दशैँ नेपालीहरूको महान् राष्ट्रिय तथा सांस्कृतिक पर्व हो । यो पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हरेक वर्ष आश्विन महिनामा मनाइने बडादशैँले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजय भएको सन्देश दिन्छ । यस पर्वले नेपालीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनमा विशेष महत्व राख्दछ ।
हरेक वर्षझैँ यस वर्ष पनि दशैँले देशभर खुशी, उमंग र पारिवारिक मेलमिलापको मौकालाई साथमा ल्याएको छ । परदेशमा रहेका नेपाली बिदा मिलाएर स्वदेश फर्किएका छन्, शहरमा व्यस्त जीवन बिताइरहेका लाखौँ नेपालीहरू आफ्ना पुख्र्यौली थलोमा फर्किने यात्रामा छन् । यो दृश्य आफैँमा नेपाललाई एक धागोले गाँस्ने असल उदाहरण हो । नेपाली मनहरुलाई एक–आपसमा प्रगाढ बनाउने र सस्ंकृति, परम्परालाई अझै उचो बनाउने चाड हो यो । तर, पछिल्लो समय दशैँ मनाउने क्रममा देखिने अनावश्यक खर्च, तडकभडक, देखासिकी र आर्थिक प्रतिस्पर्धाले यसको मौलिक महत्वमा चुनौती थपेको छ । चाडपर्व मनाउने नाममा ऋण लिएर खर्च गर्ने प्रवृत्ति उचित होइन । त्यस्तै, मदिराको अत्यधिक सेवन, जुवातास, झैझगडा तथा सडक दुर्घटनाजस्ता समस्याले पर्वको खुसीलाई दुःखमा परिणत गर्न सक्छन् । त्यसैले दशैँलाई भड्किलो होइन, सरल, सभ्य, सुरक्षित र मितव्ययी ढङ्गले मनाउन आवश्यक छ । दशैँ केवल रमाइलो गर्ने अवसर मात्र होइन, समाजमा विद्यमान विभेद, असमानता र वैमनस्य हटाउने अवसर पनि हो। यस पर्वले धनी–गरिब, जातजाति, भाषा, धर्म र क्षेत्रका आधारमा हुने विभेदलाई त्याग्दै सबैलाई समान सम्मान गर्न प्रेरित गर्नुपर्छ । आर्थिक अवस्था कमजोर भएका परिवार, ज्येष्ठ नागरिक, असहाय तथा विपन्न व्यक्तिहरूको खुसीमा सहभागी हुनु नै दशैँको वास्तविक सुन्दरता हो ।
साथै, पशुपक्षीप्रति दया, वातावरण संरक्षण र सामाजिक सद्भाव कायम राख्दै चाडपर्व मनाउनु आजको आवश्यकता हो । दशैँको अवसरमा सबै नेपालीले विगतका तिक्तता बिर्सेर आपसी मेलमिलाप, सहयोग र सद्भावको भावना विकास गर्नुपर्छ । परिवारभित्र मात्र नभई छिमेकी, समुदाय र राष्ट्रकै हितका लागि एकताबद्ध हुने संकल्प गर्नुपर्छ । देशमा शान्ति, सुशासन, समृद्धि र सामाजिक न्याय कायम होस् भन्ने कामना गर्दै प्रत्येक नागरिकले आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्नु आवश्यक छ । यसै अवसरमा हाम्रा सम्पूर्ण पाठकवृन्द, स्वदेश र विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विजया दशमी २०८३ सालको हार्दिक शुभकामना अर्पण गर्दछौं । देवी दुर्गाले हामी सबैलाई मुलुक निर्माणको महान् यात्रामा सामूहिक शक्ति, आस्था र आत्मबल प्रदान गरुन् ।

