निर्मल श्रेष्ठ
मन्दिरै–मन्दिरको भूमि, देवभूमि पाल्पा, हिन्दु र बौद्धधर्मका अनगिन्ती मठ–मन्दिर, चैत्य, विहारहरु रहेका छन् । पश्चिम वल्ड्याङगढी, रुरु क्षेत्रदेखि पूर्व रामपुर, वाकामलाङ, सहलकोट साथै नेपाले टोलसम्मका मठ–मन्दिरहरुमा निशान्तमा बज्ने सङ्ख घण्टको नादले पाल्पा विउझिने गर्छ भने सह्रसरश्मी अस्ताचल लागेपछि मठ–मन्दिरहरुमा बज्ने शङ्ख घण्टको नादसँगै पाल्पा निन्द्रादेवीको काखमा जाने गर्छ । नेपाली समाजमा धार्मिक मनहरु मनमा घण्टको ठूलो महिमा रहेको छ । देवी देवताका मठ–मन्दिर होस् वा घरको पूजाकोठामा किन नहोस् घण्ट बज्ने गर्छ । देवालय परिसरमा श्रद्धालु भक्तजनहरुले घण्टहरु चढाएका हुन्छन् । ती घण्टहरु आफ्नो औकातअनुसार विभिन्न आकारका हुने गर्दछन् । कसैले आफुले भाकेको भाकल पूरा भएपछि घण्ट चढाउँछन् भने कसैले धार्मिक भावनाले ओतप्रोत भएर घण्ट चढाउने गर्दछन् । जे भएता पनि घण्ट चढाउने कार्य धार्मिक भावनाले उत्प्रेरित भएर नै चढाउने गरिन्छ । ठूला घण्टहरु मन्दिरको परिसरमा प्रस्तरका ठूला–ठूला खम्बा माथि कलात्मक काष्ठमा धरानमा सजाएर झुण्डाइएका हुन्छन् भने मन्दिरका चारै कुनामा वा छाना मुन्तिर चारैतिर झुण्ड्याइएका हुन्छन् । मन्दिरको गर्भगृहमा रहेको मूर्तिको दायाँ–बायाँ पनि स–साना घण्टीहरु झुण्ड्याउने प्रचलन रहेको छ । साधारणतया घण्ट चार प्रकारका हुन्छन् । पूजा–आजामा प्रयोग गरिने घण्ट, मन्दिर परिसरमा राखिने ठूला घण्ट, स–साना घण्टीहरुको समूह जसमा पाँचभन्दा बढीको संख्याको हुने गर्छ र हावाको झोक्काले बज्ने स–सना हलुका घण्टीहरु मन्दिरको तला तलामा सजाइएका हुन्छन् । नेपालमा देवालय तथा घर–घरमा गुञ्जने घण्ट हिन्दु तथा बौद्धधर्मद्वारा प्रभावित संस्कृतिको रुपमा लिने गरिन्छ (दर्नाल, २०६१ :१५७, १५८) । हिन्दु धर्म अनुसार घण्टले अग्नि तत्वको प्रतिनिधित्व गर्छ भन्ने मान्यता रहेको भने केही घण्टहरुले घण्ट धारण गर्ने व्यक्तिलाई दुष्ट शक्तिबाट जोगाउँछ भन्ने जनविश्वास रहेको छ (-Kadel,2007:141_ . ) । बौद्ध दर्शन अनुसार घण्टले प्रज्ञादेवीलाई प्रतिनिधित्व गर्दछ (Oldfield, 1974:200) । यसरी नै बौद्ध दर्शन अनुसार घण्टलाई निराकार एवम् घण्टलाई शून्यस्वरुप प्रज्ञापारमिता (स्त्री) भन्ने मान्यता रहेको छ (दर्नाल,२०६१ः१५७) ।
घण्टका प्रकारहरु
विभिन्न जाति, धर्म, सम्प्रदायहरुमा घण्टको महिमा ठूलो छ । घण्टको लक्षणले घण्टको प्रकार धेरै हुनु स्वभाविक हो । देवी देवताको मन्दिरहरुमा मात्र होइन, विभिन्न सम्प्रदाय तथा जात जातिको घरमा साथै जनावरहरुलाई पनि घण्ट लगाई दिन प्रचलन रहेको छ । विभिन्न जात जाति, सम्प्रदायहरुले थरि थरि उद्देश्य र आस्था अनुसार घण्ट बजाउने र चढाउने हुनाले घण्टको प्रकार विस्तृत रहेको छ ।
