Shittalpati
पाल्पा अस्पतालको नयाँ भवन निर्माण अघि बढाउने सर्वदलीय सहमति

पाल्पा, पाल्पा अस्पतालको नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न शनिबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले अस्पतालको भौतिक पूर्वाधार विकासलाई तत्काल अघि बढाउने निर्णय गरेको छ । अस्पतालमा पर्याप्त भवन नहुँदा सेवा प्रवाहमै समस्या देखिन थालेपछि बैठकले जग्गा व्यवस्थापन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण तथा आवश्यक बजेटका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको मापदण्डअनुसार अस्पतालको भवन निर्माणका लागि कम्तीमा ८ रोपनी जग्गा आवश्यक पर्ने भए पनि हाल पाल्पा अस्पतालको नाममा ७ रोपनी ३ आना मात्र जग्गा रहेको छ । आवश्यक जग्गा अपुग भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाउन समस्या हुँदै आएको थियो । बैठकले अस्पताल परिसरभित्रै रहेको तर हालसम्म अस्पतालको नाममा दर्ता हुन नसकेको जग्गालाई अस्पतालकै स्वामित्वमा ल्याउने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ । उक्त जग्गाको फिल्डबुक जलेको र जग्गा अन्य कुनै व्यक्तिको नाममा समेत नरहेको अवस्थामा अहिलेसम्म कसैले दाबी नगरेकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अस्पतालको नाममा ल्याउने निर्णय गरिएको हो । त्यस्तै, तानसेन नगरपालिका–३, अपुभिलेज नजिक रहेको जग्गा भोगाधिकार तथा लिजमा लिन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । उक्त जग्गाका लागि वडा कार्यालयबाट सिफारिस भइसकेको र तानसेन नगरपालिकाको कार्यपालिका बैठकबाट समेत स्वीकृति प्राप्त भइसकेकाले सम्बन्धित निकायसँग समन्वय गरी थप प्रक्रिया पूरा गर्ने सहमति भएको छ । बैठकले तत्काल जग्गा व्यवस्थापन गरी डीपीआर तयार गर्ने तथा भवन निर्माणका लागि आवश्यक बजेट प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ । 

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, प्रशासनिक अधिकारी तथा पाल्पाका सरोकारवालाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा आफूहरू गम्भीर रहेको बताएका छन् । सरकारी अस्पतालको भौतिक पूर्वाधार विकासका लागि आवश्यक सहयोग र पहल गर्न आफूहरू प्रतिबद्ध रहेको उनीहरूको भनाइ  छ । बैठकमा प्रतिनिधिसभा सदस्य माधव थापा, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीहरू वीरबहादुर राना र खेम सारु, पूर्वमन्त्री सोमप्रसाद पाण्डे, पूर्वप्रतिनिधिसभा सदस्यहरू ठाकुर गैरे र नारायण आचार्य, संविधानसभा सदस्य नारायणी शर्मा, पूर्वलुम्बिनी प्रदेशसभा सदस्य तथा अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. पुरनमान बज्राचार्यको उपस्थिति रहेको थियो ।


यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष विष्णु भण्डारी, नेपाली कांग्रेसका उपसभापति झपेन्द्र गहिरे, नेकपा एमालेका सचिव रामजी पोखरेल, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि जगन्नाथ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, अस्पताल विकास समितिका पूर्वअध्यक्ष नेत्र पाण्डे, जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरे, प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, तानसेन नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर रावल, तानसेन–३ का वडाध्यक्ष बाबुरत्न शाक्य, तानसेन–७ का वडाध्यक्ष प्रदीप खनाल, पाल्पा सरोकार समाजका अध्यक्ष पदम न्यौपाने, अधिवक्ता विनोद कार्कीलगायतको समेत उपस्थिति रहेको थियो । सहभागीहरुले अस्पतालमा भवन अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै जग्गा व्यवस्थापनका लागि आवश्यक पर्ने जुनसुकै तहको सहजीकरण र पहल गर्न तयार रहेको बताएका थिए । अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्मचार्यले सर्वपक्षीय तथा सर्वदलीय बैठकबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै अस्पतालको पूर्वाधार विकासको काम अघि बढाउने बताए ।

उनले जग्गा प्राप्तिमा केही कानुनी अड्चन रहेकाले त्यसलाई समाधान गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । अस्पतालको नयाँ भवन निर्माणका लागि जग्गा व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ थियो । पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शान्तबहादुर रोकाका अनुसार अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधार दुवैको अभाव छ । दरबन्दीअनुसार जनशक्ति पूर्ति हुन नसकेको अवस्थामा अस्पतालले दैनिक ठूलो संख्यामा बिरामीलाई सेवा दिइरहेको उनले बताए । “दैनिक ३५० देखि ५०० जनासम्म बिरामीलाई सेवा दिइरहेका छौँ। तर भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै संक्रमण सर्ने सम्भावना पनि बढेको छ,” रोकाले भने ।

पछिल्लो समय अस्पतालको सेवा प्रवाहमा क्रमिक सुधार हुँदै गए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावले समस्या थपिँदै गएको अस्पतालको भनाइ छ । बिरामीको चाप बढ्दै जाने तर भवन तथा सेवा कक्ष पर्याप्त नहुँदा अस्पतालको गुणस्तरीय सेवा विस्तारमा समेत चुनौती देखिएको छ । अब जग्गा व्यवस्थापनको गाँठो फुकाउँदै डीपीआर निर्माण र बजेट सुनिश्चितताको काम अघि बढेमा पाल्पा अस्पतालको नयाँ भवन निर्माणले गति लिने अपेक्षा गरिएको छ । अस्पतालका विकास समितिका अध्यक्ष अजयमान कर्मचार्यको अध्यक्षता, भगवती काफ्लेको सञ्चालनमा बैंठक भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update