नेपाल विपत्जन्य जोखिमका दृष्टिले अत्यन्त संवेदनशील मुलुक हो । जहाँ बारम्बार विभिन्न विपत्को सामना गर्नुपर्छ । नेपालले झेल्नुपरिरहेका प्रमुख विपत्मा भूकम्प, बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट, चट्याङ, र अत्यधिक गर्मी तथा चिसो पर्छन् । भूकम्पको जोखिम उच्च रहेको नेपाल २०७२ को भूकम्पको भयानक अनुभवबाट गुज्रिएको धेरै भएको छैन । जसले करिब नौ हजार मानिसको ज्यान लियो र लाखौँलाई बेघर बनायो । मनसुनका समयमा बाढी र पहिरोले तराई र पहाडी क्षेत्रमा ठूलो क्षति पुर्याइरहेकै छ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीलेरसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षतिसँगै भौतिक क्षति पुर्याएको छ । केन्द्रीय प्रहरी समाचार कक्षको पछिल्लो विवरणअनुसार बाढीबाट १ हजार ४ सय ११ को मृत्यु र ५ हजारभन्दा बढी मान्छे सम्पर्कविहीन छन् । हिउँदमा डढेलोले जैविक विविधता र पर्यावरणलाई नष्ट गर्दै आएको छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमताल विस्फोटको जोखिम बढ्दो छ । चट्याङले ग्रामीण क्षेत्रका संरचनामा ठुलो क्षति पुर्याउँदै आएको छ भने अत्यधिक गर्मी र चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई गम्भीर असर पारिरहेकै छ । यी सबै समस्याले नेपाललाई थप जोखिमको डिलमा उभ्याएको छ, जसका लागि दीर्घकालीन रणनीति र सुदृढ व्यवस्थापनको खाँचो छ । विपद् व्यवस्थापनलाई विकास योजनाकै अभिन्न अंग बनाउनुपर्छ । दीर्घकालीन रणनीतिको पहिलो आधार जोखिम पहिचान र पूर्वतयारी हुनुपर्छ । कुन क्षेत्र बाढी, पहिरो वा भूकम्पको उच्च जोखिममा छन् भन्ने वैज्ञानिक अध्ययन गरी जोखिम नक्साङ्कन गर्न आवश्यक छ ।
त्यस्ता क्षेत्रमा सुरक्षित बस्ती विकास, भवन निर्माणका मापदण्डको कडाइका साथ कार्यान्वयन र जोखिमयुक्त क्षेत्रमा अनियन्त्रित बसोबास रोक्नुपर्छ । विद्यालय, अस्पताल, सडक, पुल र खानेपानीजस्ता अत्यावश्यक संरचनालाई विपद् प्रतिरोधी बनाउनु पनि उत्तिकै जरुरी छ । त्यसैगरी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । बाढी, पहिरो तथा अन्य सम्भावित विपद्को सूचना समयमै स्थानीय समुदायसम्म पुर्याउन आधुनिक प्रविधिको प्रयोग गर्न सकिन्छ । स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीच नियमित समन्वय तथा विपदको बारेमा ज्ञान हुन आवश्यक छ । तसर्थ प्राकृतिक प्रकोपलाई रोक्न नसकिए पनि यसको क्षति कम गर्न सकिन्छ । त्यसका लागि बलिया सूचना संयन्त्र, सहकार्य र विपद् प्रतिकार्यमा राज्यले यथेष्ट लगानी गरी दिर्घकालीन रणनीति बनाउन जरुरी छ ।

