Shittalpati
ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः बस्याल

पाल्पा, वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील सामाजिक संस्था ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः धनिश्वर बस्याल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अध्यक्षमा पुनः बस्याललाई चयन गरेको हो ।

लामो समयदेखि संस्थामा निरन्तर क्रियाशिल रही वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा इमान्दारिताका साथ काम गरेका कारण बस्याललाई अधिवेशनले पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । पुनः अध्यक्षको जिम्मेवारी पाएसँगै बस्यालले आगामी दिनमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने गतिविधिलाई थप सक्रियताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।  अधिवेशनले संस्थाको उपाध्यक्षमा भेषराज सुवेदी, सचिव गंगाबहादुर खत्री, कोषाध्यक्षामा शान्ति पाण्डे, सदस्यहरुमा दोर्ण भुसाल र भोजराज भट्टराईलाई चयन गरेको छ । अधिवेशनको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि  खनालले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो पर्यटन प्रवद्र्धनका क्षेत्रमा संस्थाले गरेका  गतिविधिहरु प्रशसनिय रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कामहरुलाई निरन्तरता दिन आग्रह गरे । ग्रीन फर गुड नेपालले तदर्थ समिति गठन भएदेखि नै तानसेनको श्रीनगर परिसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनलगायत वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको छ ।

संस्था दर्तापछि २०८० साल चैतमा संरक्षणकर्मी, सकारात्मक चिन्तक तथा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रमुख वक्ताका रूपमा आमन्त्रण गरी ‘दिगो पर्यटन प्रवद्र्धनमा वातावरणीय भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । संस्थाले समुदाय, विद्यालय तथा विभिन्न सार्वजनिक सम्पदा परिसरमा धातुका डस्टबिन राखी फोहोर व्यवस्थापनलाई व्यवस्थित र दिगो प्रणालीमा लैजाने प्रयास गर्दै आएको छ । साथै, विद्यार्थीमार्फत वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ग्रीन युथ क्लब गठन गरी वृक्षारोपण तथा फोहोर व्यवस्थापनसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शान्ति पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सचिव गंगाबहादुर खत्रीले संस्थाले हालसम्म गरेका गतिविधि तथा आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बस्यालको अध्यक्षता, उपाध्यक्ष भेषराज सुवेदीले स्वागत, सचिव खत्रीको  सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update