Shittalpati
काँग्रेस : बदलिएको काँग्रेस र भविष्यको काँग्रेस

विशाल दर्लामी

नेपाली काँग्रेसको महाधिवेशन आजदेखि सुरु हुँदैछ । सामान्य अर्थमा यो एउटा राजनीतिक दलको नियमित संगठनात्मक प्रक्रिया हो । तर अहिलेको नेपाली राजनीतिक परिस्थितिमा कांग्रेसको यो महाधिवेशन त्यतिमा मात्र सीमित छैन् । यो महाधिवेशन काँग्रेसको अस्तित्व, चरित्र, नेतृत्व, विचार र भविष्यको दिशासँग जोडिएको निर्णायक राजनीतिक क्षण पनि हो । २००७ सालको परिवर्तनदेखि गणतन्त्र स्थापनासम्म काँग्रेसले नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो । लोकतन्त्र, बहुदलीय व्यवस्था, संवैधानिक अधिकार र राजनीतिक स्वतन्त्रताको आन्दोलनमा काँग्रेसको योगदान अस्वीकार गर्न सकिँदैन । तर इतिहासको योगदानले वर्तमानको राजनीतिक वैधता सधैं जोगाइराख्दैन । वर्तमान नेतृत्वले वर्तमानकै प्रश्नको उत्तर दिनुपर्छ । आज काँग्रेस त्यही मोडमा उभिएको छ ।

१. पुरानो काँग्रेस : इतिहासको गौरव, तर समयसँगै बढेको जडता

नेपाली काँग्रेस लामो समयसम्म नेपालको राजनीतिको प्रमुख शक्तिमा रह्यो । सत्ता परिवर्तनको केन्द्रमा काँग्रेस रह्यो, लोकतान्त्रिक आन्दोलनको नेतृत्व ग¥यो र राज्य सञ्चालनमा निर्णायक भूमिका खेल्यो । तर पछिल्लो समय काँग्रेसभित्र एउटा गम्भीर समस्या देखिन थाल्यो—इतिहासको गौरवलाई वर्तमानको राजनीतिक उपलब्धिको विकल्प ठान्ने प्रवृत्ति । नेतृत्वमा पुस्तान्तरण ढिलो भयो । पार्टीभित्र गुट बलियो भए,महाधिवेशन नेतृत्व चयनको प्रतिस्पर्धामा बढी र नीति तथा कार्यक्रम निर्माणको थलोमा कम देखिन थाल्यो । संगठन जनतासँगको सम्बन्धभन्दा नेताको वरिपरि घुम्न थाल्यो । शेरबहादुर देउवाको लामो नेतृत्वकालले काँग्रेसलाई संगठनात्मक निरन्तरता त दियो, तर त्यससँगै एउटा प्रश्न पनि बलियो बन्यो—काँग्रेसको नेतृत्व परिवर्तन कहिले हुन्छ ? जेन–जी विद्रोहले यही प्रश्नलाई विस्फोटक ढंगले सतहमा ल्याइदियो । युवापुस्तामा देखिएको राजनीतिक असन्तुष्टि केवल सरकारविरोधी असन्तुष्टि थिएन । त्यो पुराना राजनीतिक दलको कार्यशैली, नेतृत्वको जीवनशैली, जवाफदेहिता, अवसरको वितरण र राजनीतिक संस्कारप्रतिको असन्तोष पनि थियो । त्यसको प्रभाव काँग्रेसबाट अलग रहन सकेन ।

२. बदलिएको काँग्रेस : गगनको विद्रोह र विशेष महाधिवेशन

जेन–जी आन्दोलनपछि काँग्रेसभित्रको पुरानो संरचनामाथि प्रश्न उठाउने आवाज तीव्र भयो । महामन्त्री रहेका गगन थापा र विश्वप्रकाश शर्मालगायतको नेतृत्वमा नियमित महाधिवेशन र नेतृत्व परिवर्तनको माग बलियो बन्यो । तर संस्थापन पक्षसँग त्यसमा सहमति बन्न सकेन । त्यसपछि कांग्रेसभित्रको विवाद संगठनात्मक असहमतिको सीमाबाट बाहिर निस्केर नेतृत्व परिवर्तनको संघर्ष बन्यो । पुस २०८२ मा भएको विशेष महाधिवेशन त्यसैको परिणाम थियो । ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागितामा भएको विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्‍यो । पछि निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दियो । यो घटनाको महत्व केवल गगन थापा सभापति बने भन्ने होइन् ।

