Shittalpati
पाल्पाली हस्तकलालाई आधुनिक बजारसँग जोड्नुपर्नेमा जोड

पाल्पा, पाल्पाली हस्तकलालाई आधुनिक बजारसँग जोड्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल हस्तकला संघ पाल्पाको २१ औँ साधारण सभामा बोल्ने अधिकांस वक्ताहरुले पाल्पाको मौलिक पहिचान बोकेका हस्तकलाका सामग्रीको संरक्षणसँगै उत्पादनलाई आधुनिक बजारको मागअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पाल्पाली ढाका संघका उपाध्यक्ष तथा पाल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हरि रायमाझीले पाल्पाली हस्तकलाको ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै पर्यटन व्यवसाय प्रवद्र्धनमा हस्तकलाले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पाल्पाली ढाका, करुवा लगायत परम्परागत पहिचान बोकेका हस्तकलाका सामग्रीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पु¥याउँदै आएको बताए । हस्तकलाका उत्पादनलाई आधुनिक बजारको आवश्यकता र उपभोक्ताको रुचिअनुसार परिमार्जन गर्दै लैजानुपर्नेमा उनले जोड दिए । साधारणसभामा तानसेन करुवा उद्योगका प्रोप्राइटर तथा संघका जेष्ठ सदस्य मंगलप्रसाद बज्राचार्यले पाल्पामा करुवा निर्माणको ऐतिहासिक पृष्ठभूमि र आफ्नो अनुभव सुनाए । उनले संघले आफूलाई विभिन्न तालिममा सहभागी गराएकाले नयाँ प्रविधिको प्रयोगमार्फत काम गर्न सहज भएको बताए । कार्यक्रममा संघका कार्यकारी सदस्य उत्तमकुमार बज्रार्चायले पाल्पाको हस्तकला क्षेत्रको वर्तमान अवस्था, सम्भावना तथा समस्याबारे धारणा राखेका थिए ।

वक्ताहरूले तानसेन तथा पाल्पाको ऐतिहासिक पहिचानका रूपमा रहेका ढाका कपडा, पाल्पाली करुवा, काँस तथा तामाका भाँडाकुँडा र काठका हस्तकलाका सामग्रीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । हस्तकलाले स्थानीय स्तरमा स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्दै आएको उल्लेख गर्दै यस क्षेत्रलाई थप व्यवस्थित, प्रविधिमैत्री र आधुनिक बनाउन सके जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने उनीहरूको भनाइ थियो । संघका कार्यवाहक अध्यक्ष सर्जुलाल बज्राचार्यले आगामी दिनमा पाल्पामा उत्पादित विभिन्न हस्तकलाका सामग्रीको उत्पादन तथा प्रदर्शनी रानीमहलमा गर्ने योजना रहेको बताए । उनले हस्तकलाका माध्यमबाट तानसेन र पाल्पालाई थप चिनाउन संघले निरन्तर काम गरिरहेको बताए ।

कार्यवाहक अध्यक्ष बज्राचार्यको अध्यक्षता, कोषाध्यक्ष वीरेन्द्रकाजी शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो । पाल्पामा ढाका, करुवा, काँस, तामा तथा काठका सामग्रीलगायतका हस्तकलाको लामो परम्परा रहेकाले यस्ता मौलिक उत्पादनको संरक्षण, उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार विस्तार गर्न सके हस्तकला क्षेत्र जिल्लाको आर्थिक विकासको महत्वपूर्ण आधार बन्न सक्ने अपेक्षा गरिएको छ । मौलिकता जोगाउँदै आधुनिक डिजाइन, प्रविधि र बजार रणनीति अपनाउन सके पाल्पाली हस्तकलाले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सक्ने सरोकारवालाको विश्वास छ ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update