Shittalpati
पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ साधारण सभा

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ वार्षिक साधारण सभा आइतबार तानसेनमा  भएको छ । संघले वार्षिक समीक्षा गर्दै  साधारण सभा गरेको हो । सभामा उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले निजी क्षेत्रको विकास, उद्योगी–व्यवसायीका समस्या समाधान र स्थानीय आर्थिक गतिविधि विस्तारमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहनप्रसाद श्रेष्ठले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको आर्थिक विकासको महत्वपूर्ण आधार भएको भन्दै उद्योगी–व्यवसायीमैत्री वातावरण निर्माणमा राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधान गर्दै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । श्रेष्ठले स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै निजी क्षेत्रको विकासका लागि तीनै तहका सरकारसँग उद्योगी–व्यवसायीको सहकार्य आवश्यक रहेको बताए । व्यवसायीलाई प्रोत्साहन गर्ने नीति, सहज कर प्रणाली, बजारको सुनिश्चितता तथा लगानीमैत्री वातावरण निर्माण हुन सके स्थानीय अर्थतन्त्र थप चलायमान बन्ने उनको भनाइ थियो ।

साधारण सभामा संघका निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराई, लुम्बिनी प्रदेशका सांसद विरबहादुर राना, पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेय, संविधानसभा सदस्य नारायणी शर्मा, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष राजु महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका पाल्पा सभापति विष्णुप्रसाद भण्डारी, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्की, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्मचार्य र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने लगायतले आ–आफ्ना धारणा राखेका थिए । यस्तै संघले सोही अवसरमा संघका सदस्यका छोराछोरीमध्ये नर्सिङ उत्तीर्ण गरेका कृतिशा बज्राचार्य र निशा रानालाई सम्मान गरेको थियो । यस्तै, आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थी विज्ञान तिमिल्सिनालाई संगम मेडिकल छात्रवृत्तिअन्तर्गत नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । फरक क्षमता भएका विद्यार्थी कुशल रानालाई पनि संगम मेडिकल फरक क्षमता छात्रवृत्तिअन्तर्गत नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको संघका सचिव सुरेश गोदारले जानकारी दिए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित संघका सल्लाहकार संयोजक मोहनप्रसाद श्रेष्ठ तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशनबाट एसोसिएट उपाध्यक्षमा निर्वाचित संघका पूर्व अध्यक्ष राजु महर्जनलाई समेत सम्मान गरिएको थियो । संघले सामाजिक उत्तरदायित्वअन्तर्गत तानसेनमा सञ्चालन हुने जात्रा तथा पर्वका लागि सहयोग गर्नुका साथै मुटुरोगबाट पीडित दुई जना बिरामीलाई समेत आर्थिक सहयोग गरेको जनाएको छ । साधारण सभामा संघका अध्यक्ष समिरमान सिंहले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव विनायक महर्जनले संघका गतिविधिसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष अमनप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष समिरमान सिंहको अध्यक्षता, वाणिज्य उपाध्यक्ष रञ्जना अर्यालको धन्यवाद ज्ञापन, महासचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।


प्रकाशित मिति: सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update