछन् । कोजाग्रत व्रतको मूल सन्देश धनसम्पत्तिको कामना गर्नु मात्र होइन, त्यसको प्राप्तिका लागि आवश्यक परिश्रम, इमानदारी र सदाचारलाई आत्मसात् गर्नु पनि हो । धार्मिक विश्वासअनुसार यस रात जाग्राम बसी महालक्ष्मीको आराधना गर्नाले सुख र समृद्धि प्राप्त हुन्छ । तर वास्तविक जीवनमा समृद्धिको आधार मेहनत, अनुशासन, नैतिकता र असल कर्म नै हुन् । पूजा गरेर मात्र समृद्धि प्राप्त हुन्छ भन्ने सोचभन्दा पनि आफ्नो कर्मप्रति जिम्मेवार बन्ने प्रेरणा यस पर्वबाट लिन सक्नुपर्छ । अरूको श्रमको सम्मान गर्ने, अनावश्यक खर्च घटाउने, बचत गर्ने र समाजमा सहयोगको भावना विकास गर्ने संस्कार नै समृद्ध समाज निर्माणका आधार हुन् ।
कोजाग्रत व्रतले बोकेको आस्था र विश्वासलाई व्यवहारसँग जोड्न सकियो भने यसको महत्व अझ व्यापक हुनेछ । रातभर जाग्राम बस्नु मात्र जागरण होइन, आफ्नो सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु वास्तविक जागरण हो । महालक्ष्मीको आराधनासँगै श्रमको सम्मान, इमानदारी, सद्भाव र सामाजिक उत्तरदायित्वको सङ्कल्प गर्न सकियोस् । कोजाग्रत पूर्णिमाले हरेक घरमा उज्यालो मात्र होइन, हरेक मनमा चेतना र समाजमा सकारात्मक परिवर्तनको ज्योति फैलाउन सकोस् ।

