पाल्पा, नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । तीजको व्रत बस्नुअघि महिलाहरूले विभिन्न परिकार बनाएर दर खाने तथा आफन्त, साथीभाइ र माइतीसँग भेटघाट गर्ने गर्दछन् । परम्पराअनुसार तीजको अघिल्लो दिन खाइने विशेष भोजनलाई ‘दर’ भनिन्छ । दरमा खीर, ढकनी, पुरी, तरकारी, फलफूललगायत विभिन्न परिकार समावेश गरिन्छ । पछिल्लो समय भने परम्परागत परिकारसँगै आधुनिक खानाका परिकार पनि दरमा समेटिन थालेका छन् । आज दर खाएपछि भोलि महिलाहरूले हरितालिका तीजको व्रत बस्नेछन् । धार्मिक मान्यताअनुसार धेरै महिलाले भोलि दिनभर निराहार तथा निर्जल व्रत बस्ने परम्परा छ । व्रतालु महिलाहरू बिहानै स्नान गरी पूजा–आराधना गर्ने, शिव–पार्वतीको उपासना गर्ने तथा साँझ तीजका गीत गाउँदै नाचगानमा सहभागी हुने गर्छन् । तीजको अवसरमा देशका विभिन्न स्थानमा रहेका शिवालय तथा धार्मिकस्थलमा विशेष पूजाआजा हुने तयारी गरिएको छ । महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । टाढा–टाढा रहेका चेलबेटी माइतीघरमा भेला भएर वा आफ्नै घरमा रहेर खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही दूध मिठाई, फलफूल लगायतका मिठा परिकारको दर खाने चलन छ । भोलिपल्ट निराहार व्रत बस्ने भएकाले आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरीरलाई तागत दिने खालका परिकार बनाएर दर खाने चलन रहेको बुढापाकाको भनाइ छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।
भोलिपल्ट निराहार व्रत बस्नुपर्ने भएकाले दिनभर शरीरमा शक्ति सञ्चय गर्न टन्न दर खाने परम्परा रहेको रैनादेवी छहरा गाउँपालिकाकी ७५ वर्षीया मनकला रायमाझी बताउँछिन् । महिला दिदीबहिनीले निराहार व्रत बसी हरितालिका तिज भने सोमबार मनाउँदै छन् । राता सारीमा सजिएका महिलाहरुको जमघट यतिबेला हरेक घर तथा पार्टी प्यालेसमा देख्न पाइन्छ । तर भोटेकोसीमा आएको बाढीका कारण देश नै शोकमा रहेका बेला विगतमा जस्तो तिजको उत्साह भने यस पटक देखिएको छैन् । वर्ष दिनमा एक पटक आउने तिजमा रमाउने महिलाहरु यस पटक भने नाँच गान र रमाइलोमा त्यत्ति ध्यान दिएको देखिदैन ।
दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु नखान स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । उनीहरुले लामो समय निराहार वा निर्जल व्रत बस्दा शरीरमा पानी र ग्लुकोजको कमी हुन सक्ने भन्दै आफ्नो स्वास्थ्य अवस्थाअनुसार सावधानी अपनाउन भनेका छन् । विशेषगरी दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा नियमित औषधि सेवन गरिरहेकाहरूले चिकित्सकीय परामर्शबिना कठोर व्रत नबस्न सुझाव दिइएको छ । तिजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आरधना गर्दै महिला नाचगान र रमाइलो गर्नमा व्यस्त हुने गर्छन् । तिजको धार्मिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । धार्मिक मान्यताअनुसार सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न गरेको कठोर व्रतसँग हरितालिका तिज जोडिएको छ । त्यसैले विवाहित महिलाले श्रीमानको दीर्घायु र सुख–शान्तिको कामना गर्दै व्रत बस्ने तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामना गर्ने परम्परा छ । पछिल्लो समय भने कतिपय महिला व्यक्तिगत आस्था, आत्मिक शान्ति र मनोकामना पूरा हुने विश्वासका साथ पनि व्रत बस्ने गरेका छन् । तिजको दिन बिहानै स्नान गरी भगवान् शिवको आराधना गर्ने, पूजा गर्ने, नाचगान गर्ने र दिनभर धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने चलन छ । दर खाने दिनबाट सुरु हुने उत्साह अर्को दिनको निराहार व्रत हुँदै ऋषिपञ्चमीसम्म पुग्छ । यसबीच तिजले नेपाली महिलाको धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक अनुभव र सांस्कृतिक पहिचानलाई एकै ठाउँमा जोड्ने गर्छ । त्यसैले तिज केवल रातो सारी र दरको पर्व होइन—यो माइतीको सम्झना, दिदीबहिनीको भेट, मनका पीडा पोख्ने अवसर, आस्थाको निरन्तरता र महिलाको सामूहिक उत्सव पनि हो ।


