पाल्पा, दशैं नजिकिँदै गर्दा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, झापा, सप्तरी, धादिङ, कास्की र हुम्लामा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–४, जनसेवा चोकमा हायसको ठक्करबाट दुई वर्षीय बिराज लम्सालको मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–६ निवासी रोमराज लम्सालका छोरालाई लु.प्र. ०१–००१ ज ०९३० नम्बरको गाडीले ठक्कर दिएको थियो । गम्भीर घाइते बालकको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको हो । फरार हायस चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै झापाको मेचीनगर नगरपालिका–११, मखन मिलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २७ वर्षीय तिलकुमार पुरीको मृत्यु भएको छ ।तत्लो धाईजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे. ०८ प १३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पुरी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै कास्कीको पोखरा महानगरपालिका–१७, बालोदय चोकमा बिहीबार बिहान मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग.१४ प ४८७९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री ४५ वर्षीय कृष्ण कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुवै जनाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै सप्तरीको कञ्चनरूप नगरपालिका–११, सिमरामा रोकिराखेको प्रदेश १–०२–००१ क ४२८७ नम्बरका मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक भुवनपट्टी टोल निवासी ४५ वर्षीय हिराय सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै धादिङको गजुरी गाउँपालिका–५, घाटबेंसीमा काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको बा.प्र.०१–००६ ख ७८७६ नम्बरको बसको ठक्करबाट ५६ वर्षीय हरिबहादुर भण्डारीको मृत्यु भएको छ । स्थानीय निवासी भण्डारीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् । यस्तै, हुम्लाको सिमकोट गाउँपालिका–१, तल्लो सागोमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक धानुक सुनारको घटनास्थलमै मृत्यु भएको छ । चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको क.प्र.०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । सिमकोट गाउँपालिका–६ निवासी सुनारको मृत्यु भएपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु भएपछि प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।


