Shittalpati
आज विश्व पर्यटन दिवस मनाइँदै

पाल्पा, विश्वभर आज विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । पर्यटनको महत्व, यसको सामाजिक–आर्थिक योगदान तथा दिगो पर्यटन प्रवद्र्धनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।

विश्व पर्यटन संगठनको आह्वानमा मनाइने यस दिवसले पर्यटनलाई आर्थिक विकाससँगै सांस्कृतिक आदानप्रदान, रोजगारी सिर्जना र स्थानीय समुदायको समृद्धिसँग जोडेर हेर्ने अवसर प्रदान गर्छ । नेपालमा पनि विश्व पर्यटन दिवसका अवसरमा पर्यटनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिँदैछन् । खपर्यटन व्यवसायी, सरकारी तथा गैरसरकारी निकाय र पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाले पर्यटकीय गन्तव्यको प्रवद्र्धन, पर्यटन पूर्वाधार विकास तथा पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा जोड दिँदै आएका छन् । प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहँदै आएको छ । हिमाल, पहाड र तराईका भौगोलिक विविधतासँगै धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले नेपाललाई स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ ।

विश्व पर्यटन दिवसले पर्यटनबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म पु¥याउँदै वातावरण र सम्पदाको संरक्षणसहित दिगो पर्यटन विकास गर्नुपर्ने आवश्यकतालाई समेत उजागर गर्दै आएको छ । नेपालमा गुणस्तरीय पर्यटन प्रर्वद्धनका लागि पर्वतारोहण र पर्वतीय पदयात्रा नै मुख्य हो । यसको थप व्यवस्थापनमा राज्यले समेत जोड दिनु पर्ने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाल विशेषगरी साहसिक पर्यटन र धार्मिक पर्यटनका लागि अन्तर्राष्ट्रिय जगतमा प्रख्यात छ । पछिल्लो समयमा पर्यटनमा विविधिकरण र ब्राण्डिङमा नयाँ–नयाँ क्षेत्र पहिचान र विकास भएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update