Shittalpati
अविरल वर्षापछि पाल्पाका विभिन्न सडकमा पहिरो

पाल्पा, लगातारको अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्डमा पहिरो खस्दा शुक्रबार विहानैदेखि यातायात सेवा प्रभावित बन्यो । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश कच्ची सडक पहिरोका कारण अवरुद्ध भए भने प्रमुख राजमार्गका ठाउँ–ठाउँमा समेत पहिरो खसेपछि आवागमनमा समस्या भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि शुक्रबार  केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पछि पहिरो  पन्छाएर सडक सुचारु गरिए पनि पहिरो झर्न नरोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक भिमलाल भट्टराईले बताए । यस्तै, यो समाचार तयार पार्दासम्म रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण सडक माथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको छ । यस्तै सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने प्रमुख सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ । हार्थोक–बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडक माथिबाट पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीय पत्रकार भुवन रायमाझीले बताए । सडक अवरुद्ध हुँदा सर्वसाधारणले आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको उनको भनाई छ । सडक अरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारी साधनसमेत सडकमा रोकिएका छन् । विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्‍याउने दुग्ध ढुवानीका सवारी साधन बाटोमै रोकिँदा समस्या थपिएको रायमाझीको भनाई छ । पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तु ढुवानीमा अवरोध हुँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन् ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको जनाइएको  छ । यसैबीच, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहीबारदेखि सोमबारसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द  गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि रातिको समयमा आवागमन रोक्ने निर्णय गरिएको हो ।
पाल्पाको अर्चलेमा अत्यधिक वर्षा
गएको २४ घण्टामा सबैभन्दा बढी पानी पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर परेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १ः१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो ।
तिनाउ नदीले जलसतह सतर्कताको तह पार गर्‍यो
रुपन्देहीको तिनाउ नदीले  शुक्रबार सतर्कताको तह पार गरेको छ । निरन्तर वर्षा भइरहेकाले नदीको जलसतह अझै बढ्दो क्रममा रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार तिनाउ नदी आसपासका नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update