Shittalpati
वर्षाले बाढीपहिरोको जोखिम, सडकदेखि विद्यालयसम्म प्रभावित 
माथागढी गाउँपालिका–१ चिदीपानीस्थित आयुर्वेद औषधालय नजिकै विहीबार गुडिरहेको ट्रकमाथि पहिरो खसेपछि अवरुद्ध बनेको सडक। सडक अवरुद्ध भएपछि डोजर परिचालन गरी अबेर मात्र सडक सञ्चालनमा ल्याइएको थियो  । तस्वीर : राजकुमार पन्थी/एनजेडी

पाल्पा,  मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीले देशभरको जनजीवन प्रभावित भएको छ । पाल्पासहित देशभर बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । बिहीबार बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिममा आंशिक बदली छ भने कोशी, मधेश र बागमतीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरेर उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानका साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास  भारीदेखि धेरै भारी वर्षा भएको छ । बितेको २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै १६१ मिलिमिटर वर्षा भएको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अर्घाखाँचीको सिमलपानीमा १४९ र भगवानपुरमा १४५ मिलिमिटर वर्षा भएको छ । विहीबार लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै स्थानमा ५० देखि ८० प्रतिशत भूभागमा मध्यम वर्षा भएको छ । मौसमविद्हरूले शुक्रबारदेखि आइतबारसम्म वर्षाको गतिविधि बढ्न सक्ने तथा बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । लामो दूरीको यात्रा तथा हिमाली क्षेत्रमा पदयात्रा स्थगित गर्नसमेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
 

विद्यालय बन्द
जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेपछि विभिन्न जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।  पाल्पाका  रामपुर नगरपालिका, तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिकाले बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गुल्मीका इस्मा, कालिगण्डकी र मदाने गाउँपालिकाले बिहीबार र शुक्रबार शैक्षिक संस्था बन्द गरेका छन् । निरन्तरको वर्षाका कारण राजनीतिक दलका कार्यक्रमसमेत प्रभावित भएका छन् । नेपाली काँग्रेस ,नेकपा एमालेका अधिवेशनहरु स्थगित भएका छन् ।
 

राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित
बुधबार रातिदेखि परेको लगातारको वर्षाले पाल्पाका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रदेखि आर्यभञ्ज्याङ–रामपुर सडकखण्डसम्म पहिरो खसेपछि सडक सञ्चालनमा चुनौती थपिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रस्थित ड्याम साइडमा माथिबाट लगातार पहिरो झरिरहेको छ । सडकमा खसेको पहिरो हटाउने काम भइरहे पनि माथिबाट पुनः पहिरो खस्ने क्रम नरोकिँदा यातायात सहज रूपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । विहीबार दिनभर नै पहिरो पन्छाउँदै सडक सञ्चालन गरिएको थियो । उता माथागढी गाउँपालिका–१ चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि समेत पहिरो खसेको छ । पहिरोका कारण ट्रकमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन । दुईवटा डोजर परिचालन गरी   अबेर मात्र  सडक सञ्चालनमा ल्याइएको थियो  । लगातारको वर्षाले जिल्लाका केही स्थानमा विद्युत् सेवा समेत प्रभावित भएको छ । तिनाउलगायत नदी तथा खोलामा पानीको बहाव बढेको छ भने ग्रामीण सडकहरूमा पहिरो खस्ने क्रमले सदरमुकामसँगको यातायात सम्पर्कसमेत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा गाउँबाट सदरमुकामतर्फ दूध, तरकारीलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या देखिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरेका छन् । वर्षाका कारण खोला तथा नाला बढ्नुका साथै विभिन्न स्थानमा पहिरो खस्न सक्ने जोखिम रहेकाले सम्भावित जनधनको क्षति रोक्न जिल्लाका विभिन्न प्रहरी चौकीमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
 

यी जिल्लाहरूमा आकस्मिक बाढीको जोखिम
देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । नेपाल बाढी सूचनाले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ । ती क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को (मध्यम जोखिम) रहेको जनाएको छ । यस्तै, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी तथा खोलाको बहाव बढ्न सक्ने अवस्थाप्रति सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update