पाल्पा, जिल्लाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिए । दुर्घटना हुँदा खाम्चा गम्भीर घाइते भएकी थिईन् ।
दुर्घटनामा चालकसहित ५ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए । उनका अनुसार घाइते हुनेहरुमा पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय चालक नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उनकी ७ वर्षीया छोरी साहिरस सारु र मृतक अनुसरा खाम्चाकी ५ वर्षीया नातिनी सायरा खाम्चा घाइते रहेका छन् । घाइते पाँच जनाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ । गाडी आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । दुर्घटनापछि प्रहरी चौकी प्रभासबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