यसले काँग्रेसभित्र एउटा राजनीतिक सन्देश स्थापित ग¥यो । नेतृत्व परिवर्तन अब माग मात्र रहेन, संगठन भित्रको वास्तविक शक्ति बनेर आयो । तर यहाँ अर्को यथार्थ पनि छ । काँग्रेस पूर्ण रूपमा पुरानो संरचनाबाट मुक्त भइसकेको छैन । देउवा पक्षले आफ्नो वैधानिक दाबी छोडेको छैन । समानान्तर गतिविधि र महाधिवेशनको तयारीले काँग्रेसभित्रको संक्रमण अझै पूरा नभएको देखाउँछ । यसैले आजको काँग्रेसलाई “पुरानो काँग्रेस समाप्त भयो” भनेर बुझ्नु पनि हतार हुन्छ र “केही परिवर्तन भएकै छैन” भन्नु पनि गलत हुन्छ । काँग्रेस अहिले पुरानो र नयाँबीचको संक्रमणकालमा छ ।

३. फागुन २१ को चुनाव : परिवर्तनको पहिलो जनमत

कांग्रेसको आन्तरिक परिवर्तनको वास्तविक परीक्षा पार्टीको हलभित्र होइन, मतपेटिकामा भयो । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन त्यसको पहिलो ठूलो परीक्षा थियो । परिणाम काँग्रेसका लागि सुखद् रहेन । राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ प्रत्यक्ष सिटसहित समानुपातिकसमेत गरेर १८२ सिट जित्दा काँग्रेस ३८ सिटमा सीमित भयो । काँग्रेस दोस्रो ठूलो दल त बन्यो, तर पहिलो दलसँगको दूरी अत्यन्त ठूलो रह्यो । यो परिणामलाई केवल चुनावी हार भनेर बुझ्नु पर्याप्त हुँदैन । यसले काँग्रेसलाई जनताले दिएको राजनीतिक सन्देश हो । जनताले काँग्रेसलाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन् । तर पुरानो हैसियतमा स्वीकार पनि गरेका छैनन् । काँग्रेसका लागि यो परिणामको सबैभन्दा गम्भीर पक्ष यही हो । एक समय देशको राजनीतिक केन्द्रमा रहेको काँग्रेस आज आफूलाई पुनः जनताको केन्द्रमा स्थापित गर्ने अवस्थामा आइपुगेको छ । अर्थात् विशेष महाधिवेशनले काँग्रेसभित्र परिवर्तनको ढोका खोल्यो, तर फागुन २१ को निर्वाचनले त्यो परिवर्तन पर्याप्त भइसकेको छैन भन्ने जनमत दियो ।

४. अबको काँग्रेस : गगनको नेतृत्व मात्र होइन, काँग्रेसको पुनर्निर्माण

प्रश्न गगन थापा सफल हुन्छन् कि हुँदैनन् भन्ने मात्र होइन् । मुख्य प्रश्न हो, गगन नेतृत्वको काँग्रेस पुरानो कांग्रेसभन्दा कति फरक हुन्छ ? यदि केवल सभापतिको अनुहार बदलियो, तर पार्टीको संस्कृति उस्तै रह्यो भने परिवर्तन अधुरो हुन्छ । यदि गुट उस्तै रहे, टिकट वितरणको शैली उस्तै रह्यो, नेताको वरिपरि संगठन घुमिरह्यो, भ्रष्टाचार र सुशासनका प्रश्नमा काँग्रेस र अन्य दलबीच मौलिक भिन्नता देखिएन भने नयाँ नेतृत्वको औचित्यमाथि नै प्रश्न उठ्नेछ ।

अब काँग्रेसले तीनवटा क्षेत्रमा निर्णायक परिवर्तन गर्नुपर्ने देखिन्छ ।

पहिलोः विचारमा परिवर्तन : – काँग्रेसले आफू लोकतान्त्रिक पार्टी हो भन्नु मात्र पर्याप्त छैन । २१औँ शताब्दीको लोकतन्त्रका प्रश्न के हुन् ?, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि, डिजिटल अर्थतन्त्र, जलवायु संकट, सामाजिक न्याय, भ्रष्टाचार नियन्त्रण, संघीयताको प्रभावकारिता र राज्यको जवाफदेहिता । यी प्रश्नमा काँग्रेसको स्पष्ट दृष्टिकोण आवश्यक छ ।

