पाल्पा, हिन्दू धर्मावलम्बीहरूले आज हरिपरिवर्तिनी एकादशी व्रत श्रद्धापूर्वक मनाउँदैछन् । भाद्र शुक्ल पक्षमा पर्ने यस एकादशीलाई भगवान् विष्णुको पूजा–आराधना तथा उपासनाका लागि महत्वपूर्ण दिनका रूपमा लिइन्छ । एकादशीका अवसरमा बिहानै स्नान गरी व्रत बस्ने, भगवान् विष्णुको पूजा गर्ने, तुलसीलाई जल अर्पण गर्ने तथा भजन–कीर्तन गर्ने भक्तजनको चहलपहल बढ्ने गर्दछ ।
धार्मिक मान्यताअनुसार चातुर्मास अवधिमा भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने र हरिपरिवर्तिनी एकादशीका दिन शयन अवस्थामै कोल्टे फेर्ने विश्वास गरिन्छ । यही मान्यताका कारण यस एकादशीलाई ‘हरिपरिवर्तिनी’ वा ‘परिवर्तिनी एकादशी’ भनिएको हो । यसलाई ‘वामन एकादशी’ नामले समेत चिनिन्छ । यस दिन विशेषगरी भगवान् विष्णुको वामन अवतारको पूजा–आराधना गर्ने परम्परा रहेको छ । भक्तजनहरूले बिहानै घर तथा मन्दिरमा सरसफाइ गरी भगवान् विष्णुको प्रतिमा वा तस्वीरमा फूल, अक्षता, धूप, दीप, फलफूल, तुलसीपत्रलगायतका सामग्री अर्पण गर्ने गर्छन् ।
कतिपय स्थानमा सामूहिक रूपमा भजन–कीर्तन तथा धार्मिक कार्यक्रमसमेत आयोजना गरिन्छ । धार्मिक मान्यताअनुसार यस दिन व्रत तथा पूजा गरेमा पुण्य प्राप्त हुने विश्वास रहँदै आएको छ । एकादशी व्रतका क्रममा अन्न तथा कतिपय खाद्य पदार्थ सेवन नगर्ने र फलाहार गर्ने प्रचलन छ । स्वास्थ्य अवस्था तथा व्यक्तिगत परम्पराअनुसार व्रतको विधि फरक–फरक हुने गर्दछ । आजका दिन बिहानै सूर्योदय अगावै उठेर पवित्र नदी वा कुण्डमा स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ । भगवान् विष्णुको प्रतिमा वा चित्र अगाडि दियो बालेर तुलसीको पत्र, पहेँलो फूल, फलफूल, पञ्चामृत र नैवेद्य अर्पण गरिन्छ । त्यस्तै ’ॐ नमो भगवते वासुदेवाय’ मन्त्र तथा विष्णु सहस्रनामको पाठ गरिन्छ ।
एकादशीका दिन अन्न (विशेष गरी चामल), मदिरा, तथा तामसिक भोजनको पूर्ण निषेध गरिन्छ । एकादशीको भोलि (द्वादशीका दिन) शुभ मुहूर्तमा पारण गर्नुअघि ब्राÞमण तथा विपन्नहरूलाई खाद्यान्न, वस्त्र वा तिल–दही दान गर्नु अति उत्तम मानिन्छ । पद्म पुराण तथा ब्रह्मवैवर्त पुराणका अनुसार हरिपरिवर्तिनी एकादशीको व्रत बस्नाले व्यक्तिले अन्जानमा गरेका सम्पूर्ण पाप तथा कष्टहरूबाट मुक्ति पाउँछ । यस दिन व्रत बसी भगवान् विष्णु र माता लक्ष्मीको पूजा गर्नाले ठूला–ठूला वाजपेय यज्ञ गरे सरहको पुण्य फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै यस एकादशीमा वामन रूपको पूजा–आराधना र कथा श्रवण गर्नाले साधकलाई जीवनको अन्त्यमा बैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता समेत रहेको छ ।