ज्वाय गं
यो घण्ट खास गरेर गणेश मन्दिरको प्रवेशद्वारमा साङ्ग्लामा विजोर संख्या (पाँच वा सात संख्या) मा उनिएको हुन्छ । धातुबाट बनेको यी घण्टहरु ७.५ से.मी दूरि कायम गरी साङ्ग्लामा उनिएको हुन्छ । खास गरेर गणेश मन्दिर प्रवेश गर्नु अगावै दाहिने हातले सबै घण्टहरुलाई बजाई भित्र पस्ने, पूजा गर्ने वा ढोग गर्ने चलन छ ।
फ्य् गँ (हवाबाट आफै बज्ने घण्ट)
सारेगमको सुर अनुसार यस घण्ट बनाइएको हुन्छ । हवाको वेगसँगै घण्टबाट विभिन्न सुर निस्किने गर्छ । अहिलेको Door Music को पुर्खा फ्य् गँ हो । मठ–मन्दिर र पाटि पौवाहरुमा यसको प्रयोग गरेको पाइन्छ । हाल यसको प्रयोग घरको झ्यालढोकामा सजावटको रुपमा लिन थालिएको छ ।
खिँचा खों गं (यो घण्ट बजाउँदा कुकुर रुने गर्दछ)
यो घण्ट भक्तपुरमा रोगव्याधि दुर्भिक्ष नास गर्नको लागि तान्त्रिक विधि अनुसार निर्माण गरी बछला माईको मन्दिरमा स्थापना गरिएको ऐतिहासिक कथन छ । यो घण्ट बजाउँदा स्याल र कुकुर दुबै रुन्छ भन्ने जनविश्वास रहेको छ । तर आजकाल कुकुर मात्र रुने गर्छ भनिन्छ ।
अङ्गले मंगले गँ (भित्तामा रहेको घण्ट)
काठमाडौं खाल्डोमा अनावृष्टि हुँदा इन्द्रको आराधना गरी यो घण्ट बजाएमा पानी पर्छ भन्ने जनविश्वासका साथ यो घण्ट बजाउने गरिन्छ । यो घण्ट मल्लराजाको दरवार (मणिगल) मंगल बजारको भित्तामा राखिएको छ
(महर्जन,२०७६ :१४९,१५०) ।
वैष्णव घण्ट
‘वैष्णव घण्ट’लाई वैष्णव समुदायले बडो महत्वका साथ लिने गर्दछन् । तर यसको प्रयोग घरमा पूजा गर्दा र हिन्दु समाजमा पनि बजाउने गरिन्छ । आकारमा १८ से.मी.लामो यस घण्टको शिरमा शेषनाग जडिएको हुन्छ । भगवान विष्णुको पूजा गर्दा बजाइने यो घण्ट पञ्चधातु वा अष्टधातु मिसाएर बनाइएको हुन्छ ।
वयल घण्ट
‘वयल घण्ट’ काठबाट बनाइएको हुन्छ । यो घण्ट पश्चिम नेपालको आदिवासी थारु जातिले तराईतिर खेत जोट्ने गोरुलाई लगाई दिने गर्दछन् । लगभग १५ से.मी.अग्लो, २० से.मी. चौडा बनावट भएको यस घण्ट खामारी काठबाट बनाइएको हुन्छ । यस घण्ट चकोर आकारको हुने गर्छ भने यस घण्टमा दुईदेखि चारवटासम्म रालो झुण्ड्याइएको हुन्छ -Kadel,2007:144_ । गोरुलाई गलामा घन्टी लगाई दिंदा घन्टीबाट ध्वनित हुने मधुर ध्वनिले गोरुलाई आनन्द दिनुका साथै लामो समयसम्म काम गर्ने क्षमता पैदा गर्दछ भन्ने प्राचीन कृषक र कृषिविज्ञहरुको ठम्याई छ -VirÚ,1983: 3_ ।
बोके घण्ट
