गुल्मी, रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिए ।
खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उनले बताए ।हवाई सेवा सञ्चालनमा आएसँगै मंगलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ । नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्नेगरी नयाँ तालिका निर्धारण गरेको छ । लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको छ ।
निगमले मंगलबारदेखि उडान तालिका समयमा समेत परिवर्तन गरेको छ । जसअनुसार आइतबार र मंगलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ८ः१५ बजे र शुक्रबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ६ः२० र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ७ः२० बजेको तालिका रहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि रु १० हजार ७१० र गुल्मीबाट काठमाडौँका लागि रु १० हजार ५१० हवाईभाडा निर्धारण गरेको छ । गुल्मीमा हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाÞय पर्यटकको आवागमनमा समेत सहजता आएको छ । सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौँ आवतजावत गर्न सहज भएको छ । नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा सुरु गरेको थियो । पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।


