पाल्पा, हिन्दु नारीहरुले आज हरितालिका तिज मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी धुमधामका साथ यो पर्व मनाइन्छ । यो पर्व नेपाली हिन्दु महिलाका लागि धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक अभिव्यक्तिसँग जोडिएको महत्वपूर्ण पर्व हो ।
विवाहित महिला पति र परिवारको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्दै व्रत बस्छन् भने अविवाहित युवती असल र आफूले चाहेको जीवनसाथीको कामना गर्दै शिव–पार्वतीको पूजा आराधना गर्छन् । तीजको धार्मिक सम्बन्ध सत्ययुगसँग जोडिएको छ । धार्मिक मान्यताअनुसार हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउने इच्छा पूरा गर्न निराहार व्रत बसेकी थिइन् । पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह भगवान् विष्णुसँग गरिदिन खोजेपछि सखीहरूले उनलाई लुकाएर राखेको र त्यही स्थानमा उनले कठोर व्रत गरी महादेवलाई प्राप्त गरेको कथा धर्मशास्त्रमा पाइन्छ । यही घटनासँग जोडेर भाद्र शुक्ल तृतीयामा हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । आइतबार दर खाएर पहिलो दिनको तीज मनाएका महिला दिदीबहिनीहरु आज तिजको निराहार व्रत बस्दै छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ । विवाहित महिलाका लागि तीज पति तथा परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामनासँग जोडिएको छ ।
अविवाहित युवतीका लागि भने असल जीवनसाथीको कामनासँग । यो व्रत गर्नाले पति दीर्घजीवनको फल पाइन्छ भनि शास्त्रमा उल्लेख छ । स्वास्थ्यको ख्यालै नगरी व्रत बस्न नहुने चिकित्सकहरुको सुझाव छ । ब्लडप्रेसर राम्रो भएका र कुनै दीर्घरोग नभएकाहरु मात्र व्रत बस्नु उपयुक्त हुने चिकित्सकहरुको भनाई छ । उनीहरुका अनुसार पानी नखाई कसैले पनि व्रत बस्नुहुँदैन । मधुमेहको औषधि लिइरहेकाहरूले व्रत बस्न हुँदैन । केही नखाँदा उनीहरू ढल्ने जोखिम हुन्छ । सुगर लो भयो भने चर्को पसिना, मुटु भड्किने, आँखा धमिलो हुने हुन्छ । जसको रक्तचाप पहिल्यै लो छ, उनीहरूले केही पनि नखाई व्रत बस्दा शरीरमा नुनको मात्रा र जलवियोजन भएर अझै प्रेसर लो भएर ढल्ने सम्भावना हुने चिकित्सकहरुको भनाई छ । तीज केवल एउटा धार्मिक पर्व नभएर महिलाको व्यक्तिगत आकांक्षा र पारिवारिक सम्बन्धसँग समेत जोडिएको पर्वका रूपमा स्थापित भएको छ । तर पछिल्लो समय तीज मनाउने शैलीमा व्यापक परिवर्तन आएको छ । पहिले तीजको अवसरमा माइती जाने, आमाले पकाएको दर खाने, दिदीबहिनी तथा साथीभाइसँग भेटघाट गर्ने र गाउँघरमा जम्मा भएर गीत गाउने परम्परा थियो । अहिले भने तीजका कार्यक्रम घरको आँगनबाट होटल, पार्टी प्यालेस र ठूला सभाहलसम्म पुगेका छन् । दरका नाममा तीज आउनुभन्दा धेरै दिन अघिदेखि नै कार्यक्रम आयोजना गर्ने, महँगा पोसाक तथा गहना प्रदर्शन गर्ने र ठूलो रकम खर्च गर्ने प्रवृत्तिले तीजलाई भड्किलो बनाउँदै लगेको चिन्ता पनि बढेको छ । पर्वको आत्मीयता र पारिवारिक भेटघाटभन्दा प्रदर्शन र प्रतिस्पर्धाले प्राथमिकता पाउन थालेको कतिपयको बुझाइ छ ।


