पाल्पा,अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले घरहरु भत्काउनुको साथै सडकहरु अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो गएको पहिरोले दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गा–माटो बगेर आउँदा स्थानीय केसुराम सारु मगर र रामबहादुर उचईका कच्ची घर पहिरोले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए । उनका अनुसार पहिरोका कारण रामबहादुरको चार जनाको परिवार सकुशल रहेका छन् भने केसुरामको चार जनाको परिवारमध्ये उहाँकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता भएकी छन् । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रनाउ भट्टराईले बताए । पहिरोबाट घर पूर्णरूपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा क्षति नभएको उनको भनाइ छ । पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुंगा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता सारुको खोजी कार्य भइरहेको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि शुक्रबार केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पछि पहिरो पन्छाएर सडक सुचारु गरिए पनि पहिरो झर्न नरोकिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । यस्तै, यो समाचार तयार पार्दासम्म रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण सडक माथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको छ । यस्तै सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने प्रमुख सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ ।
हार्थोक–बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडक माथिबाट पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताए । सडक अवरुद्ध हुँदा सर्वसाधारणले आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको उनको भनाई छ । सडक अरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारी साधनसमेत सडकमा रोकिएका छन् । विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्याउने दुग्ध ढुवानीका सवारी साधन बाटोमै रोकिँदा समस्या थपिएको रायमाझीको भनाई छ । पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तु ढुवानीमा अवरोध हुँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको जनाइएको छ । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहीबारदेखि सोमबारसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको हो ।


