नेपालमा मानसिक स्वास्थ्यको अवस्था विगत केही वर्षदेखि विकराल बन्दै गइरहेको छ । शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भए पनि अझै हाम्रो समाजमा बेवास्ता र लाजको विषय बनिरहेको छ । मानसिक स्वास्थ्य सुधारका कार्यक्रमलाई सरकारले समयमै ध्यान नदिने हो भने आगामी पाँच वर्षमा एक तिहाइ जनसंख्या डिप्रेसनको सिकार हुने डब्लुएचओले चेतावनी दिएको छ । नेपालमा बर्सेनि मानसिक रोगका बिरामीहरुको संख्या बढ्दै गएको छ । आत्महत्या गरेका र मानसिक स्वास्थ्यको उपचारका क्रममा रहेकाहरुको मात्र यकिन तथ्याङ्क आउने गरे पनि मानसिक रोग पहिचान नै नभएकाहरुको संख्या ठूलो छ ।
मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउने, मानसिक समस्याप्रति समाजमा विद्यमान भ्रम र विभेद हटाउने तथा मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अक्टोबर १० का दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ । शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि मानव जीवनको अभिन्न पक्ष हो । तर हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई पर्याप्त महत्व दिइएको पाइँदैन । यही कारण मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका धेरै मानिस खुलेर आफ्नो समस्या व्यक्त गर्न सक्दैनन् । मानिसको जीवनमा तनाव, चिन्ता, निराशा र विभिन्न चुनौती आउनु स्वाभाविक हो । तर जब यस्ता समस्या लामो समयसम्म रहन्छन् र दैनिक जीवन, अध्ययन, काम तथा सम्बन्धमा असर पार्न थाल्छन्, तब त्यसलाई बेवास्ता गर्नु हुँदैन । मानसिक स्वास्थ्यमा देखिने समस्या कमजोरीको लक्षण होइन, बरु उचित सहयोग, परामर्श र उपचारबाट व्यवस्थापन गर्न सकिने स्वास्थ्यसम्बन्धी अवस्था हो । त्यसैले मानसिक समस्यालाई लुकाउने होइन, समयमै पहिचान गरी समाधानको बाटो खोज्ने संस्कार विकास गर्न आवश्यक छ । नेपालमा पनि मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू बढ्दो चासोको विषय बनेका छन् । बेरोजगारी, आर्थिक अभाव, पारिवारिक कलह, सामाजिक दबाब, शैक्षिक प्रतिस्पर्धा, वैदेशिक रोजगारीका कारण उत्पन्न पारिवारिक दूरी तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको मानसिक अवस्थामा प्रभाव पार्न सक्छ ।
विशेषगरी किशोरकिशोरी, युवा, ज्येष्ठ नागरिक तथा विभिन्न कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्छ । विश्व मानसिक स्वास्थ्य दिवसले सबैलाई मानसिक स्वास्थ्यको महत्व बुझ्न, भ्रम र विभेद त्याग्न तथा सहयोगी समाज निर्माण गर्न प्रेरणा दिनुपर्छ । मानसिक स्वास्थ्यबारे बोलौँ, समस्यामा परेकालाई साथ दिऔँ र मानसिक रूपमा स्वस्थ तथा संवेदनशील समाज निर्माणमा हातेमालो गरौँ ।

