Shittalpati
जितगढीदेखि तानसेन : ऐतिहासिक विजय पथको पुनर्जीवन

पदम न्यौपाने

“हे भगवती माता हजुरको आशिर्वादले हामीले दुई पटक अंग्रेजहरुको शसक्त आक्रमणलाई निस्तेज पार्न सफल भयौं, हजुरको यो कृपाप्रति हामी नतमस्तक छौं । साष्टाङ्ग दण्डवत सहित यो प्रतिज्ञा गर्दछौं की हजुरको भव्य ३ तले मन्दिर निर्माण सम्पन्न भएपश्चातदेखी माताको प्रतिमूर्ति राखेर हर्षोल्लासका साथ रथ यात्रा निकाली बजार परिक्रमा गर्ने र माताको महिमा र शक्तिको विस्तारमा लाग्नेछौं ।” तत्कालिन कर्णेल उजीरसिंहले अंग्रेज सेनालाई युद्धमा हराएपश्चात पाल्पा मुकाम फर्किएर पाल्पा भगवती माता समक्ष गरेको प्रतिज्ञाको यस्तो हुन सक्ने कल्पना गर्न सकिन्छ, किनकी युद्ध लड्न जानु अगाडि भगवती माता समक्ष यस्तै भाकल गरेर सेना सहित युद्धस्थल बुटवल नुवाकोट गएका थिए ।

इतिहासमा केही विजयहरू केवल युद्ध जितेका घटनाको मात्र चित्रण हुँदैनन्,त्यस्ता युद्धहरु राष्ट्रको स्वाभिमान, आत्मविश्वास र राष्ट्रिय अस्तित्वसँग गाँसिएका अमूल्य स्मृति पनि हुन्छन् । बुटवलको जितगढी विजय पनि त्यस्तै गौरवपूर्ण इतिहासको जिवित चित्रण हो । वि.सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजलाई जितगढीमा पराजित गरेको घटना नेपालको इतिहासमा विशेष महत्व राख्छ । यस अघि वि.स. १८७१मा पनि अग्रेजसँग युद्ध भएको थियो र विजयहासिल गरेको थियो । आज बुटवलमा त्यस्तै दोश्रो पटकको युद्ध या १८७२ बैशाख ७ गतेको विजयको स्मरणमा विजय उत्सव मनाइन्छ । तर यो इतिहासको अर्को महत्वपूर्ण पाटो पनि छ, विजयपछि विजयी सेनाको पाल्पा फर्काइ, भगवतीप्रतिको कृतज्ञता र त्यसबाट जन्मिएको विजयको सांस्कृतिक परम्परालाई पनि उत्तिकै महत्वका साथ जोडिन आवश्यक छ, जुन अहिलेसम्म छुटाइएको छ । कर्णेल उजिरसिंह थापा युद्धमा जानुअघि तानसेनस्थित भगवती मन्दिरमा पुगेर भगवतीसँग विजयको आशीर्वाद मागेको र युद्धमा विजय प्राप्त भएमा भगवतीको भव्य मन्दिर निर्माण गरी जात्रा चलाउने भाकल गरेको विवरण पाइन्छ । युद्धमा विजय हासिल भएपछि उजीर सिंहले आफ्नो प्रतिज्ञाअनुसार रणउजीरेश्वरी भगवतीको तीनतले मन्दिर निर्माण गराए र भगवतीको रथयात्रा अर्थात् सिन्दूर जात्राको परम्परा सुरु गरे । यही परम्परा आजसम्म सांस्कृतिक विरासतको रुपमा निरन्तर चलिरहेको छ । यस घटनालाई केवल धार्मिक आस्थाको विषयका रूपमा मात्र हेर्नु र बुझ्नु इतिहासको आधा पाटो बुझ्नु हो । यसको भित्री मर्म र अर्थ अत्यन्त गहिरो छ । जितगढीमा युद्ध भयो, विजय प्राप्त भयो, अनि विजयी सेनाको स्मृति बुटवल जीतगढीमा विजय उत्सव र पाल्पामा भगवतीको रथयात्रा विरासतका रूपमा जीवित रह्यो ।

अर्थात् बुटवलको जितगढी र पाल्पाको भगवती जात्रा वास्तवमा एउटै ऐतिहासिक घटनाका दुई अभिन्न अध्याय हुन् । एउटा अध्याय युद्धभूमिको विजय हो भने अर्को अध्याय विजयपछि व्यक्त गरिएको कृतज्ञता, आस्था र सांस्कृतिक उत्सव हो । यही पृष्ठभूमिमा आज एउटा महत्वपूर्ण प्रश्न उठाउन सकिन्छ, यदि विजयको कथा जितगढीबाट सुरु भएर पाल्पाको भगवती मन्दिरमा पुगेर पूर्ण हुन्छ भने, त्यस ऐतिहासिक यात्रालाई जोड्ने पुरानो बुटवल–तानसेन बाटोको पहिचान कहाँ छ ? यो प्रश्न केवल मनको कल्पनाको प्रश्न मात्र होइन, यो इतिहासको निरन्तरता र स्मृतिको भूगोलसँग सम्बन्धित प्रश्न पनि हो । यही जिज्ञासा सहित यो आलेखकारले विगत केही समयदेखी भगवती मन्दिर सम्वद्ध समिति, विभिन्न मञ्च, नेपाली सेनाको पाल्पा गण प्रमुखहरु लगायतसँग निरन्तर राख्दै आएको पनि हो । यो आलेखमा यसको सान्दर्भिकता सम्बन्धमा बहसका लागि आमन्त्रण गर्दै विजयपथ पुनस्र्थापना गर्नका लागि आह्हान समेत गरिएको छ ।
 

