पाल्पा, पाल्पाका ढाका उद्यमी अनुशेष रायमाझी अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट भएका छन् । पाल्पाको मौलिक ढाका बुनाइलाई आधुनिक व्यवसाय र नयाँ बजारसँग जोड्दै आएका सरस्वती ढाका कपडा उद्योगका सञ्चालक रायमाझी अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘यूएस एम्बेसी इन्टरप्रेनरशिप स्किल डेभलपमेन्ट प्रोग्राम–क्यापस्टोन एक्सेलेरेटर’का लागि देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमा परेका हुन् ।

कार्यक्रमका लागि देशभरबाट ८ सय भन्दा बढी आवेदन परेको थियो । सात प्रदेशका विभिन्न शहरमा सञ्चालन गरिएको क्षेत्रीय कार्यक्रमबाट २ सय भन्दा बढी उद्यमी छनोट गरी प्रशिक्षण दिइएको थियो । व्यवसायिक सम्भावना, नवप्रवर्तन, बजार विस्तार, उद्यमीको प्रतिबद्धता र भविष्यको योजनाका आधारमा गरिएको प्रतिस्पर्धात्मक छनोटबाट २० जना उद्यमी काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका हुन् ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी रायमाझीले पाल्पाली ढाकाको मौलिक पहिचान संरक्षण गर्दै आधुनिक डिजाइन, व्यावसायिक उत्पादन, रोजगारी सिर्जना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारको योजना प्रस्तुत गरेका थिए । पाल्पामा स्थापित सरस्वती ढाका कपडा उद्योगले परम्परागत ढाका कपडासँगै टोपी, शल, साडी तथा विभिन्न लाइफस्टाइल सामग्री उत्पादन गर्दै आएको छ । हाल उद्योगमा ४५ जना महिलाले प्रत्यक्ष रूपमा रोजगार पाएका छन् । उद्योगले परम्परागत बुनाइ सीपको संरक्षणसँगै स्थानीय महिलाका लागि रोजगारी र आयआर्जनको अवसर सिर्जना गरेको छ । क्यापस्टोन एक्सेलेरेटरमा रायमाझीले व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, एआईको प्रयोग, डिजिटल मार्केटिङ तथा अन्तर्राष्ट्रिय बजारमा पहुँचलगायत विषयमा प्रशिक्षण र मेन्टरिङ समेत प्राप्त गरेका थिए । अन्तिम चरणमा उनले लगानीकर्ता, उद्योगी तथा उद्यमशीलता क्षेत्रका विज्ञहरूसमक्ष सरस्वती ढाकाको व्यवसायिक यात्रा र भविष्यको विस्तार योजनाबारे प्रस्तुति दिएका थिए ।रायमाझीका अनुसार पाल्पाली ढाका उत्पादन मात्र नभई पाल्पाको पहिचान, पुस्तौंदेखिको सीप र स्थानीय समुदायको जीविकासँग जोडिएको सम्पदा हो । आधुनिक डिजाइन र नयाँ पुस्ताको बजारसँग ढाकालाई जोड्दै थप रोजगारी सिर्जना गर्ने र पाल्पाली ढाकालाई राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर् याउने उनको लक्ष्य छ ।

क्यापस्टोन एक्सेलेरेटर अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खलाअन्तर्गत सञ्चालित कार्यक्रम हो । कार्यक्रमले नेपाली उद्यमीलाई व्यावसायिक योजना, डिजिटल प्रविधि, एआई, लगानी तयारी, बजार विस्तार र निर्यातसम्बन्धी व्यावहारिक ज्ञान तथा नेटवर्किङको अवसर प्रदान गर्दै आएको छ । उत्कृष्ट २० उद्यमीमध्ये रायमाझीको छनोटलाई पाल्पाको परम्परागत ढाका उद्योगका लागि मात्र नभई स्थानीय सीप, महिला उद्यमशीलता र मौलिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।



