पदम न्यौपाने
हाम्रो सहरले गर्विलो इतिहास बोल्छ,विविध सांस्कृतिक विरासत, बोल्छ, नगन्य सम्पतिको भण्डाररुपी सम्पदा बोल्छ, धर्म र दर्शनको प्रभाव बोल्छ, रचना र सिर्जनाको पौरख बोल्छ, प्रकृति, भूगोल र जनजिविकाको सम्वन्ध बोल्छ, विर र पराक्रमको गाथा बोल्छ, विभिन्न जातजातीको समिश्रणको उपज बोल्छ,सेन राजाहरुको दुरदृष्टि, प्रभाव र समृद्धिको फराकिलो पहिचान बोल्छ । मध्यकालिन सहरको सहरी संरचनाको अनुपम वैज्ञानिक सिर्जना बोल्छ । भनिन्छ नि,जुन सहरले आफ्नो इतिहास लेख्छ, त्यसले भविष्य निर्माण गर्छ । जुन सहरले आफ्नो संस्कृति जोगाउँछ, त्यसले आफ्नो पहिचान बचाउँछ र जुन सहरका नागरिकले आफ्नै कथा आफैँ लेख्छन्, उनीहरूलाई इतिहासले कहिल्यै बिर्सँदैन । त्यसैले अब समय आएको छ—तानसेनलाई केवल हेर्ने होइन, बुझ्ने; केवल बस्ने होइन, जोगाउने; र केवल सम्झिने होइन, लेख्ने हो, केवल लेख्ने होइन, हाम्रा सन्ततीलाइ पनि पढाउने हो । यही नै यो लेख “हाम्रो सहरको कथा” को मूल उद्देश्य हो ।
नेपालको इतिहास सामान्यतयाः ४ कालखण्डमा विभाजित गरेर हेरिन्छ । जसअनुसार पौराणिक काल, प्राचीन काल,मध्यकाल र आधुनिक काल । केही सन्दर्भ स्रोतहरूमा पौराणिक र प्राचीनलाई एकै ठाउँमा राखेर तीन काल (प्राचीन, मध्य, आधुनिक) मात्र भनिन्छ । पाल्पाको लिपिवद्ध इतिहासलाई हेर्दा मध्यकालिन इतिहास बोकेको जिल्लाको रुपमा लिइन्छ । मध्यकालिन नेपाल भनेको लिच्छवि शासनको पतनपछि (८औँ शताब्दीतिर) देखि गोर्खाका पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेर एकीकरण सुरु गर्ने (सन् १७६८/६९, वि.सं. करिब १८२५/२६) सम्मको अवधि हो । यस कालमा काठमाडौं उपत्यकामा मल्ल वंश (विशेष गरी जयस्थिति मल्ल, यक्ष मल्ल र त्यसपछिको तीन राज्य (कान्तिपुर, पाटन, भक्तपुर), पश्चिममा खस÷मल्ल राज्य र बाईसे–चौबीसे राज्यहरू,तथा पाल्पा–मकवानपुर जस्ता सेन राज्यहरू प्रमुख थिए ।
पाल्पा–तानसेनको इतिहास मुख्य रूपमा मध्यकालसँग बढी सम्बन्धित छ । पाल्पा ११ औँ शताब्दीतिर मगर शासित “बाह्र मगरत” को भाग थियो । १५औँ शताब्दीको उत्तरार्धमा सेन वंश (रुद्र सेन आदि) ले यहाँ राज्य स्थापना गरे र प्रारम्भमा रिब्दिकोट र पछि तानसेनलाई राजधानी बनाए । मुकुन्द सेन (१६औँ शताब्दी) को समयमा पाल्पा राज्य शक्तिशाली भयो र चौबीसे राज्यहरूमा प्रमुख राज्य थियो । यो सेन काल (करिब १५औँ–१८औँ शताब्दी)लाई मध्यकालीन नेपालको अभिन्न अंग हो । तानसेन अहिले पनि मध्यकालिन शहरको रूपमा चिनिन्छ । युनेश्कोले समेत सन् २००८ मा मध्यकालिन सहरको सम्पदा सूचिको प्रस्तावित लिष्टमा तानसेनलाई राखेको थियो । अब तानसेनको कथा लेखिनु पर्छ । कथा—कुनै पनि सहर केवल घर, सडक, बजार र भवनहरूको समूह होइन; त्यो इतिहास, संस्कृति, सभ्यता, संघर्ष, प्रकृति, अर्थतन्त्र र नागरिक चेतनाको जीवित दस्तावेज बनेको हुन्छ । त्यसैले “हाम्रो सहरको कथा“ लेख्नु भनेको कुनै ठाउँको वर्णन मात्र होइन, त्यसको गहिरो आत्मालाई शब्दमा उतार्नु हो । तानसेन जस्तो ऐतिहासिक नगरको कथा लेख्दा त्यसका हरेक नागरिकले आफ्ना पुर्खाले निर्माण गरेको सभ्यता, वर्तमान पुस्ताले भोगिरहेको यथार्थ र भविष्यप्रतिको जिम्मेवारीलाई जोड्नुपर्छ । त्यसका लागि पुस्तकमा निम्न विषयहरू समेटिनु अत्यन्त आवश्यक हुन्छ ।
तानसेनको उत्पत्ति र नामकरण, तानसेन नाम कसरी रÞयो ?,प्राचीन पाल्पा राज्यको इतिहास कस्तो रह्यो ?, सेन राजाहरूको उदय र शासन अवस्थाको अवस्था कस्तो थियो ?, ऐतिहासिक कालक्रम के रह्यो उल्लेख गरिनु जरुरी हुन्छ । त्यसैगरी पाल्पा राज्य र राजनीतिक इतिहास, मुकुन्द सेन, मणिमुकुन्द सेन लगायत सेन राजाहरूद्धारा पाल्पाको विस्तारको अवस्था, प्रशासन, न्याय व्यवस्था, कला र संस्कृतिको संरक्षण ,तत्कालिन सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र जनजिवन र जिविकाको अवस्था उल्लेख गर्न सकियो भने सेन राजा, राज्य र सभ्यताको चित्रण हुनेछ । पाल्पा राज्यको गौरवशाली इतिहास बनाउने नेपाल एकीकरणअघिको पाल्पाको राजनीतिक प्रभावलाई वस्तुगत रूपमा प्रस्तुत गर्नुपर्छ । एउटा सहरलाई बुझ्न त्यसको राज्य परम्परा बुझ्नैपर्छ । कथामा एकीकरणपूर्वको राजनीतिक अवस्था झल्काउन नेपाल एकीकरणमा पाल्पाको पिडाको चर्चा हुनुपर्दछ । कथामा तानसेनको भौगोलिक परिचय , उचाइ, मौसम, भू–बनोट र प्राकृतिक स्रोतको ययार्थ चित्रणले अहिलेको राज्यसंरचनालाई योजना निर्माणमा मद्धत पुग्नेछ । श्रीनगरडाँडाको कथाले संस्कृति,प्रकृति र पर्यटनको आत्मालाई जिवन्त पार्नेछ । सिमानामा रहेको शालिग्रामयुक्त कालीगण्डकी नदी र वरपरका नदी प्रणालीको इकोसिष्टमबाट तानसेनले प्राप्त गरेको लाभको परिचर्चा गर्नेछ । हाम्रो सहरको कथामा सांस्कृतिक सम्पदाको महत्व, वजन र गरिमा उल्लेख हुनेछ । यहाँको लोपोन्मुख नेवारी संस्कृति साथै मगर, ब्राÞमण, क्षेत्री लगायतका समुदायको सद्भावयुक्त मिलन , यहाँका जात्रा,पर्व, परम्परा र पाल्पाली जीवनशैलीको पृथक विशिष्टपन उल्लेख हुनेछ ।