नेपालमा देवी देवताहरुलाई भाकल गर्दा बोका, भेडा परेवा साथै अन्य जनावरहरुको पनि वली दिने प्रचलन रहेको छ । भाकल पुरा भएपछि भाकल अनुसार बोका वली दिने गर्दछन् । वली दिनको लागि मन्दिरमा लगिने बोकालाई ‘बोके घण्ट’ लगाई दिने गरिन्छ । करिब ७.५ से.मी. लामो यस घण्ट काँस धातुबाट बनाइएको हुन्छ । साथै घण्टमा तामाको पातो राखिएको हुन्छ, त्यसमा आफ्नो भाकलको सन्दर्भ उत्कीर्ण गरिएको हुन्छ । यसरी ‘बोके घण्ट’ लगाएर बोका वली दिन जाँदा आफुले जानी नजानी गरिएको पापबाट मूक्ति हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
चौरी घण्ट
नेपालको हिमाली क्षेत्रमा चौरी गाईको घाटीमा चौरी–घण्ट लगाई दिने गरिन्छ । यसले चौरी गाईलाई वायु, मसान र दुषिद आत्माबाट जोगाउँछ भन्ने मान्यता रहेको छ ।तान्त्रिक लामाहरुबाट घण्टमा शक्ति प्रक्षेपन गरिएको सो घण्ट १३ से.मी.लामो र ७.५ से.मी.चौडा हुन्छ । यस घण्टको शिरमा वज्र जडित हुन्छ ।
देउराली घण्ट
देवी देउराली माईको नामबाट ‘देउराली घण्ट’को नामाकरण भएको मान्यता छ । पाँच, सात, नौ वा एधारवटा विजोडा घण्टी लहरै उनिएको हुन्छ । फलामबाट बनेको यस घण्टमालामा रहेको घण्टको बनोट ७.५ स्.मि.लामो र ५ से.मि.चौडाको हुन्छ । यस घण्टको समुहलाई देवीको स्मरण र रक्षाको प्रार्थना गर्दै घण्टी बजाउने गरिन्छ ।
दिल्बु
आजभोलि ‘दिल्बु’ साधारण तया पित्तल धातुबाट बनाइन्छ । तर विगतमा यो घण्ट पञ्चधातु वा अष्टधातुबाट बनाइन्थ्यो । यसलाई तामाङ जातिका लामाहरुले बजाउने गर्दछन् । यसको दण्डीको माथिल्लो भागमा वज जडिएको हुन्छ । वज्रले पुरुषको प्रतिनिधित्व गर्दछ भने घण्टीको आकारलाई नारी रुप मानिन्छ । ‘दिल्बु’, १८से.मी. लामो र १० से..मी व्यास भएको हुन्छ । यसमा विभिन्न बौद्ध डिजाइनका बुट्टाहरु कलात्मक रुपमा कुँदिएका हुन्छन् ।
गलाम्वे
‘गलाम्वे’ एउटा फलामे घण्ट हो । यो घण्ट १० से.मी. लामो र ५ से.मी.व्यासको हुन्छ । यसको सुरुवात सुनुवार आदिवासी जनजातिसमूहबाट भएको थियो । यस घण्टलाई शिकारी कुकुरको घाँटीमा झुन्ड्याउने गरिन्छ । यस घण्टमा फलामका तिखा किल्ला भएको पट्टा पनि गाँसिएको हुन्छ । त्यस कुकुरलाई सामान्यतया मृग शिकारका लागि तालिम दिइन्छ । शिकार मारेपछि कुकुरले प्रत्येक शिकारी सरह नै मासुको बराबर हिस्सा पाउँछ ।
गरुड् घण्ट
‘गरुड घण्ट’को प्रयोग हिन्दु वैष्णव समप्रदायले आफ्ना देवी देवताहरुको पूजा–आजा गर्दा प्रयोग गर्ने गर्दछन् । यसको प्रचलन लिच्छवीकालदेखि चलिआएको थियो । पितल धातुबाट बनेको यस घण्टी २० से.मी. लामो र ७.५ से.मी. व्यासको भएको हुन्छ । घण्टीको दण्डीको शिरोभागमा गरुडको आकृति राखिएको हुन्छ । विष्णुको वाहन गरुड भएको हुनाले यस घण्टी बजाउँदा विष्णु भगवान खुसि हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
