पाल्पा, कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँबराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकको तानसेनस्थित बर्तुङ विस्तारित काउन्टर र पाल्पा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गत लाभग्राहीलाई सो रकम हस्तान्तरण गरेको हो ।
तानसेन नगरपालिका–७, बैसीधारा नमुना टोल, बर्तुङ निवासी सुनिता पौडेलका श्रीमान् अशोक पौडेलको दुर्घटनाबाट निधन भएपछि खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी उक्त रकम हस्तान्तरण गरिएको बर्तुङ विस्तारित काउन्टरका इन्चार्ज विष्णु भट्टराईले जानकारी दिए । बीमा दाबी रकम हस्तान्तरण गर्दै इन्चार्ज भट्टराईले कठिन परिस्थितिमा उक्त रकमले शोकाकुल परिवारलाई आर्थिक सहारा पुग्ने विश्वास व्यक्त गरे । बीमा दाबी रकम बुझ्दै सुनिता पौडेलले श्रीमानको निधनपछि पारिवारिक खर्च व्यवस्थापनमा उक्त रकमले महत्वपूर्ण सहयोग पुग्ने बताइन् ।
बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकका अनुसार ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यको आर्थिक सुरक्षामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बिमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता योजनाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने र आवश्यक समयमा ग्राहक तथा उनीहरूको परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउने विश्वास बैंकले व्यक्त गरेको छ । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ४० शाखारहित बैंकिङ बिन्दु तथा ३०२ एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


