Shittalpati
देशलाई स्वार्थ पूर्ति गर्ने क्रिडास्थल कहिले सम्म बनाउने ?

दुर्गा अर्याल

१७ औं शताब्दीका देश प्रति बफादार भारदार काजी भिम मल्लको दरबारले षड्यन्त्र पूर्वक मृत्युदण्ड दिए पछि उनकी पत्नीले सती जानु पूर्व भनेकी थिईन् “देशको भलो चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै भलो नहोस्” सोहि समयदेखि नेपाललाई सतीले सरापेको देश उपनामले पनि चिनिन थालेको पाईन्छ । हुन पनि मल्लकालीन समय देखि वर्तमान सम्म आईपुग्दा । देश बनाउँछु भन्नेले देश बनाउन पाएकै देखिदैन् । देशका लागि केहि गर्छु भन्ने कसैको यो देशमा सुखद् अन्त्य देखिदैन् । विगतदेखि वर्तमानसम्म राजनीतिक षड्यन्त्र र विभिन्न स्वार्थले देशलाई दलदलमा फसाएको देखिन्छ । राजनीतिक अस्थिरता ,आरोप–प्रत्यारोप र सत्ता प्राप्तिको खेलमै देशले दशकौं अवधि बेथित गरेको छ । इतिहासमा दरबार हावी हँुदा ,राणा हावी हँुदा ,राजनीतिक दलका नेतृत्व हावी हुँदा देशको सार्वभौमिकता माथि प्रहार भएका घटनाहरु निरन्तर  घटिरहेकै देखिन्छ । यी सबै श्रृखलाहरु राष्ट्र र जनताका हितका खातीर घटाइएका हैनन् कुनै कुनै रुपमा स्वार्थका गन्धहरु मिसिएकै छन् ।

राष्ट्रियता ,राष्ट्रप्रेम मन मस्तिष्कमा प्राकृतिक रुपमा नै आउने कुराहरु रहेछन् । यसरी उत्पन्न भएको राष्ट्र माया दिगो र राष्ट्र हितमा केन्द्रीत हँुदो रहेछ  । सत्ता प्राप्ति र राजनीतिक स्वार्थ परिपूर्तिका लागि देखाईने राष्ट्रवाद दिगो र राष्ट्रहित अनुकुल हुने रहेन छ । विगत –वर्तमानले यही प्रमाणित गर्दछ । देशमा राजनीतिक संकट उत्पन्न हुँदा, प्राकृतिक विपती आईपर्दा देखिनु पर्ने राष्ट्रिय एकता राजनीतिक स्वार्थमा पुगेर ठोकिदो रहेछ । यहि कारण होला संकटमा जिम्मेवार राजनीतिक दल र तीनका नेतृत्व आरोप प्रत्यारोपमै समय बेथित गरेका घट्ना नेपाल र नेपालीका लागि नौला घटना बनेनन्  । यो नेपालको नियत्त जस्तै बन्न पुगेको छ । देशलाई स्वार्थ पूर्तिको क्रिडास्थल कहिलेसम्म बनाउने सोचनिय विषय बनेको छ । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
पृष्ठभूमि :
पाल देश भित्र र बाहिरका शक्तिहरुको स्वार्थ परिपूर्तीको क्रिडास्थ बन्दै गएको कुरामा दुईमत रहदैन् । मल्लकालीन शाशन व्यवस्था हँुदै जेन जी आन्दोलन सम्म आईपुग्दा यही पक्ष हावी हुँदै गएको देखिन्छ ।  काजी भिम मल्ल, बहादुर शाह ,भीमसेन थापा, माथवरसिंह थापा लगायतका स्वार्थ हावी हुँदा राज्य षड्यन्त्रका कारण दुखद् अन्त्य भएका कुरा इतिहासमा भेटिन्छ । नेपाल राजनीतिक स्वार्थ पूर्विको क्रिडास्थल असमान सुगौली सन्धी पछिका बर्षहरुमा हावी हुँदै गए । देशको सार्वभौमिकता र विदेशी हस्तक्षपले तिव्रता पाउदै गयो । देशमा राजनीतिक अस्थिरता  र अशान्तीको बिउँ त्यही विन्दुबाट सुरु भएको देखिन्छ । कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व ,वैज्ञानिक गेहेन्द्र शम्शेर काण्ड हुँदै आधुनीक नेपालका राजदरबार हत्याकाण्ड, दासढुङगा दुर्घटना काण्ड, पिस्कर काण्ड जस्ता दर्जनौ काण्डहरु र स.न. १९५० को असमान सन्धी दृश्य र अदृश्य शक्तिको स्वार्थ परिपूर्तीका लागि घटाइएका घटनाहरु थिए । यी घटनाहरुले देशलाई अस्थिरता तीर धकेल्न सहयोग गरेको कुरामा दुईमत नरहला ।

