Shittalpati
आज विश्व मुटु दिवस मनाइँदै

पाल्पा, हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाइने विश्व मुटु दिवस आज नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुटुसम्बन्धी रोगको जोखिम, रोकथाम र स्वस्थ जीवनशैलीका विषयमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामूलक कार्यक्रमहरु गरिंदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । विश्वभर मृत्युको प्रमुख कारणमध्ये मुटुसम्बन्धी रोग पनि एक हो ।  अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, अत्यधिक मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोलजस्ता कारणले मुटुरोगको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । नेपालमा पनि पछिल्ला वर्षमा मुटुसम्बन्धी समस्या बढ्दै गएको चिकित्सकहरूको अनुभव छ । व्यस्त जीवनशैली, प्रशोधित तथा अत्यधिक नुन–चिल्लोयुक्त खानेकुराको बढ्दो प्रयोग र नियमित शारीरिक गतिविधिको कमीले मुटुको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । स्वास्थ्य विशेषज्ञहरूले मुटु स्वस्थ राख्न नियमित व्यायाम गर्ने, सन्तुलित तथा पौष्टिक आहार खाने, धूम्रपान र सुर्तीजन्य पदार्थबाट टाढा रहने, रक्तचाप तथा रक्तचिनी नियमित जाँच गर्ने र तनाव व्यवस्थापन गर्न सुझाव दिँदै आएका छन् । मुटुसम्बन्धी लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनु पनि उत्तिकै आवश्यक मानिन्छ । विश्व मुटु दिवसले मुटुरोगको उपचारभन्दा पनि यसको रोकथाम र स्वस्थ जीवनशैलीप्रति सबैलाई सचेत गराउने अवसर प्रदान गर्दै आएको छ । दिवसका अवसरमा स्वास्थ्य संस्था तथा विभिन्न संघसंस्थाले मुटुरोगसम्बन्धी सचेतना कार्यक्रम, स्वास्थ्य परीक्षण, ¥याली तथा अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गर्दैछन ।

“स्वस्थ मुटु, स्वस्थ जीवन” भन्ने सन्देशका साथ मनाइने यस दिवसले आफ्नो मुटुको स्वास्थ्यप्रति सचेत बन्न र दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने अपेक्षा गरिएको छ । नेपाल जस्ता अल्पविकसित देशहरुमा एक तिहाइ बढी मृत्युको कारक मुटुरोग हुने गरेको छ । मुटुरोगबाट बच्चको लागि अध्याधिक मासु र मादक पदार्थ सेवन गर्न नहुने चिकित्सकहरुको सुझाव छ । जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिएमा मुटुरोगबाट बच्न सकिने विज्ञहरुको भनाई छ । खानपानकै कारण मुटुरोग लाग्ने हुँदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्नुपर्ने उनीहरुको सुझाव छ । मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ । रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्नुपर्ने तथा दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ । मुटुरोग प्राणघातक भएतापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update