हाम्रो सहरले धार्मिक सम्पदाका रुपमा भगवती मन्दिर,अमरनारायण मन्दिर,मणिमुकुन्देश्वर महादेव, बंशगोपाल,सूर्यकुण्ड,शितलादवी,वालकन्या भगवति,कोकल देवी,रानीघाट महादेव(खड्गभक्तेश्वर), हृषिकेश मन्दिर,माण्डव्य श्रृषिको तपोस्थल,अमरगञ्ज भैरव मन्दिर, गणेश मन्दिर, भिमसेन मन्दिर लगायत विभिन्न मठ–मन्दिरको साथै आधादर्जन बौद्ध विहारहरु, मस्जिद सहितको धार्मिक सहिष्णुतापूर्ण आस्थाको मूल्य बोकेको छ । तानसेन सहर वास्तुकला र सम्पदाका माध्यमबाट आफूलाई अब्वल बनाएको इतिहास गर्विलो छ । यहाँका रानीमहल,पाल्पा दरबार क्षेत्र, शितलपाटी, मुलढोका,निशानधारा, तिनधारा जस्ता ढुङ्गेधाराहरु,पुराना गल्लीहरू,परम्परागत घरहरू र टोलहरु हाम्रो सहरका समृद्धिका परिचायक बनेका छन् । हाम्रो सहरले जीतगढी र राष्ट्रिय स्वाभिमानको मुल अशं बोकेको छ । अंग्रेजसँगको युद्ध राष्ट्रिय गौरवको यथार्थ कथा हो । युवा कर्णेल उजिर सिंह, पाल्पा भगवतीसँगको प्रार्थना, भाकल, जीतगढी युद्धमा विजय प्राप्ती र भगवती रथयात्राको सांस्कृतिक एवं ऐतिहासिक विरासत मात्र होइन सो युद्ध र पाल्पाली नागरिकको सम्वन्धका बारेमा चर्चा हुनै सकेको छैन, हाम्रो सहरको कथाले यो सम्बन्ध उजागर गर्ने छ ।
हाम्रो सहरले शिक्षा र बौद्धिक आन्दोलनमा गज्जवको उदारण बनाएको छ । यहाँका पुराना विद्यालय र तिनका योगदान, धवल पुस्तकालय, साहित्यिक आन्दोलन, भानुभक्तको पाल्पा बसाइको अर्को कथा, विभिन्न विद्वान व्यक्तित्वहरुको उदय, योगदान र इतिहास, संस्कृति र सम्पदाको संरक्षण सन्दर्भका चलाइएका डिष्कोर्ष र अवस्थाको तश्विर कथाले उतार्नेछ । पुरानो तानसेनबाट नयाँ पुस्ताले सिक्नुपर्ने मूल्य र शिक्षाको महत्वपूर्ण पाठ यो नै हुनेछ । हाम्रो सहरले साहित्य, कला र संगीत क्षेत्रमा पनि निकै गहकिलो स्थान बनाएको थियो । यहाँका साहित्यकारको आफ्नै वजन छ । कलाकारले लोकसंगीतमा मौलिक संस्कृतिको स्थान बनाएका थिए । कुनै समय देउराली सांस्कृतिक समूहले अहिले पनि स्मरण गराइरहन्छ ।
पाल्पाली ढाकाको इहिासले ढाकाको राजधानी बनाएको छ । यसको विश्व्यापी विश्वव्यापी पहिचान बनाएको छ । यससँग जोडीएर महिला उद्यमको आफ्नै कथा बनेको छ । पाल्पाको आर्थिक क्षेत्रमा यसको योगदान र व्यापारिक इतिहास बलियो छ । पाल्पाको पुरानो व्यापारिक मार्गको चर्चा अन्तर्राष्टिय स्तरमा उल्लेख छ । बटौली पाल्पाको पुरानो मार्गलाई बहुउद्देश्यि परिभाषामा लिने गरिन्छ । तिब्बत–भारत व्यापारको व्यापारिक, आर्थिक, धार्मिक,सांस्कृतिक, पर्यटकिय पथको रुपमा हेरिने यो बाटो राष्ट्र रक्षाको पैदल मार्ग पनि हो । यस मार्गका कारण बुटवल–तानसेनको