पाल्पा, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मंगलबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाएका हुन् ।
नारीहरू बिहानै उठेर नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी गाईको गोबर, माटो एवं खरानी लगाएर स्नान गरेका थिए । तीज पर्वमा महिला र पुरुष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । यस दिन नारीहरूले आफ्नो सौभाग्यका प्रतीक सिन्दूर, पोते, चुरा तथा धागो सप्तऋषिलाई चढाउने गर्छन् ।
रजस्वलाका समयमा छोइछिटो भएको भए अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास अनुरुप महिलाले यो पर्व मनाएका छन् । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रÞमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण यस दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय बचन रहेको संस्कृतिका जानकार तथा पण्डित होमनाथ न्यौपाने बताउँछन् । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण बह्मा हत्याको पाप भोग्नुपर्यो । हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख बह्मालाई सुनाए । इन्द्रको बह्म हत्या निवारणका लागि बह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।
यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहि आएको छ । प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन गुल्मी र पाल्पाको संगमस्थल रिडीमा स्नान गर्नेहरुको भिड श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ । केही महिलाहरुले भने घरमै पण्डित राखेर ऋषि पञ्चमीको पुजा गरेका छन् । हरितालिका (तीज)को व्रत एवं पूजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । पूजा–आराधना सम्पन्न भएपछि कर्कलोलगायत अन्य कन्दमूलको तरकारी बनाएर खाने प्रचलन छ । कर्कलोमा आइरनलगायतका पोषक तत्व पाइन्छन्, जुन शरीरका लागि आवश्यक मानिन्छ ।