१०४ बर्षे जहानीया राणा शाशनको अन्त्य र प्रजातन्त्रको प्राप्ति पछि जनताको हातमा सत्ता सञ्चालनको बागडोर आउदा पनि यो श्रृखलाको अन्त्य भएन व्यक्तिगत स्वार्थ हावी भैरहे, राष्ट्रघातका श्रृखला चलिरहे वि.स. २०११ को  कोशी सम्झौता, वि.स.२०१६ को गण्डक सम्झौता, स.न. १९९१ को टनकपर सम्झौता,स.न.१९६६ को महाकाली सन्धी यसैका जलवन्त उदाहरणहरु हुन् । प्रजातन्त्र प्राप्ती र पुर्नप्राप्ती पछि पनि यी अस्थिरता, सत्ता परिवर्तन, अशान्ती उत्पन्न गराउने कार्यहरु निरन्तर चलिनै रहे । देश स्वार्थ परिपूर्ती क्रिडास्थलमा रुमलिनै रÞयो । पञ्चायती शाशन व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पूर्नस्थापना वि.स. ०४६ ÷०४७ पछि पनि रोकिएन । यो प्रवृत्ती सत्ता परिवर्तन, संसद विघट्न, मध्यावधि चुनाव जस्ता घटना स्वार्थका कारण हावी भए । साथै १० वर्षे जनयुद्ध, दरबार हत्याकाण्ड, गणतन्त्र, जेन जी आन्दोलन स्वार्थ पूर्तिका लागि घटाइएका थिए । देशलाई अस्तव्यस्त बनाउने, पछाडी धकेल्ने राजनीतिक घटनाका श्रृखला बाहेक नेपाललाई अघि बढ्नबाट रोक्ने प्राकृतिक प्रकोपले पनि समस्या थपिदिएको छ । समय समयमा गहिरहने भूकम्प, बाढी पहिरो हाम्रो नियती नै बन्न पुगेको छ । पछिल्लो समय गएको भोटेकोशी बाढीले हालसम्मकै ठूलो क्षती पुगेको छ देशको लागि । विकासको गतीमा ब्रेक लगाईदिएको छ । प्राकृतिक प्रकोप हाम्रो नियन्त्रणमा छैन्, यसबाट मानविय प्रयासले क्षति केहि कमी गर्न सकिएला तर रोक्न नै भने सकिदैन् तर राजनीतिक स्वार्थ, व्यक्तिगत स्वार्थका कारण सिर्जना भएका अस्थिरता, अशान्तिलाई भने पक्कै मानवीय प्रयत्नले रोक्न सकिने देखिन्छ । यसका लागि म हैन् हामी , व्यक्तिगत स्वार्थलाई हैन सामुहिक स्वार्थलाई केन्द्रमा राखेर दल भन्दा माथि देश र माटोको मायालाई राख्न सकेमा सम्भव देखिन्छ ।

राजनीतिक स्वार्थमा दशकौ अवधि बेथित गर्दा नेपालको अर्थतन्त्रले अझै पनि ३ देखि ४ प्रतिशतकै आर्थिक वृद्धिको दयनिय अवस्थामा रुमली रहेको छ । विकास, औद्योगिकरण, आयात –निर्यातको व्यापारको अवस्था दिनप्रति दिन प्रतिकूल अवस्थामा फराकिलो तथ्याक बोकेर हिडिरहेको छ । रोजगारी सिर्जनाका कुरा कथा जस्तै बनेका छन् । अर्थतन्त्रका धेरै सुचक सन्तोष जनक अवस्थामा देखिदैन् यी सबै सिर्जित तथ्याक र घटनाको कारण राजनीतिक अस्थिरता, अस्थिर नीति नियम नै रहेको देखिन्छ । राजनीतिक एकता कायम हुन् नसक्नु नै देशको सबै भन्दा घातक पक्ष बनेको छ । जब देशमा प्राकृतिक र राजनीतिक समस्या आउँछ राष्ट्रिय एकतामा झनै समस्या थपिएको हुन्छ । एकमत र एकजुट हुनु पर्ने दलहरु आरोप प्रत्यारोपमै समय बेथित गरेको देखिन्छ ।
निष्कर्ष :
देश राजनीतिक स्वार्थ परिपूर्ति गर्ने क्रिडास्थल हैन्,स्वाभिमान र सार्वभौमिकताका साथ शिर उच्चो बनाएर बस्ने आश्रय स्थल हो । प्रकृतिले दिएको यो शान्ती भूमिलाई राजनीतिक स्वार्थ पूर्ति गर्ने थलोको रुपमा रुपान्तरण गरी जनताको दैनिकीमा आघात पार्ने छुट कोही कसैमा छैन् । देश कुनै अमुक दल र तीनका नेतृत्वको नीजि सम्पति हैन, स्वार्थका लागि जे पनि गर्न । स्वार्थ पूर्तिका लागि एक अर्कालाई हिलो छ्याप्ने काम, देशमा अशान्ती र अस्थिरताको बीउँ रोप्ने काम कुनै पक्षबाट हुनुहँुदैन् । हरेक कुरालाई दलको चश्मा लगाएर हेर्ने प्रवृतिको अन्त्य हुनु पर्दछ । राजनीतिक स्वार्थका लागि गर्ने राष्ट्र माया हैन मन र मस्तिष्कमा देश, जनता र माटोको बास्तविक मायालाई भर्न सके हामी पनि उच्च आर्थिक वृद्धि, उच्च जीवनस्तर भएको विकसित देशको नागरिक भन्न सकिने थियो की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update