गौ घण्ट
ब्राह्मण जातिले पालेका गाईका बथानहरुमध्ये मुख्य गाईको घाटीमा ‘गौ घण्ट’ झुण्ड्याउने गरिन्छ । नेपाली समाजमा हिन्दुहरुले गाईलाई देवी लक्ष्मीको अवतारको रुपमा लिने गर्दछन् । त्यसैले यी घण्टीहरुको ध्वनीलाई श्रीवृद्धिको प्रतीकको रुपमा लिने गरिन्छ । अन्य गाईृ, साँढे वा बाच्छाहरुलाई एउटा मात्र घण्टी लगाई दिने गरिन्छ भने मुख्य गाईलाई तीनवटा घण्टीहरु लगाई दिने गरिन्छ । फलामबाट बनेका यी घण्टीहरु १० से.मी. लामो र ६ से.मी. व्यास भएको हुन्छ ।
घान्डो
यो हिउँद याममा शिकार गर्ने शिकारीहरुले प्रयोग गर्ने एक प्रकारको पुरानो फलामको घण्टी हो । यसको बनावट ७.५ से.मि. लामो र ५ से.मि व्यासको हुन्छ । मकवानपुरका सुनुवार समुदायले यसलालाई आफ्नो कुल देवताको रुपमा पूजा गर्ददछन् । वार्षिक पूजामा पुरोहितले मन्त्र पढ्दा कुल देवता व्यक्तिको शरीरमा प्रवेश गर्छ भन्ने परम्रा रहेको छ । यस वेला शरीर काँपेको व्यक्तिले घण्टीबजाउँदै गाउँलेहरुको भविष्यको जोखना बताउने गर्छ ।
घान्ट
यो ‘घान्ट’, कर्णाली क्षेत्रको जुम्ला जिल्लामा प्रचलन छ । श्री ७ भगवती कनकसुन्दरी माईको पूजाआजामा यो घण्ट बजाउने गरिन्छ । यसको बनावट ३० से.मी. लामो र १३ से.मी. चौडा हुन्छ ।भक्तजनहरुले आप्mनो मनोकामना पूरा भएमा देवीलाई घण्टी चढाउँछु भनी भाकल गरेका हुन्छन् ।
घडी घण्ट
‘घडी घण्ट’ १ से.मी. बाकुलो पितलको गोलो आकारमा बनेको हुन्छ । यसको गोलाकार २० से.मी. व्यासमा बनेको हुन्छ । काठमाडौंको इन्द्रजात्रामा पुलु किसी नाचको अगाडि यो ‘घढी घण्ट’ बजाउने गरिन्छ । ‘घडी घण्ट’ मातृका नाचमा पनि बजाउने गरिन्छ । यो ‘घडी घण्ट’ले नेवार समुदायसँग सम्बन्ध राख्दछ ।
घालटि
‘‘घालटि’’लाई देवी देवताहरुको मन्दिरमा विशेष पूजा हुँदा बजाउने गरिन्छ । यो घण्ट पवित्र र धार्मिक आस्थासँग जोडिएको छ । पितलबाट बनेको यस ‘‘घालटि’’को लम्बाइ १० से.मी.र ६ से.मी. व्यासको हुन्छ । यो घण्ट धिमाल आदिवासीसँग सम्बन्ध रहेको छ ।
यस घण्टको नाद असार महिनामा जात्री पर्वमा धान रोपाइमा सुनिन्छ ।
घण्टा घान्डो
नेपाली समाजमा देवताहरुलाई मात्र प्रत्येक्ष रुपले पूजा गरिदैन । नेपालीहरुमा देवताहरुको बास हतियार र वाद्ययन्त्रमा पनि हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । त्यसमा ‘घण्टा घान्डो’ पनि एक हो । यो वाद्ययन्त्र सिन्धुली जिल्लाका माझि समुदायले पवित्र वाद्ययन्त्रको रुपमा लिने गर्दछन् । यिनीहरुले वार्षिक श्राद्धमा ‘घण्टा घान्डो’ बजाउने गर्दछन् । कुखुराको भाले वली दिएपछि पूजा सुरु हुन्छ र ‘घण्टा घान्डो’ बजाउने कामको थालनी हुन्छ । यो घण्ट १० से.मी. लामो र ७.५ व्यासमा फलामबाट बनेको हुन्छ । यो घण्ट शिकार सफल होस भनि तालिमे कुकुरलाई लगाई दिने गरिन्छ । यस कार्यलाई वन देवताको पूजाको रुपमा लिने गरिन्छ ।
