पाल्पा, पाल्पा प्रहरीले भन्सार छली गरी ल्याइएका करिब चार लाख ६५ हजार रुपैयाँ बराबरका विभिन्न विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, पेडाँडामा शुक्रबार बिहान प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईका अनुसार बुटवलबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ०१२३ नम्बरको ईभी गाडीलाई शङ्का लागेर जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएको विभिन्न विद्युतीय तथा इलेक्ट्रोनिक सामान फेला परेको थियो । प्रहरीका अनुसार बरामद सामानमा टाटा कम्पनीका चार थान एसी सेट, सोही कम्पनीका छ थान टेलिभिजन, एग्रो पाइन रिलिभ एक थान र एलजी बार साउण्ड एक थान रहेका छन् । बरामद गरिएका सबै सामानको अनुमानित मूल्य चार लाख ६५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
सामानसँगै प्रहरीले गाडीका चालक वालिङ नगरपालिका–५ का ३७ वर्षीय यामबहादुर सार्की र सामानधनी नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका–५ का ३७ वर्षीय दिनेशलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भन्सार छली गरी ल्याइएका सामानको स्रोत तथा भन्सारसम्बन्धी कागजातका विषयमा आवश्यक अनुसन्धानसमेत अघि बढाएको जनाएको छ । प्रारम्भिक चेकजाँचका क्रममा सामानसँग सम्बन्धित आवश्यक भन्सार प्रक्रिया पूरा नभएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । डीएसपी भट्टराईका अनुसार बरामद सामान तथा नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय रुपन्देही पठाइएको छ । भन्सार कार्यालयले सामानको थप परीक्षण तथा मूल्याङ्कन गरी प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनेछ । सिद्धार्थ राजमार्ग हुँदै हुने अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय चेकजाँचलाई थप कडाइ गर्दै आएको जनाएको छ । नियमित चेकजाँचका क्रममा राजमार्गमा आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद सामानमाथि निगरानी बढाइएको प्रहरीको भनाइ छ ।

