Shittalpati
पूजामात्र होइन, कृष्णको मार्ग पछ्याऔँ

आज हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मजयन्तीका रूपमा श्रीकृष्ण जन्माष्टमी मनाउँदैछन् । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । नेपालका हिन्दु धर्मावलम्बीमात्रै नभएर श्रीकृष्णबाट प्रेरणा लिनेसँगै प्रभावित हुने विश्वभरका भक्तजनहरुले समेत आजको दिनलाई विशेष बनाउँदै उनको जन्मदिन मनाउँछन् । कृष्णको जन्म भएको खुसीयालीमा व्रतालुहरु रातभरि नै जाग्राम बसेर उनीसँग सम्बन्धित रहेर प्रचलित भएका कथा, प्रवचन श्रवण गर्नेमात्रै नभएर उनका भजनकीर्तनमा समेत लीन भैरहेका हुन्छन । भगवान् श्रीकृष्णको जन्मलाई केवल एउटा धार्मिक घटनाका रूपमा मात्र नभई सत्य, न्याय, कर्तव्य र मानवताको पक्षमा उभिने प्रेरणाको दिनका रूपमा लिन आवश्यक छ । जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्व जति गहिरो छ, यसले दिने जीवनोपयोगी सन्देश पनि उत्तिकै महत्वपूर्ण छ । श्रीकृष्णको जीवन संघर्ष, विवेक, कूटनीति, साहस र कर्मको उदाहरण हो। 

अन्याय र अत्याचारका विरुद्ध उभिनुपर्छ भन्ने सन्देश उहाँको जीवनबाट प्राप्त हुन्छ । महाभारतको युद्धभूमिमा अर्जुनलाई दिएको उपदेशले मानिसलाई आफ्नो कर्तव्यबाट विमुख नभई सत्य र न्यायको बाटोमा अघि बढ्न प्रेरित गर्छ। कर्म गर, फलको चिन्ता नगर भन्ने भावनाले आजको प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनमा पनि उत्तिकै अर्थ राख्छ । आज समाजमा धार्मिक आस्था बढ्दै गए पनि त्यसअनुरूपको व्यवहार र संस्कार कमजोर हुँदै गएको देखिन्छ । पूजा, व्रत र उत्सव मनाउनु आफैंमा सकारात्मक पक्ष हो, तर त्यससँगै श्रीकृष्णका विचार र शिक्षालाई व्यवहारमा उतार्न सके मात्र पर्वको वास्तविक सार्थकता हुन्छ। धर्मले मानिसलाई विभाजन होइन, सद्भाव, सहिष्णुता र मानवताको बाटो देखाउनुपर्छ । जन्माष्टमीका अवसरमा मन्दिरमा पूजाआजा गर्ने, कृष्णको प्रतिमा स्थापना गर्ने, भजन–कीर्तन गर्ने र धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा छ ।

यस्ता गतिविधिले हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान पु¥याउँछन् । तर पर्व मनाउने क्रममा अनावश्यक तडकभडक, अत्यधिक खर्च, ध्वनि प्रदूषण तथा भीड व्यवस्थापनमा हुने कमजोरीप्रति पनि सचेत हुन जरुरी छ । आज मुलुकले सामाजिक विभाजन, अविश्वास, भ्रष्टाचार, हिंसा, निराशा र विभिन्न किसिमका विकृतिको सामना गरिरहेको छ । यस्तो अवस्थामा श्रीकृष्णले दिएको सत्य, न्याय, कर्तव्य र मानवताको सन्देश अझ बढी सान्दर्भिक बन्न पुगेको छ । हामीले जन्माष्टमीलाई केवल एक दिनको धार्मिक उत्सवमा सीमित नगरी त्यसका सकारात्मक शिक्षालाई दैनिक व्यवहारमा लागू गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। त्यसैले यस वर्षको जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा–आराधनासँगै उहाँका विचार र कर्मको पनि स्मरण गरौँ । अन्यायका विरुद्ध बोल्ने साहस गरौँ, आफ्नो कर्तव्यप्रति इमानदार बनौँ र समाजमा प्रेम, सद्भाव तथा सहिष्णुता बढाउने प्रयास गरौँ  । 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update