घोडी घण्ट
नेपालको पहाडी क्षेत्र दार्चुला जिल्लामा घोडाको घाटीमा ‘घोडी घण्ट लगाई दिने गरिन्छ । यो घण्ट पितलबाट बनेको हुन्छ । साधारणतया यो ‘घोडी घण्ट’ ७.५ लामो र त्यति नै व्यासमा बनेको हुन्छ । यो ‘घोडी घण्ट’ घोडा चढ्दा फुकाल्ने गरिन्छ ।
स्य्याङ
उच्च हिमाली क्षेत्रमा यस घण्टको बजाउने प्रचलन रहेको छ । अष्ट धातुबाट बनाइएको यस घण्ट पवित्र गुम्बामा बजाउने गरिन्छ । यो धुपीको काठ र चौरी गाईको सिङबाट बनेको हुन्छ । ५ से.मी. लामो र ७.५ गहिरो तथा १० से.मी. व्यासमा यो स्य्याङको निर्माण भएको हुन्छ । यसको ध्वनी निकै मधुरो हुने गर्दछ । बौद्ध गुरुले मन्त्र पढ्दा यो ‘स्य्याङ’ बजाउने गर्दछन् - Kadel,2007:168_ .
दिव्य घण्ट
अहिलेसम्म विभिन्न जात जाति, धर्म, सम्प्रदायहरुले प्रयोग गर्ने घण्टहरुको चर्चा गरियो । अब यस पंक्तिको केन्द्र बिन्दुतिर आउँदैछौं, त्यो हो नेपालको प्रमुख महत्वपूर्ण घण्ट, ‘दिव्य घण्ट’ को विषयमा उठान गर्न खोजिएको छ । ठूल–ठूला सहरहरुमा राखिने विशाल घण्ट र मन्दिर परिसरमा ढुङ्गाको खम्बा बनाई कलात्मक ढङ्गले झुण्ड्याइने ठूला घण्ट नेपालका सबै जसो देवालयको परिसरमा देख्न पाइन्छ । कान्तिपुर (हाल काठमाडौ.), ललितपुर र भक्तपुरका तीनै प्राचीन दरवारको परिसरमा विशाल घण्ट रहेका छन् । यिनीहरुलाई ‘दिव्य घण्ट’ भन्ने गरिन्छ । काठमाडौं खाल्डोको तीन सहरमध्ये सबैभन्दा ठूलो घण्ट हनुमानढोका दरवारको परिसरमा ‘दिव्य घण्ट’रहेको छ । यसमा उत्कीर्ण गरिएको अभिलेख अनुसार यो ‘दिव्य घण्ट’ श्री ५ रणबहादुर शाहले देवी भवानीको नित्यपूजाका लागि श्री शाके संवत् १७१९ (वि.सं.१८५४) आषाढ शुक्ल दशमी सोमवार वायु देवताको शुभ (स्वाति) नक्षत्र र सत् सिद्धियोगमा स्थापना गरेका थिए । यसरी नै ललितपुर मणिगल (पाटन) दरवारमा महाराजाधिराज श्री श्री जयविष्णु मल्लदेव र वहाँकी रानी श्री चन्द्रलक्ष्मी देवी दुबैजनाले संवत् ८५(वि.सं.१७९४) माघ शुदि ४ उत्तरभाद्र नक्षत्र सिद्धियोग सोमवारका दिन ‘दिव्य घण्ट’ स्थापना गरेका थिए । यसै गरी भक्तपुर तलेजुमन्दिर अगाडि एउटा ठूलो ‘दिव्य घण्ट’ देवीको नित्य पूजामा बजाउनको लागि शाके संवत् १६५८, संवत् ८५७ (वि.