गोपाल प्रसाद वश्याल
नेपाल सांस्कृतिक विविधताको धनी देश हो । यहाँ धेरै पहिलेदेखि मानिसहरूले आन्तरिक, परम्परागत, राजनीतिक, आर्थिक, सामाजिक, बौद्धिक, कलात्मक, भावनात्मक, धार्मिक आदि स्वरूपमा अभ्यास र अवलम्बन गर्दै आएका परम्परा र संस्कारको समष्टि रूप नै नेपाली संस्कृति हो । यसरी नेपालमा प्राचीन समयदेखि समाजमा प्रचलित रीतिरिवाज, चालचलन, विश्वास, जीवन आदर्श, धार्मिक आस्था, सामाजिक मान्यतामा आधारित परम्परा रहिआएको छ । यसै परम्परागत ज्ञान र सीपको जगमा उभिएका नेपालका ऐतिहासिक सहरहरूले आ–आफ्नै मौलिक पहिचान बोकेका छन् । तानसेन, बन्दीपुर, भक्तपुर, कीर्तिपुर जस्ता सहरहरू नेपालको सांस्कृतिक सम्पदाका जीवन्त उदाहरण हुन् । यी सहरहरूको संरक्षणमा सरकारी निकाय, नगरपालिका र अन्य संस्थागत प्रयासहरू महत्वपूर्ण भए पनि वास्तविक संरक्षणको आधार स्थानीय समुदाय र नागरिक नै हुन् । परम्परागत सम्पदा भन्नाले पुर्खौंदेखि चलिआएको, सामाजिक मान्यता प्राप्त गरेको र पुस्तान्तरण हुँदै आएको सांस्कृतिक, धार्मिक, ऐतिहासिक र कलात्मक सम्पत्तिको समग्रतालाई बुझाउँछ ।
परम्परागत रीतिरिवाजभित्रकै एक अंश लोकप्रथा हो । लोकप्रथा शब्द ‘लोक’ र ‘प्रथा’ दुई शब्दहरूको मेलबाट बनेको छ । ‘प्रथा’ को अर्थ “पुख्यौली चालचलन, रीतिरिवाज वा परम्परागत परिपाटी” भन्ने हुन्छ । सरल ढ·बाट भन्नुपर्दा प्रथा भनेको परिपाटी हो, जुन पहिलेदेखि क्रमिक रूपमा प्रणाली वा पद्धतिका रूपमा चलिआएको छ । जब जनरीतिलाई अधिक स्थायित्व अर्थात् सामाजिक मान्यता प्रदान हुन जान्छ, तब यसले प्रथाको रूप धारण गर्दछ । पितापुर्खाका पालादेखि वर्तमानसम्म चल्दै आउदा मानिसहरूलाई गहिरो रुपमा प्रभावित गरेको हुन्छ । सांस्कृतिक सम्पदा मूर्त र अमूर्त अर्थात् भौतिक र अभौतिक दुवै रूपमा रहेको हुन्छ । मूर्त सम्पदामा मठमन्दिर, दरबार, पाटी–पौवा, ढुंगेधारा, चैत्य, गुम्बा, मस्जीद, भवन जस्ता भौतिक संरचनाहरू पर्दछन् भने अमूर्त सम्पदामा लोकगीत, लोकनृत्य, जात्रा, चाडपर्व, परम्परागत सीप, हस्तकला, लोककथा, भाषा आदि पर्दछन् । मान्छेद्वारा निर्मित पानी पँधेरो, मठ–मन्दिर, चैत्य, गुम्बा जस्ता विषय मात्र नभएर पाटी–पौवा, धर्मशाला जस्ता जीवनसँग जोडिएका विषयले लोभ–त्याग, पाप–धर्म, स्वर्ग–नर्क जस्ता अनेक विषयको स्थापना समाजमा गरिदिएको छ । नेपाली समाजलाई सूक्ष्म ढ·ले हेर्ने हो भने एउटा जातिको चालचलन संस्कारले त्यो जातिसँग सम्बन्धित उत्पादन सम्बन्ध र अर्थ व्यवस्थाको निर्धारण गरेको देखिन्छ । सामान्य हिसाबले हेर्दा गाईजात्रा पर्वसँग धेरै कुरा