दोस्रोःसंगठनमा परिवर्तन : – काँग्रेस नेतामुखी होइन, सदस्यमुखी पार्टी बन्नुपर्छ । महाधिवेशनमा प्रतिनिधि चयन गर्ने प्रक्रियादेखि उम्मेदवार छनोट, नेतृत्व विकास र निर्णय प्रक्रियासम्म पारदर्शिता आवश्यक छ । युवालाई भाषणमा मात्र होइन, निर्णय प्रक्रियामा वास्तविक स्थान दिनुपर्छ ।

तेस्रो : राजनीतिक संस्कारमा परिवर्तन :– काँग्रेसले आफूलाई अरूभन्दा लोकतान्त्रिक देखाउन खोजेर मात्र पुग्दैन । उसले आफ्नै पार्टीभित्र लोकतन्त्र अभ्यास गर्नुपर्छ । विरोधी विचारलाई शत्रु ठान्ने, गुटलाई संगठनभन्दा माथि राख्ने र पदलाई राजनीतिक उपलब्धिको अन्तिम लक्ष्य बनाउने संस्कार अन्त्य नगरेसम्म काँग्रेसको रूपान्तरण सम्भव छैन् ।

५. कांग्रेसको भविष्य : सत्ता फर्किने कि राजनीति फर्किने ?

काँग्रेसका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न आगामी निर्वाचनमा सरकार बनाउने हो कि होइन भन्ने मात्र होइन । काँग्रेस फेरि नेपाली जनताको विश्वास जित्न सक्छ कि सक्दैन ? सत्ता प्राप्ति त्यसको परिणाम हुन सक्छ, लक्ष्य होइन । फागुन २१ को परिणामले एउटा कुरा प्रस्ट पारेको छ—पुराना राजनीतिक दलका लागि अब विगतको योगदान मात्र पर्याप्त छैन । नयाँ पुस्ताले प्रश्न गर्छ,, तपाईंले विगतमा के गर्नुभयो ? त्योभन्दा पनि ठूलो प्रश्न गर्छ,,अब के गर्नुहुन्छ ? यही प्रश्नको उत्तर कांग्रेसले दिनुपर्नेछ ।

निष्कर्ष : काँग्रेसको निर्णायक मोड

आजदेखि सुरु हुने महाधिवेशन काँग्रेसका लागि एउटा साधारण संगठनात्मक कार्यक्रम होइन । यो पुरानो काँग्रेस र नयाँ काँंग्रेसबीचको सीमारेखा बन्न सक्छ । शेरबहादुर देउवाको नेतृत्वकाल काँग्रेसको एउटा लामो अध्याय थियो । गगन थापाको उदय नयाँ अध्यायको सुरुवात हो । तर नयाँ अध्यायको सफलता केवल पुस्तान्तरणले निर्धारण गर्दैन । त्यसको सफलता काँग्रेसले आफूलाई कति बदल्न सक्छ भन्ने कुराले निर्धारण गर्नेछ । विशेष महाधिवेशन काँग्रेस भित्रको विद्रोह थियो । फागुन २१ को निर्वाचन जनताको फैसला थियो । आजको महाधिवेशन त्यस फैसलाको उत्तर दिने अवसर हो । त्यसैले अब काँंग्रेसले आफैंलाई सोध्नुपर्ने प्रश्न यो रहेको छ । “हामीलाई फेरि सत्ता चाहिएको हो कि जनताको विश्वास ?” यदि उत्तर जनताको विश्वास हो भने काँग्रेसले आफ्नो इतिहासलाई सम्मान गर्दै पुनः इतिहासमै अडिनु हुँदैन । उसले इतिहासको काँग्रेसबाट वर्तमानको काँग्रेस र वर्तमानको काँग्रेसबाट भविष्यको काँग्रेस बन्न सक्नुपर्छ । किनकि आज नेपाली जनताले कांँग्रेससँग उसको विगतको हिसाब मात्र मागिरहेका छैनन् । उनीहरू काँग्रेसको भविष्यको खाका खोजिरहेका छन् र यही कारणले आजदेखि सुरु हुने महाधिवेशनको वास्तविक परीक्षा सभापतिको बन्छ ? भन्ने होइन,महाधिवेशनपछि काँग्रेस कस्तो बन्छ भन्ने हो ।

( लेखक राष्ट्रिय जनमोर्चा पाल्पाका  अध्यक्ष एवं युवा नेता समेत हुन् । )

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update