सं. १७९४) पौषवदि १ का दिन श्रीमहाराजधिराज श्री श्री जयरणजितमल्लदेवले स्थापना गरेका थिए (नाथ, योगी नरहरि, इतिहासप्रकाशमा सन्धिपत्रसंग्रह, भाग १, प्र. राप्ती अञ्चल दाङ्को आध्यात्मिक सम्मेलन, वि.सं. २०२२, पृष्ठ २७९,२८०,२८१) ।‘दिव्य घण्ट’को शाब्दीक अर्थ ‘दिव्य’ र ‘घण्ट’ दुई शब्दको संयोजनबाट बनेको छ । ‘दिव्य’ भन्नाले ‘स्वर्ग–सम्बन्धी’, ‘आकाश सम्बन्धी’, ‘अलौकिक’,‘दैवी’ ; ‘देवोचित’, ‘चहकिलो’ ; ‘प्रकाशमान’, ‘अति सुन्दर’ ; ‘भव्य’ भन्ने बोध हुन्छ (शर्मा,२०२९ः५१२) । यसरी नै टर्नरले ‘दिव्य’लाई { …DivineÚ, …brilliantÚ, …charmingÚ, …beautifulÚ भनि अथ्र्याएका छन् (Turner,1931:312) । यसरी नै संस्कृत–शब्दार्थ–कौस्तुभमा ‘दिव्य’ भन्नाले ‘नैसर्गिक’, ‘अदेभुत’, ‘चम्कीलो’, ‘दमकदार’, ‘मनोहर’ भनि उल्लेख गरिएको छ (शर्मा,१९२८ः३७८) । यसरी ‘दिव्य’ शब्दको शब्दार्थलाई नियाल्दा ‘स्वर्ग–सम्बन्धी’, ‘आकाश सम्बन्धी’, ‘अलौकिक’, ‘दैवी’ ; ‘देवोचित’, ‘चहकिलो’; ‘प्रकाशमान’, ‘अति सुन्दर’; ‘भव्य’, ‘नैसर्गिक’, ‘अदभुत’, ‘चम्कीलो’, ‘दमकदार’, ‘मनोहर’ आदि अन्तरनिहित गुणहरु समेटिएको घण्ट भन्ने बुझिन्छ ।
काठमाडौं हनुमानढोका दरवारको परिसरमा रणबहादुर शाहले वि.सं १८५४ मा जुन ‘दिव्य घण्ट’ स्थापना गरेका थिए, त्यसको २२ वर्ष पछि समर सौन्दर्यका नायक उजीरसिंह थापाकी महतारी रणकुमारी थापा पाण्डेले वि.सं.१८७६मा महिषासुमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती माईको मन्दिरको मुलद्वारको दायाँपट्टि ‘दिव्य घण्ट’ चढाएकी थिइन् । सो ‘दिव्य घण्ट’ अहिले पनि दुरुस्त छ । सन् १८१४ नवेम्बर १ तारिखका दिन ब्रिटिश साम्राज्यको इकोनोमिक इञ्जिनको रुपमा रहेको ईष्ट इण्डिया कम्पनीले नेपाल उपर एकतर्फ युद्ध घोषणा गर्यो । त्यसवेला पाल्पाका तैनाथवाला कर्णेल उजीरसिंह थापा थिए । युद्धको तैयारीको सिलसिलामा सैनिक बन्दोबस्त, रसदपानीको जोहो गर्नुका साथै देवी देवताहरुको पूजा आराधना एवम् विजयश्री हासिल भयो भने श्री ७ भगवतीको भव्य मन्दिर निर्माण गरी सिंदुरजात्रा गर्ने छु भनि तानसेन सहरको मध्येभागमा अवस्थित श्री ७ भगवती माईको पाउमा परि भाकल गरेका थिए । भाकलको प्रभाव र युद्ध जित्ने ईच्छा शक्तिले वि.सं.१८७१ साल पौषकृष्ण १५ गते मंगलवारका दिन र वि.सं.१८७२ साल चैत्रशुदि ८ रोज ३ तदनुसार वैशाक ७ गते सोमवार गरी दुई पटक जीतगढी मोहोडामा भएको युद्धमा नेपालले विजयश्री हासिल गरेको थियो । विजयश्री प्राप्त गरेपछि भाकल बमोजिम कर्णेल उजीरसिंह थापाले काष्ठकलाको बेजोड नमुना खामिएको तीनतले भव्य मन्दिर वि.सं. १८७२ सालमा थालनी गरी वि.