हरेक वर्ष २३ सेप्टेम्बर अर्थात् आजकै दिन अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइन्छ । यो दिन बहिरा तथा श्रवण अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहिचान र सामाजिक सहभागिताका लागि सांकेतिक भाषाको महत्व सम्झाउने अवसर हो । सांकेतिक भाषा केवल हातको इसारा होइन’ यो आफ्नै व्याकरण, संरचना र अभिव्यक्तिको क्षमता भएको पूर्ण भाषा हो । त्यसैले सांकेतिक भाषालाई दयाको विषय होइन, भाषिक अधिकारको विषयका रूपमा बुझिनुपर्छ । समाजमा अझै पनि सांकेतिक भाषा प्रयोग गर्ने व्यक्तिलाई मूलधारबाट अलग राख्ने प्रवृत्ति देखिन्छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, अदालत, सञ्चारमाध्यम र सार्वजनिक सेवामा आवश्यक सांकेतिक भाषा अनुवाद तथा दोभाषे सेवा सहज रूपमा उपलब्ध नहुँदा धेरै नागरिक आधारभूत अधिकारबाटै वञ्चित हुने गरेका छन् ।
नेपालमा, सांकेतिक भाषाको सामूहिक प्रशिक्षण सुरु भएको पाँच दशक नाघिसक्दा पनि यसको अपेक्षाकृत विकास हुन नसकेकाले बहिरा व्यक्ति र स्वर वा बोलाइसम्बन्धी अपांगता भएकाहरू समाजबाट टाढिइरहेका छन् । तिनको समावेशिताको सवालमा सरकारबाट भइरहेका कामहरू सन्तोषप्रद छैनन् । हरेक वर्ष सांकेतिक भाषाको महत्वलाई दिवसले सम्झाए पनि यसको प्रवद्र्धनका लागि गर्नुपर्ने पहल हुन सकेको देखिन्न । नेपालमा प्रायः सार्वजनिक सेवाप्रदायक संस्थाहरूमा सांकेतिक भाषा सहजै उपलब्ध छैन । यो भाषा–निर्भर समुदाय यसैका कारण सेवासुविधाबाट वञ्चित हुनुपरिरहेको छ । नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सुनिश्चित गरेको छ । तर संवैधानिक र कानुनी प्रबन्ध व्यवहारमा कार्यान्वयन हुन नसक्नु दुखद् हो । सांकेतिक भाषामा पर्याप्त शैक्षिक सामग्रीको विकास, दक्ष दोभाषेको उत्पादन, शिक्षकलाई आवश्यक तालिम, सार्वजनिक सूचना सांकेतिक भाषामा उपलब्ध गराउने व्यवस्था तथा डिजिटल प्रविधिमा पहुँच विस्तार गर्न राज्यले ठोस कदम चाल्न आवश्यक छ । सांकेतिक भाषा दिवस एक दिन औपचारिक कार्यक्रम गरेर मनाउने अवसर मात्र हुनु हुँदैन ।
यसले हामीलाई समाजको सञ्चार प्रणाली कति समावेशी छ भन्ने प्रश्न गर्न प्रेरित गर्नुपर्छ । सरकारी सूचना, विपद्का सूचना, स्वास्थ्यसम्बन्धी सन्देश र सार्वजनिक महत्वका कार्यक्रमहरू सांकेतिक भाषामा पनि उपलब्ध गराउन सकिएमा श्रवण अपाङ्गता भएका नागरिकको सहभागिता अझ प्रभावकारी बन्न सक्छ । त्यसैगरी, सांकेतिक भाषालाई बहिरा समुदायभित्र मात्र सीमित राख्नुको सट्टा व्यापक सामाजिक जीवनसँग जोड्नु आवश्यक छ । परिवार, विद्यालय, सञ्चारमाध्यम र सार्वजनिक संस्थाले सांकेतिक भाषाप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सकेमा सञ्चारको अवरोध धेरै हदसम्म कम गर्न सकिन्छ । सांकेतिक भाषाको सम्मान गर्नु भनेको बहिरा समुदायप्रति सद्भाव देखाउनु मात्र होइन, समान सहभागिता र मानव अधिकारको सम्मान गर्नु हो । अबको आवश्यकता दिवस मनाउनेभन्दा पनि सांकेतिक भाषालाई व्यवहारमा स्थापित गर्ने हो ।