जोडिएर आउँछ । गाईजात्राको बेला लगाउने पोशाक, मुखुण्डो, खाने परिकार, गरिने प्रदर्शन, विधि–शास्त्र जस्ता विषय ललितकलाको पक्षसँग सम्बन्धित रहेको छ । त्यस्तै तामाङ, गुरुङ समुदायले पर्व विशेषमा बनाउने परिकार विशेष, लगाउने सांस्कृतिक पोशाक आदिमा कलाको मौलिक परम्परा साथै अर्थतन्त्रको पाटोको खोजी गर्न सकिन्छ । त्यसैले समाजलाई दिशानिर्देश गर्न र संस्कृति निर्माणमा परम्परागत कलाको महत्वपूर्ण भूमिका रहन्छ । तानसेन एउटा ऐतिहासिक तथा सांस्कृतिक महत्वको सहर हो । मगरात क्षेत्र तानसेनमा सेन, शाह, राणाहरूमात्र नभै नागरिक स्तरबाट गौरवमय परिवर्तन भएका छन् । नेपालको राष्ट्रिय अखण्डताको आन्दोलनसँग जोडिएको तानसेनस्थित ऐतिहासिक धार्मिक सम्पदा, कला–संस्कृति तथा पुरातात्विक महत्वका संरचना धेरै छन् । यिनीहरूलाई संरक्षण गर्दै आउने पुस्तालाई नासोको रूपमा हस्तान्तरण गर्ने दायित्व र कर्तव्य पनि हो । तानसेन नगरपालिकाले ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्धन र बजारीकरण गरी पर्यटन प्रवर्धन गर्ने नीति अवलम्बन गरेको छ । तानसेनलाई मध्यकालीन सहरको पहिचान दिने र सहरलाई गतिशील बनाई विश्व सम्पदा सूचिमा स्तरिकृत गर्ने लक्ष्यकासाथ प्रारम्भिक कार्यहरू सुरू भएका छन् । त्यस कार्यको सफलताका लागि स्थानीय बासिन्दाको अहम् भूमिका रहन्छ । सम्पदा संरक्षणका लागि सामुदायिक सहभागिता र श्रमदानको राम्रो उदाहरण भक्तपुरको न्यातपोल मन्दिर पुनर्निर्माणमा ४,१८७ जनाले स्वेच्छिक श्रमदान रहेको थियो । २०७२ सालमा भूकम्पबाट क्षति भएको यस मन्दिरको पुनःनिर्माणमा महिलाहरूको विशेष भूमिका खेलेका थिए । यस क्रममा रु १५ लाख ४७ हजार बराबरको नगद र पाँच लाख ६३ हजार बराबरको जिन्सी सहयोग भएको र अनुमानित लागतभन्दा आधा खर्चमा कार्य सम्पन्न भएको थियो । काठमाडौको बागमति नदि सफाइ अभियानमा नागरिकस्तर सहभागिता प्रशंसनीय छ ।
तानसेन श्रीनगर क्षेत्रको सरसफाइमा समेत स्थानीयहरूको नियमित सरसफाइ अभियान अर्को उदाहरणीय कार्य हो । यसले नेपाली समाजमा सामुदायिक श्रमदानको परम्परा कायम रहेको देखाउँछ । तानसेनलाई मध्यकालीन सहरका रूपमा विश्व सम्पदा सूचीमा स्थान पाउने स्तरमा पु¥याउनका लागि केही जनस्तरका फुटकर सहभागिताहरू पूर्ण हुदैनन् । यस कार्यका लागि गरिने खोज अनुसन्धान, पुनःनिर्माण र नयाँ निर्माण कार्यका साथै स्थानीय बासिन्दाका ब्यवहार, चाडपर्व, जात्रा, उत्सव, परम्परागत संस्कृति, संस्कार आदिमा आवश्यक परिमार्जन र सुधार गर्न अग्रसरता देखाउनुपर्ने हुन्छ । तानसेनको इतिहास बाह्र मगरातबाट