सं. १८७६ सालमा निर्माण सम्पन्न गरेका थिए । सो मन्दिर सम्पन्न भएको पुनित अवसरमा समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापाकी महतारी रणकुमारी थापा पाण्डेले– “स्वस्ती श्री सम्वत् १८७६ साल मिति कार्तिकवदि ५ रोज६ मा श्री श्री श्री श्री श्री भगवतीको चरण : रणकुमारी सरण :” भनी उत्कीर्ण गरिएको अजङको ‘दिव्य घण्ट’ मन्दिरबाट बाहिरिदा मूल प्रवेशद्वारको दायाँतिर चढाएकी थिइन (श्रेष्ठ,२०७९ः२८७) ।
दिव्य घण्टको आधार
देवी आह्वानका लागि तान्त्रिक पद्धति अनुसार अनेक पवित्र धातुहरुको मिश्रणबाट ‘दिव्य घण्ट’ बनेको हुन्छ । ठूलो ढुङ्गाका स्तम्भमाथि काठको तेर्सो धरानमा झुण्ड्याई बडेमानका सिक्रीले बाँधी यसलाई अड्याइएको हुन्छ (महर्जन,२०७६ः१५०) । यसको आधारमा महिषासुमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरमा समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापाका महतारी रणकुमारी थापाले चढाएको घण्ट, ‘दिव्य घण्ट’ भएको पुष्टि हुन्छ । यस घण्टलाई अड्याउन ८ इञ्च रु १० इञ्च मोटाइ र उचाइ ७ फुट १ इञ्चको बाठको स्तम्भ रहेको छ भने माथिपट्टिको तेर्सो काठको धरानको लम्वाइ ६ फुट ८ इञ्च रहेको छ । त्यस काठको मोटाइ ४ इञ्च रु ९ इञ्च रहेको छ । यसै गरी घण्टलाई अड्याउन चारैतिरको साङ्ग्लोलाई अड्याउन तेर्सो काठको धरान माथि अर्को ४२ इञ्चको धरान राखिएको छ । यसको मोटाइ १० इञ्च रु १० इञ्च रहेको छ । मोटो फलामको साङ्ग्लोले चारैतिरबाट झुण्ड्याइएको सो ‘दिव्य घण्ट’, रालो १५ इञ्चसहित तलबाट माथिसम्म ३९ इञ्च अग्लोे छ । उक्त ‘दिव्य घण्ट’ फलामको साङ्ग्लो बाहेक ‘दिव्य घण्ट’ मात्र २९ इञ्च अग्लो छ । यस ‘दिव्य घण्ट’को तल्लो व्यास (फेरो) ६० इञ्च रहेको छ भने माथिल्लो बोटल नेकको व्यास (फेरो) ३६ इञ्च रहेको छ । ‘दिव्य घण्ट’लाई साङ्ग्लोले बाँधनको लागि चार कुनामा अंकुश बनाइएको छ । साङ्ग्ला अड्याउने अंकुशको चारै कुनामा चारवटा भैरबको मुखाकृति उत्कीर्ण गरिएका छन् । सो चार कुनामा भएको भैरबको मुखाकृतिलाई ड्रागन (संगीन सर्प) ले छत्र स्वरुप सुरक्षित गरेको देखिन्छ । सो ‘दिव्य घण्ट’को महत्वपूर्ण पाटो ‘दिव्य घण्ट’ को स्वरुप हो । जो मार्केवल छ र यो ‘दिव्य घण्ट’ महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरमा रहेको अन्य घण्ट भन्दा डिफरेन्ट मात्र होइन ईनडिफरेन्ट पनि छ । ‘दिव्य घण्ट’ निर्माणको विधि विधानलाई पूर्ण रुपमा पालन गरी बनाइएको यस दिव्य घण्टमा विभिन्न अमूल्य धातुहरुको मिश्रण गरिएको छ । चाँदीको भाग यसमा हुँदा घण्टमा प्रयोग भएको ढलोटको रंगमा सेतोपन देखिन्छ । साथै विभिन्न