Shittalpati
देशका विभिन्न स्थानमा छुट्टाछुट्टै घटना : ११ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी ११ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा तीन जना, करेन्ट लागेर एक जना तथा अन्य विभिन्न घटनामा सात जनाको मृत्यु भएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग.१ ज ६५३४ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार गल्याङ–८ की २५ वर्षीया सदिक्षा थापा मगर पचभैया र गल्याङ–९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य चार जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । यसैगरी, ललितपुर महानगरपालिका–२ बल्खु चोकस्थित सडकमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बा.५ ख ४५८९ नम्बरको बसले बा.प्र.०२–०२७ प ३४८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गोरखा गण्डकी गाउँपालिका–३ घर भई काठमाडौं बस्दै आएका १८ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा सवार अर्का एक घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको बसवरिया गाउँपालिका–२ ढापटोलमा करेन्ट लागेर ३८ वर्षीय रन्ति सहनीको मृत्यु भएको छ । आफ्नै घरमा सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । त्यसैगरी, देशका विभिन्न स्थानमा थप सात जना मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जस्थित नहरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । दोलखाको मेलुङ गाउँपालिका–४ सिमखेत लामाटारका ६१ वर्षीय वीरबहादुर तामाङ छिमेकीको घरको बलेसीमा मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित नमुना चोकका ७४ वर्षीय सूर्यप्रसाद दाहाल आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखु बजारमा होटल सञ्चालन गर्दै आएका नुवाकोटको तार्केश्वर गाउँपालिका–३ का ४१ वर्षीय बद्री अधिकारी होटलपछाडि मृत अवस्थामा फेला परेका छन्।यस्तै, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित सडकमा मायादेवी गाउँपालिका–१ पकडीका ६० वर्षीय सुवास अग्रहरी मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका–५ मटेरियाका ३० वर्षीय प्रकाश चौधरी सोही स्थानको कुलोमा सोमबार मृत अवस्थामा फेला परेका थिए । सल्यानको बागचौर नगरपालिका–११ कामीपोल्नेस्थित बाफुखोलामा रोल्पाको गंगादेव गाउँपालिका–४ का ७२ वर्षीय देउरूप डाँगी पनि मृत अवस्थामा फेला परेका छन् । यी घटनाबारे सम्बन्धित जिल्ला प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update