Shittalpati
पहिचान नखुलेका सात शवको पाल्पामा व्यवस्थापन

पाल्पा, भोटेकोशी बाढीपछि नारायणी नदी किनारमा भेटिएर लामो समयसम्म पहिचान हुन नसकेका सातवटा शव पाल्पामा व्यवस्थापन गरिएको छ । बाढीपहिरोमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवलाई कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने सरकारी निर्णयअनुसार ती शव पाल्पा ल्याइएको थियो ।

नवलपुर क्षेत्रमा नारायणी नदी किनारमा भेटिएका आठवटा शव अन्यत्र सुरक्षित राख्ने स्थानको अभाव भएपछि गत शुक्रबार पाल्पा ल्याइएको थियो । तीमध्ये एक महिलाको शवको मंगलबार पहिचान खुलेपछि बाँकी सातवटा शवलाई तानसेन नगरपालिका–१, भुसालडाँडानजिकै श्रीनगर पर्यापर्यटन सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । लामो समयसम्म शव सुरक्षित राख्न सक्ने अवस्था नरहेको, कुहिँदै गएको र दुर्गन्धका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई समेत ध्यानमा राखेर शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । बाढीपछि खोजी तथा उद्धारका क्रममा नारायणी नदी किनारमा भेटिएका ती शव पाल्पा ल्याइएपछि जिल्लाका विभिन्न अस्पतालमा राखिएका थिए । 

पाल्पा अस्पतालमा एक बालकसहित दुई पुरुष र दुई महिलाको शव राखिएको थियो । त्यस्तै, तानसेनस्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा समेत शव राखेर पहिचानको प्रयास गरिएको थियो ।  शव व्यवस्थापन गर्नुअघि पहिचानका लागि आवश्यक वैज्ञानिक प्रक्रिया भने पूरा गरिएको प्रहरीले जनाएको छ । प्रत्येक शवको फोटो, डीएनए नमुना, बडी ट्याग तथा अन्य आवश्यक विवरण सुरक्षित राखिएको छ । भविष्यमा कुनै परिवारले शवमाथि दाबी गरेमा वा हराइरहेका व्यक्तिको डीएनए नमुनासँग मिलान गर्नुपर्ने अवस्था आएमा सुरक्षित राखिएको अभिलेखका आधारमा पहिचान तथा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । बाढीपछि नदीमा बगेका तथा लामो समयसम्म पहिचान हुन नसकेका शव व्यवस्थापन गर्नु आफैंमा संवेदनशील विषय बनेको छ । आफन्तको खोजीमा रहेका परिवारका लागि शवको वैज्ञानिक अभिलेख सुरक्षित राखिनुले भविष्यमा पहिचान खुल्ने सम्भावना भने कायम राखेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update