Shittalpati
सिद्धबाबा सुरुङमार्ग : आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्ग आगामी  मंसिरभित्रै सवारी साधन सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले निर्माण कार्यलाई तीव्रता दिँदै सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याउने गरी कामलाई अगाडि बढाएको हो । 

सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सकिएकोले मंसिर महिनाभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना कार्यालयका प्रमुख नवराज बास्तोलाले बताए । उनले भने “ यस अघि कार्तिक महिनाभित्रै  सवारीसाधन सञ्चालन गर्ने भनिए पनि बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन  ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ । अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढाई मंसिर १५ गतेभित्र नै सवारी सञ्चालन गर्छौ ।” गत भदौ १० गते गएको भोटेकोशी बाढीमा सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री  बगाएपछि सुरुङमार्गमा सवारी गुडाउने योजना केही समय प्रभावित हुन पुगेको बाँस्तोलाले बताए । अहिले सुरुङभित्र सडकको पिच सकेर रङरोगन चलिरहेको छ । टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ । लाइनिङ अर्थात् भुइँ भित्ता ढलान सहित सिभिल संरचनाको काम सकिएको छ ।

इलेक्ट्रोमेकानिकलसम्बन्धी काम भने बाँकी रहेको आयोजना कार्यालयका प्रमुख बाँस्तोलाले बताए । सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताइन् । यो प्रगति २०८३  असोज ४ गतेसम्मको हो । हालसम्म मुख्य सुरुङसहित बाईवास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भट, टनेल भित्रको प्रिमेन्टको काम सकिएको आनन्दले बताइन् । तीनवटा बाइपास निर्माण गरिएको छ । पहिलो बाइपासको लम्बाइ १ सय ४८ दशमलव ०९५ मिटर, दोस्रोको १ सय ५८ दशमलव ३ सय ७६ मिटर र तेस्रो बाइपासको लम्बाइ १ सय २८ दशमलव ३८१ मिटर छ । यी सबैको भौतिक निर्माणको काम शतप्रतिशत पूरा भइसकेको छ । सुरुङको भित्री काम सकिएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउन काम थालिने इन्जिनियर आनन्दले बताइन् । सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल व्यारियर र स्लोप प्रोटेक्सनका काम गरिने उनको भनाई छ  । एक हजार एक सय २६ मिटर सुरुङमार्गको २०७८ फागुनमा ठेक्का सम्झौता भई २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

तर पानी परिहरेको र भोटेकोसीमा आएको बाढीका कारण  एक वर्ष म्याद थप हुने आयोजना प्रमुख बास्तोलाको भनाई छ । उनका अनुसार रकसेडको लागि एक वर्ष ठेक्काको म्याद थप हुने छ । म्याद थप भएपनि निर्माण क्षेत्रमा कुनै समस्या नहुने बास्तोलाले बताए । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माणको काम भइरहेको हो । नेपाल सरकारको आफ्नै स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा बर्सेनि हुने पहिरो र ढङ्गा खस्ने समस्याबाट यात्रुले मुक्ति पाउने छन् । लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानसहित गण्डकी प्रदेशको स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दीका नागरिकहरू यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update