पाल्पा, आज विश्व ओजोन तह बचाउ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै आइएको छ । ओजोन तहको संरक्षणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले नेपाल सहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।
हरेक वर्ष सेप्टेम्बर १६ मा मनाइने यो दिवसले पृथ्वीलाई हानिकारक पराबैजनी किरणबाट जोगाउने ओजोन तहको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्छ । सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउँदै लगेको छ । यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइ अक्साइडको मात्रा निरन्तर बढिरहेको विज्ञले बताएका छन् । सन् १८९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम शून्य दशमलव ८५ डिग्री सेन्टिग्रेडले बढेको छ । यही अवस्था रहिरहेमा सन् २०३० सम्ममा एक दशमलव ५ डिग्री सेन्टिग्रेड बढ्न सक्ने र यो शताब्दीमा २ सेन्टिग्रेडभन्दा माथि जानसक्ने मञ्चको अनुमान छ । जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ । वनज·ल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो ।
विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले ० दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ । ओजोन तह पृथ्वीको वायुमण्डलमा रहेको सुरक्षात्मक तह हो, जसले सूर्यबाट आउने हानिकारक पराबैजनी (यूभी) किरणको ठूलो हिस्सा अवशोषण गर्छ । ओजोन तहमा क्षति पुग्दा मानव स्वास्थ्यसँगै वनस्पति, कृषि तथा जैविक विविधतामा समेत नकारात्मक असर पर्न सक्छ । वैज्ञानिक अध्ययनअनुसार विगतमा रेफ्रिजरेटर, एयर कन्डिसनर तथा विभिन्न औद्योगिक उत्पादनमा प्रयोग हुने क्लोरोफ्लोरोकार्बन (सीएफसी) लगायतका रसायन ओजोन तह क्षयका प्रमुख कारण बनेका थिए । ओजोन तह संरक्षणका लागि विश्व समुदायले सन् १९८७ मा मोन्ट्रियल प्रोटोकल स्वीकार गरेपछि ओजोन तहलाई क्षति पुर्याउने पदार्थको प्रयोग घटाउने प्रयास हुँदै आएको छ ।
नेपालमा पनि दिवसका अवसरमा ओजोन तह संरक्षण, वातावरणीय प्रदूषण न्यूनीकरण तथा ओजोन तहलाई असर गर्ने रसायनको प्रयोग नियन्त्रणसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएका छन् । वातावरण संरक्षणका लागि ओजोन तहको संरक्षणसँगै जलवायु परिवर्तन न्यूनीकरण र वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन् । पृथ्वीको वातावरण सुरक्षित राख्न सरकार, निजी क्षेत्र तथा सर्वसाधारण सबैको सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ ।


