Shittalpati
आज विश्व दृष्टि दिवस मनाइँदै 

पाल्पा, आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।

दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गरेको छ । विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगती तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । यद्यपि, प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन सकिएको छैन । दिवसका अवसरमा आँखाको नियमित परीक्षण, दृष्टि कमजोर हुन नदिन अपनाउनुपर्ने सावधानी तथा आँखासम्बन्धी रोगको समयमै उपचार गर्नुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएका छन् । दृष्टिसम्बन्धी समस्या भएका व्यक्तिले समयमै आँखाको परीक्षण र उपचार गराउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।  लामो समयसम्म मोबाइल, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणको प्रयोग गर्दा आँखामा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यस अवसरमा विभिन्न स्वास्थ्य संस्था तथा संघसंस्थाले निःशुल्क वा सहुलियतमा आँखा परीक्षण, जनचेतनामूलक कार्यक्रम, अन्तक्र्रिया तथा स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन् । विश्व दृष्टि दिवसले अन्धोपन तथा दृष्टिविहीनताको जोखिम न्यूनीकरण गर्दै सबैका लागि आँखाको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे सचेत गराउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update