अन्योन्याश्रित सम्बन्धलाई परिभाषित हुन्छ । यस बाटोले स्थानीय बजार विकास र विस्तारको ढोका खोलेको थियो । पर्यटन क्षेत्रमा धार्मिक पर्यटन,सांस्कृतिक पर्यटन,प्राकृतिक पर्यटन,ऐतिहासिक पर्यटनका हिसावले यस बाटोलाइ परिभाषित गर्न सकिन्छ । गहन अध्ययनका लागि विषय वस्तु पनि बनेको छ । तानसेनका कथाहरू प्रशस्त रहेका छन् । यहाँ प्रचलित किंवदन्ती,लोककथा,ऐतिहासिक घटनाहरूले सो समयको विविध पक्षको पुराना संस्मरण गराउछन् ।
यसर्थ हाम्रो सहरको चर्चा गर्दा तानसेनको कालक्रम , दुर्लभ पुराना फोटो र वर्तमान फोटोको तुलना, पुराना नक्सा र वर्तमान नक्सा, ऐतिहासिक अभिलेख, ताम्रपत्र, शिलालेख, स्थानीय वृद्धवृद्धाका मौखिक इतिहास,तानसेनका पुराना व्यापारिक घराना, ऐतिहासिक गल्लीहरूको कथा,तानसेनका चोक, टोल र स्थाननामको उत्पत्ति, पुराना पोखरी, पँधेरा र ढुङ्गेधाराको इतिहास, स्थानीय बोलीभाषा र उखान–टुक्का, भूकम्प, महामारी, आगलागी जस्ता घटनाले पारेको प्रभावले तानसेनको भविष्यका सम्भावना र चुनौतीलाइ बुझाउन सहज हुनेछ । समग्रमा, हाम्रो सहरको कथाले केवल इतिहासको संग्रह नभई नागरिक पहिचान, सांस्कृतिक चेतना र भावी पुस्ताका लागि ज्ञानको स्रोत बन्नुपर्छ । यस्तो कथामा तथ्य, अनुसन्धान, स्थानीय अनुभूति र नागरिक जिम्मेवारीको सन्तुलित समावेश आवश्यक हुन्छ । कथा लेखनको उद्देश्य केवल “तानसेन कस्तो थियो“ भन्ने होइन, “तानसेन किन महत्वपूर्ण छ, आज कहाँ उभिएको छ, र भोलिका पुस्ताले यसलाई कसरी जोगाउने?“ भन्ने प्रश्नको उत्तर दिनु पनि हो । हाम्रो सहरको कथाबाट तानसेनको केवल पर्यटन प्रवद्र्धनका लागि लेखिने पुस्तक मात्र हुने छैन । यो नागरिक चेतनाको दस्तावेज, सांस्कृतिक उत्तराधिकारको अभिलेख, ऐतिहासिक अनुसन्धानको आधार र भावी पुस्ताका लागि मार्गदर्शक बन्नेछ ।
अन्त्यमा, आज तानसेन परिवर्तनको नयाँ मोडमा उभिएको छ । शहरीकरण, आधुनिकता, बसाइँसराइ, प्रविधि र बदलिँदो जीवनशैलीले नयाँ अवसर पनि ल्याएका छन् र नयाँ चुनौती पनि । त्यसैले कथाले विगतको गौरव गाएर मात्र रोकिनु हुँदैन; यसले भविष्यको दिशा पनि देखाउनुपर्छ । सम्पदा संरक्षण कसरी गर्ने, युवालाई इतिहाससँग कसरी जोड्ने, पर्यटनलाई दिगो कसरी बनाउने, वातावरणलाई कसरी जोगाउने, आगामी पुस्तालाई आफ्नो पहिचानप्रति गर्व कसरी दिलाउने भन्ने प्रश्नहरूको उत्तर पनि यसले खोज्नुपर्छ । किनकि सहरको समृद्धि केवल अग्ला भवनले मापन हुँदैन; आफ्ना पुर्खाको इतिहासलाई कति सम्मानपूर्वक जोगाएको छ भन्ने कुराले मापन हुन्छ ।

