पाल्पा, आज सेप्टेम्बर २१ अर्थात ‘विश्व शान्ति दिवस’ नेपाललगायत विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने गरिन्छ । विश्वमा हिंसा र द्वन्द्व अन्त्य गरी दिगो शान्ति स्थापनाका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा विश्व शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् २००२ अघि सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।
यस अवसरमा नेपालमा पनि सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाहरूको आयोजनामा प्रभातफेरी, शान्ति र्याली, विचार गोष्ठी तथा दीपप्रज्ज्वलनाजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै छन् । भगवान् बुद्धको जन्मस्थल नेपाल शान्तिको सन्देशवाहक देशका रूपमा विश्वभर परिचित छ । विश्व शान्ति दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले शुभकामना सन्देश दिँदै समाजमा भाइचारा, अहिंसा र सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् ।