औचित्यको सार
कर्णेल उजिरसिंहको नेतृत्वमा नेपाली फौज अंग्रेजसँग युद्ध गर्न बुटवलतर्फ गयो । विजय प्राप्त गरिसकेपछि विजयी भावनासहित त्यही ऐतिहासिक मार्ग हुँदै पाल्पा फर्कियो । विजयउत्सव मनाउँदै सेना पाल्पा पुगेपछि भगवती समक्ष विजयको कृतज्ञता व्यक्त गर्ने संकल्प पूरा भयो । यसलाई आजको पुस्ताले कल्पना गर्नुपर्ने ऐतिहासिक दृश्य एउटा यस्तो यात्राको हो,पाल्पाको भगवतीसमक्ष आशीर्वाद मागेर प्रस्थान, जितगढीमा विजय, अनि विजयको उल्लास सहित पुनः पाल्पा आगमनको चरण । यो यात्रा नै वास्तवमा ‘विजयपथ’को सांस्कृतिक अवधारणाको आधार बन्न सक्छ र बनाउनु पर्दछ । अहिले बुटवलमा जितगढी विजय दिवस मनाइन्छ । यो अत्यन्त सकारात्मक, आवश्यक र ऐतिहासको सम्मान पनि हो । यो उत्सवमा फूलबारीस्थित सेनकालिन दरबारको भूमिका समेतलाई स्मरण गर्न जरुरी छ । किनकी जीतगढी क्षेत्र र सो दरबार विचको सम्बन्ध अन्योन्याश्रित रहेको थियो र छ भन्ने प्रमाण अहिले पनि देखिन्छ, अनुभव गर्न सकिन्छ । उत्सव मनाइने क्षेत्र जितगढीमा विजय स्तम्भ, स्मारक, संग्रहालय र ऐतिहासिक संरक्षणका प्रयासहरू अघि बढाइनु पनि समयको माग हो । तर विजयको स्मृति जितगढीमै सीमित हुँदा इतिहासको एउटा महत्वपूर्ण आयाम छुट्न सक्छ गएको भान हुन्छ । किनभने युद्धभूमिमा विजय प्राप्त गर्नु एउटा घटना हो; विजयको स्मृति र कृतज्ञतालाई समाजमा संस्कृतिका रूपमा स्थापित गर्नु अर्को ठूलो उपलब्धि हो ।

पाल्पाको भगवती रथयात्राले यही दोस्रो पक्षलाई प्रतिनिधित्व गर्छ । यसले युद्धको विजयलाई धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक उत्सवसँग जोडेको छ । त्यसैले बुटवलको जितगढी विजय उत्सव र पाल्पाको भगवती रथयात्रालाई अलग–अलग कार्यक्रमका रूपमा मात्र होइन, एउटै ऐतिहासिक विजयका दुई ध्रुर्वका रूपमा स्थापित गर्न सकिन्छ । यही पृष्ठभूमिमा ‘बुटवल–तानसेन विजयपथ’को अवधारणा अघि सार्नु उपयुक्त ठानिएको हो । पुरानो ऐतिहासिक बाटोको अध्ययन, पहिचान, संरक्षण र सम्भव भएसम्म पुनर्जीवन गरी त्यसलाई इतिहास, संस्कृति, पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्न सकिन्छ । यसले सडकलाई मात्र होइन, बाटोमा पर्ने बस्ती, चौतारा, पौवा, पाटी, मन्दिर, गढी, ऐतिहासिक स्थल र पुराना व्यापारिक केन्द्रलाई पनि एउटै सांस्कृतिक मार्गमा जोड्न सक्छ । यस्ता अवधारणाहरुले धेरैको मनमा रहेको चाहानालाई प्रतिविम्वित गर्दछन् । विजयपथको अवधारणा केवल पर्यटकीय दृष्टिको परियोजना बनाइनु हुँदैन । यो पथ इतिहास र संस्कृति पढ्ने खुला संग्रहालय बन्नुपर्छ । विजय पथको अवधारणाबाट अध्येता, खोजकर्ता र विद्यार्थीले यहाँ आएर नेपाल–अंग्रेज युद्धको इतिहास बुझून्,नयाँ पुस्ताले उजिरसिंह थापाको नेतृत्व र योगदानबारे जानून्, स्थानीय समुदायले आफ्नो इतिहाससँग सम्बन्धित मौलिक सम्पदा संरक्षण गरून् र बाह्य पर्यटकले नेपालको वीरता, संस्कृति र धार्मिक आस्थालाई एउटै यात्रामा अनुभव गर्न सकून् भन्नेमा भूमिका निर्वाह गर्नेछ ।
 