अमूल्य धातुहरुको मिश्रणले गर्दा यस ‘दिव्य घण्ट’को रंग अहिले पनि दगेको छैन् । यस ‘दिव्य घण्ट’को नाद पनि परिसरमा भएका अन्य घण्टहरुभन्दा फरक छ । यसको नाद सहर वरिपरि ता सुनिन्छ नै परपरसम्मकाले श्री ७ भगवती मन्दिरमा गुञ्जायमान ‘दिव्य घण्ट’ ध्वनी थम्याउन गाह्रो पर्देन् । ‘दिव्य घण्ट’ बजाउने केही विधिहरु छन्, ‘दिव्य घण्ट’ बजाउँदा ‘दिव्य घण्ट’का साथ ‘दिव्य नगरा’ पनि बजाउने विधिविधान हुन्छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान बेलुकी नित्य पूजा गर्दा ‘दिव्य घण्ट’ बजाउँदा साथमा ‘दिव्य नगरा’ पनि बजाउने परम्परा छ । त्यसरी नै महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरमा विहान बेलुकी नित्यपूजा गर्दा यस पंक्तिकारले जान्दा खेरी पूजाहारीले ‘दिव्य घण्ट’ बजाउने गथ्र्यो भने नकर्चीले दिव्य नगरा र बानादारहरुले अन्य बाजाहरु बजाउने गर्दथ्यो । यो ‘दिव्य घण्ट’ को महिमा ठूलो छ । यसले इतिहास, कला र संस्कृतिलाई जगेर्ना गर्दै यसको नादले युवा पुस्तालाई देशभक्तिको भावनाले ओतप्रोत पारिदिन्छ । जब यस ‘दिव्य घण्ट’ को नाद गुञ्जिन्छ तब हरेक नेपालीको मनको अन्तरकुन्तरमा देशभक्तिको भावना पैदा गरिदिन्छ ।
सन्दर्भ पुस्तकहरु
दर्नाल, रामशरण, नेपाली बाजा, प्र. रत्न पुस्तक भण्डार, नेपाल, वि.सं.२०६१ ।
महर्जन, राजेन्द्र, हाम्रो सांस्कृतिक पहिचान तथा परम्परागत बाजाहरु, प्र. श्री जट्टाधारी नित्यनाथ एकीकृत बाजं खल :, वि.सं.२०७६ ।श्रेष्ठ निर्मल, समर सौन्दर्यका नायक कर्णे उजीरसिंह थापा, नेपाल–अँग्रेजयुद्ध र महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवतीजात्रा, प्र. रेखा कार्की, पाल्पा, वि.सं. २०७९ । शर्मा, चतुर्वेदी द्वारकाप्रसाद,सं., संस्कृत–शब्दार्थ–कौस्तुभ, प्र. लाला रामनारायण लाल, इलाहावाद, सन् १९२८ । शर्मा, बाल चन्द्र, नेपाली शब्द कोश, प्र. रायल नेपाल एकेडेमी, नेपाल, वि.सं. २०२९ ।
Kadel, Ram Prasad, Musical Instruments Of Nepal, pub. Nepali Folk Musical Instrument Museum, Kathmandu, 2007A.D.
Oldfield, H. Ambrose, Sketches From Nepal, pub. Cosmo Publications, India, 1974A.D.
Turner, Ralph Lilley, A Comparative And Etymological Dictionary Of The Nepali Language, pub. Published with Subventions from His Late Highness Maharaja Sir Chandra Shamshre Jang Bahsdur Rana and The Royal Asiatic Society, 1931A.D.
…VirÚ Ram Avtar and Sangeet Acharya, Musical Instruments Of India, pub. Pankaj Publications, New Delhi, 1983A.D.

