Shittalpati
ट्रकको ठक्करबाट एक युवकको मृत्यु

गुल्मी, गुल्मीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको तम्घासमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रेसुंगा नगरपालिका–७, भुजेलखर्कका २५ वर्षीय पवन विश्वकर्माको मृत्यु भएको हो ।         

तम्घासस्थित अर्घाखाँची जीपपार्क जाने सडक नजिक पार्किङ गरेर राखिएको लु १ ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अघि बढाउने क्रममा विश्वकर्मा ट्रकको च्यापमा परेका थिए । ट्रकले च्यापेपछि उनको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पवनलाई तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो ।  त्यहाँ प्रारम्भिक उपचारपछि उनको अवस्था थप गम्भीर रहेकाले थप उपचारका लागि बुटवल रेफर गरिएको थियो । त्यसपछि उनलाई उपचारका लागि बुटवलस्थित चौराह हस्पिटल लगिएको थियो । अस्पतालमा चिकित्सकले सामान्य स्वास्थ्य जाँच गर्ने क्रममा नै उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनाका कारण टाउकोमा गम्भीर चोट लागेकाले उनको अवस्था घटनास्थलदेखि नै चिन्ताजनक रहेको बताइएको छ । उपचारका क्रममा मृत्यु भएका विश्वकर्माको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । पोष्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय गुल्मीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । दुर्घटना कसरी भयो, ट्रक सञ्चालनका क्रममा चालक तथा अन्य व्यक्तिको भूमिका के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनापछि ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update