Shittalpati
पाल्पामा डेंगी संक्रमण बढ्दो

तानसेन, जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा दिनहुँ डेंगी संक्रमण बढ्दै गएको हो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यहाँ २ सय ५५ जनामा  डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए ।

जलवायु परिवर्तन र परीक्षणको दायरामा वृद्धि भएपछि जिल्लामा संक्रमितको संख्या बढेको उनको भनाई छ । जिल्लामा  अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा ४ सय ३२, आर्थिक वर्ष २०८१/०८२ मा ५ सय १०, आर्थिक वर्ष २०८०/०८१ मा ६ सय ८६, आर्थिक वर्ष  २०७९/०८० मा २ सय ५० र आर्थिक वर्ष २०७८/०७९ मा २४ जनामा डेंगी संक्रम पुष्टि भएको  भट्टराईले बताए ।  पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्तपाल, लुम्बिनी मेडिकल कलेज लगायतका अस्पतालमा आएका बिरामीमा डेंगी संक्रमण देखिएको उनको भनाई छ । यी बाहेक कतिपय निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमासमेत डेंगीको परीक्षण हुन्छ । डेंगी सार्ने एडिज जातको लामखुट्टेले घर वरिपरि रहेका टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने साना–ठूला भाँडाकुँडामा फूल पार्ने ल्याब टेक्निसियन भट्टराईले बताए । ती फूलबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टे बन्ने भएकाले लार्भाकै अवस्थामा खोजी गरी नष्ट गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले डेंगी भाइरस संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने जानकारी दिँदै यसको मुख्य लक्षण ज्वरो आउनु र शरीरका विभिन्न भाग दुख्नु रहेको उल्लेख गरे । डेंगीको विशेष उपचारका लागि निश्चित औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टेको वृद्धि हुन नदिनु नै प्रभावकारी उपाय भएको उनले बताए ।स्वास्थ्य कार्यालयले डेंगीे संक्रमितको संख्या बढ्दै गएपछि सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ । आइतबार कार्यालयले सरोकारवाला निकायसँग डेंगी रोगको रोकथाम  तथा नियन्त्रण सम्बन्धमा पैरवी तथा अभिमुखीकरण गरेको छ ।
 

पानी जम्न नदिन र सरसफाइमा ध्यान दिन जोड
कार्यक्रममा वर्षायामसँगै लामखुट्टेको वृद्धि हुने र डेंगी रोगको जोखिमसमेत बढ्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि घर आँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । सहभागीहरुले लामखुट्टेको वृद्धि रोक्न पानी जम्न नदिनु नै डेंगी नियन्त्रणको प्रमुख उपाय भएको बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पाल्पामा पछिल्ला केही वर्षयता डेंगीको प्रकोप बढ्दै गएको भन्दै सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लामखुट्टे नियन्त्रण गर्न सके डेंगीलगायतका विभिन्न रोगबाट बच्न सकिने भन्दै वातावरणीय सरसफाइमा सबैले ध्यान दिन आग्रह गरे । 

अझै केही समय अवस्था जटिल रहेकाले संक्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउनुपर्ने उनले जोड दिए ।  लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न उनले सुझाएका छन् ।  त्यस्तै, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न पनि प्रमुख ढकालले सबैलाई अनुरोध गरे । पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउनु उनको भनाई छ । उनका अनुसार डेंगु संक्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । एकासी उच्च ज्वरो आउने, मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वान्ता हुने डेंगु संक्रमणका प्रमुख लक्षण हुन् ।

चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्योदय र सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्छ । लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । लामखुट्टेको टोकाइबाट डेंगीबाहेक मलेरिया, औलो, चिकनगुनिया (डेंगीसँग मिल्दाजुल्दो) रोग पनि लाग्न सक्छ । डेंगी नियन्त्रणका लागि विद्यालयका विद्यार्थी प्रभावकारी माध्यम बन्न सक्ने भएकाले विद्यालयस्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो ।  कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, औषधि व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update