सुनसरी, सुनसरीको देवानगन्जमा गोली लागि घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट थप उपचारका लागि गत शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो । बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेपछि विराटनगरमै नसाको शल्यक्रिया गरिएको थियो । तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई शिक्षण अस्पताल रेफर गरिएको थियो ।
गत साउन १० गते देवानगन्जको कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना घाइते भएका थिए । यसअघि देवानगन्ज–४ का ओमप्रकाश मेहता र देवानगन्ज–३ का जयप्रकाश मेहताको उपचारकै क्रममा मृत्यु भएको थियो ।


