पाल्पा, देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा दुई, करेन्ट लागेर एक तथा अन्य दुई जना मृत अवस्थामा फेला परेका हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ नायकमार्ट नजिक सडकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । रा.१ ग ३२ नम्बरको टिपरले रा.४ प ७९४५ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका–११ कटाह बस्ने २१ वर्षीया कल्पना केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त स्कुटर र क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई स्कुटरलाई पुनः टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । टिपर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको मिनि बस अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मिनि बसमा सवार भक्तपुर सूर्यविनायक बस्ने दोलखा शैलुङ गाउँपालिका–१ घर भएकी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पातलमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । मिनि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ९ जनाको सोही अस्पतालमा र ९ जनाको ग्वार्खोस्थित ग्लोबल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्रुयक अनुसन्धान गरिरहेको छ ।
उता, बाराको आदर्श कोतवाल गाउँपालिका–७ कोतवालीमा करेन्टर लागेर एक जनाको ज्यान गएको छ । बिजुलीको पोलमा रहेको तारबाट करेन्ट लागेर बेल्वाका ६० वर्षीय गणेश महतो कोईरीको मृत्यु भएको हो । गम्भीर घाइते उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मृत अवस्थामा २ जनाको शव फेला परेको छ । दोलखाको भीमेश्वर नगरपालिका–१ डोलागाउँछाप बस्ने ५० वर्षीया गीता थामी सोही ठाउँस्थित आपन्जोर खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ बंकुल टोलस्थित कुलोमा सखुवा प्रसौनी गाउँपालिका–४ कल्याणपुर बस्ने ७४ वर्षीय हिरा माझी बिहीबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