सुरू हुन्छ । विशेषगरी सेनकालीन ठोस प्रमाणहरू भेटिने तानसेनको सेनकाल पूर्वको स्थिति यकीन गर्न कुनै ठोस प्रमाण वा श्रृति वा अभिलेख वा लिखत प्रमाण केही छ कि ? ती प्रमाणहरू समुदायमा हुनसक्छन् । त्यसैगरी सेनकालीन विशिष्ट शैलीका मन्दिर, मूर्ति, पाटीपौवा र कला, मल्लकालीन, राणाकालीन निर्माण र सर्बसाधारणका मौलिक निर्माणमा उपलब्ध कला, वस्तु, र यहाँका जात्रा, पर्व, गहना, पहिरन, गीन, संगीत आदिका रूप र मूल्यहरूको निर्धारण गर्नु आवश्यक छ । ती प्रमाणहरू तत्कालीन सभ्यता, आर्थिक सामाजिक अवस्था, भाषिक, सांस्कृतिक ब्यवहार आदिको अवस्था पहिचानका आधार हुनसक्छन् । यसप्रकारका खोजी र संरक्षण कार्यमा नागरिकहरू, अनुसन्धाता, विज्ञ प्राविधिकहरूको योगदान आवश्यक छ । आधुनिक इञ्जिनियरि·अनुसारका ढाँचामा भवनहरू निर्माण गर्ने क्रम बढिरहेकोले तानसेनजस्ता सहरहरूका पुराना संरचनाहरू मासिदै गएका छन् । श्रीनगरडाँडामा सेनकालीन दरबार थियो भनिन्छ ।
तानसेन दरबार पर्खालभित्रका संरचनाका बारेमा समयसमयमा चर्चा हुन्छ । नारायणस्थानका पोखरीहरूको स्वरूप फेरिएको छ । प्रभास पोखरी र टुँडिखेलको आकार साँघुरिएको छ । यहाँका सडक, खोल्साखोल्सी, ढल निकास, चौपारी, धारापँधेरो आदिको स्वरूप फेरिएको छ । ब्यक्तिगत घर निर्माणमा समेत निश्चित ढाँचा विकास गर्न सकिन्छ । ती परिमार्जित वा अतिक्रमित वा लोपोन्मुख सम्पदालाई मौलिक रूप दिने क्रममा स्थानीय बासिन्दाले केही गुमाउनुपर्ने वा छाड्नुपर्ने र कानूनअनुसार कारवाही पनि हुन सक्छ । त्यसका लागि नगरपालिकाको कानून र आचारसंहितामा नागरिकहरूको सहकार्य आवश्यक पर्छ । यसले सम्पदाप्रति अपनत्वको भावना सिर्जना गर्नुका साथै निर्माण लागत घटाउन र गुणस्तर बढाउन मद्दत गर्दछ । तासनेन साँस्कृतिक वैभव भएको ठाउँ हो । मगरात क्षेत्र तानसेनमा नेवारहरू १५ औं शताब्दीमा आएको मानिन्छ । नेवारी भाषा, संस्कृति जीवन्त छ । तानसेनको नाम पनि मगर भाषामा अर्थ लगाउने पनि गरिन्छ । तर यहाँ टक्सार, असन, भिमसेन, बसन्तपुर जस्ता ठाउँहरू रहेको र कुनै समय पाल्पा एउटा विशाल राज्य भएको कारणले यहाँ साँस्कृति विविधता पाइन्छ । अहिले पनि यहाँ गाइजात्रादेखि सप्ताहब्यापी विभिन्न जात्रा मनाइन्छ । नेपाल—अंग्रेज युद्धमा वीरता प्राप्तिपछि भगवतीको रथयात्रा सुरू भएकोले पाल्पा नेपाल राष्ट्रको इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ । नेवारी सभ्यतासँगै यहाँ अन्य जातिको बसोबास रहिआएको छ । वर्तमान समयमा नेवार, मगर, ब्राÞमण, क्षेत्री, दलित आदि जात र हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मावलम्बीहरू छन् । यी सबैका आ—आफ्ना पहिचान छन् । यी मौलिक अभौतिक सम्पदाहरू भारतीय एवम् पश्चिमी प्रभावमा परिरहेका र मौलिकपन हराउँदै गएका सन्दर्भमा ती संस्कृति संस्कारको निरन्तरताका लागि स्थानीय मानिसहरूको पहल आवश्यक छ । उदाहरणका लागि यहाँको लाखे, निर्गुणभजन, मगरको झाम्रे, ब्राÞमणको भजनकीर्तनको संसक्षणमा सम्बन्धित समुदायको भूमिका रहन्छ । तासनेनलाई क्रियाशील सम्पदा सहरका रूपमा चिनाउनका लागि यहाँका युवा एवम् उद्यमी मानिसहरूको भूमिका रहन्छ । टक्सारटोल केही वर्षसम्म वास्तवमै औद्योगिक क्षेत्र थियो । तानसेनको करुवा र ढाका कपडाको पहिचानसमेत हराउँदै गएको छ । करुवा र ढाका दवै उद्योगहरू मशिननिर्मित आयातित वस्तुका कारण विस्थापित हुने खतरामा पुगेका छन् भने युवा बेरोजगारी बढेको छ । उद्यमशील मानिसहरूले यी उद्योगबाट दैनिक आवश्यकतासाथै उपहार, सजावट सामग्री निर्माण गर्न सक्दछन् । यसका लागि बीउ पुँजि र सिप सिकाउने कार्यका लागि नगरपालिकाको सहयोग आवश्यक हुन्छ । तानसेनलाई सम्पदा सहर बनाउनका लागि यहाँका संरचनाको कम्तीमा बाहिरी अग्रभागको पुनःसंरचना आवश्यक छ । परम्परागत मौलिक संरचना झल्कने गरी पुनःनिर्माण, सजावट, बगैंचा आदिको विकास गर्नु आवश्यक छ । एउटा समारोहमा देखाइएको नाचमा मगर नानीहरू देखेपछि एकजना विदेशीले ती नानीहरू मगर नाच नाचेका हुन् कि भनी सोधे । वास्तवमा ती मगर नानीहरू फिल्मका रिमिक्स टुक्कामा नाचिरहेका थिए । अर्थात् यहाँ आउने पाहुनाहरूको अपेक्षा मौलिक साँस्कृतिक क्रियाकलापहरू हेर्ने हुन्छ । यस क्रममा यहाँका विद्यालय, आमा समूह, टोल संस्था, युवा क्लब आदिले मौलिक कला, गीत, नाच, पहिरन, खानामा जोड दिनुपर्ने रहेछ । आधुनिकताका नाममा गरिने अशोभनीय प्रतिस्पर्धाले मौलिक सम्पदा मेटिन्छ । परम्परागत सम्पदा संरक्षणमा नागरिकको भूमिका बहुआयामिक र महत्वपूर्ण रहेको छ ।
तानसेनमा पनि सरकारी प्रयास मात्र पर्याप्त छैन । स्थानीय समुदायको सक्रिय सहभागिता, श्रमदान, आर्थिक योगदान, सांस्कृतिक अभ्यासको निरन्तरता, परम्परागत सीपको पुस्तान्तरण र सम्पदाप्रति अपनत्वको भावनाले मात्र सम्पदा संरक्षण दिगो र प्रभावकारी हुन सक्छ । जब समुदायले आफ्नो सम्पदालाई आफ्नो सम्पत्ति भनेर संरक्षणमा प्रत्यक्ष भूमिका खेल्छ, तब मात्र संरक्षण दिगो र प्रभावकारी हुन्छ । परम्परा र नवप्रवर्तनको सन्तुलन कायम गर्दै, परम्परागत निर्माण शैली, मूर्तिकला र अमूर्त सम्पदाको मौलिकतालाई जोगाउँदै आधुनिक प्रविधि र व्यवस्थापनलाई समायोजन गर्नु आजको आवश्यकता हो ।