अब के गर्ने ?
यसका लागि बुटवलमा हुने विजय उत्सवलाई अझ व्यापक बनाउन जरुरी छ ।  वैशाख ७ गते जितगढीमा विजय दिवस मनाउने र त्यसपछि ऐतिहासिक मार्ग हुँदै पाल्पासम्म पुग्ने ‘विजय यात्रा’ आयोजना गर्ने अवधारणा विकसित गर्न आवश्यक छ । यसलाई कुनै सैन्य प्रदर्शन वा युद्धको आक्रामक स्मरणका रूपमा होइन, राष्ट्रिय स्वाभिमान, शान्ति, एकता र इतिहासप्रतिको सम्मानको सांस्कृतिक यात्राका रूपमा अघि बढाउन सकिन्छ । यस्तो यात्रामा बुटवलदेखि पाल्पासम्मका स्थानीय तह, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेना, स्थानीय समुदाय, विद्यालय, विश्वविद्यालय, पर्यटन व्यवसायी र नागरिक समाजलाई सहभागी गराउन सकिन्छ ।

बाटोमा ऐतिहासिक जानकारी दिने सूचना केन्द्र, डिजिटल अभिलेख, साइनेज र स्मृति चौतारी निर्माण गर्न सकिन्छ । पुरानो बाटोको वैज्ञानिक अध्ययन गरेर जहाँ सम्भव छ त्यहाँ पैदलमार्ग, सांस्कृतिक पदमार्ग वा सम्पदा मार्गका रूपमा विकास गर्न सकिन्छ । यसरी हेर्दा जितगढी विजय उत्सव बुटवलको मात्र उत्सव होइन; यो सम्पूर्ण पाल्पा–बुटवल क्षेत्रको साझा ऐतिहासिक उत्सव हो । त्यसैगरी भगवती जात्रा पाल्पाको मात्र धार्मिक पर्व होइन; यसको ऐतिहासिक जरा जितगढीको विजयसँग जोडिएको छ । यो राष्ट्रिय पर्व पनि हो । त्यसैले यी दुवै पक्षलाई जोडेर एउटा व्यापक सांस्कृतिक आख्यान निर्माण गर्न आवश्यक छ । यस सन्दर्भमा एउटा महत्वपूर्ण सांस्कृतिक प्रतिकको कल्पना गर्न सकिन्छ, ‘जितगढीदेखि भगवतीसम्म’ । वा यसलाई यसरी पनि भन्न सकिन्छ, युद्धभूमिबाट विजयको सन्देश बोकेर फर्किएको ऐतिहासिक यात्रालाई आजको पुस्ताले पुनः सांस्कृतिक यात्राका रूपमा सम्झने । यो यात्रा हतियारको विजयको स्मरणभन्दा माथि उठेर साहस, नेतृत्व, राष्ट्रिय एकता, कृतज्ञता र सांस्कृतिक निरन्तरताको प्रतिक बनाउन जरुरी छ । इतिहासले हामीलाई केवल विगत मात्र सम्झन सिकाउँदैन; इतिहासले वर्तमानलाई आफ्नो जरा चिनाउन र भविष्य निर्माण गर्न पनि प्रेरणा दिन्छ । उजिरसिंह थापाको कथा त्यस्तै प्रेरणाको कथा हो भनिरहनु पर्दैन । युद्धमा जानुअघि आशीर्वाद माग्नु, विजयपछि आफ्नो प्रतिज्ञा पूरा गर्नु र त्यसलाई पुस्तौँसम्म चल्ने सांस्कृतिक परम्परामा बदल्नु—यो इतिहासको अत्यन्त सुन्दर पक्ष हो, गौरव हो । अब समय आएको छ,जितगढीको विजय र भगवतीको विजय रथ यात्रा (भगवति जात्रा) बीचको ऐतिहासिक सेतुका रूपमा बुटवलदेखि तानसेनसम्मको पुरानो बाटोलाई ‘विजयपथ’का रूपमा पहिचान, नामाकरण र संरक्षण गर्ने ।

बुटवलमा विजयको उद्घोष होस्, जितगढीमा इतिहासको स्मरण होस्, पुरानो बाटोमा विजयपथको अनुभूति होस् र तानसेनमा भगवतीसमक्ष कृतज्ञताको सांस्कृतिक अभिव्यक्ति होस् । यसरी मात्र एउटा युद्धको इतिहास पूर्ण वृत्तमा जोडिन्छ—प्रस्थानमा प्रार्थना, युद्धभूमिमा विजय, फर्कंदा उल्लास र अन्त्यमा कृतज्ञता, यो आलेखको मुख्य उद्देश्य यही हो । हामीले जितगढीलाई केवल एउटा किल्ला, भगवतीलाई केवल एउटा मन्दिर र पुरानो बाटोलाई केवल एउटा नून बोक्ने वा व्यापारिक बाटोका रूपमा हेर्नु हुँदैन । यी तीनवटै मिलेर एउटा सम्पूर्ण ऐतिहासिक कथा बनाउँछन् । जितगढी विजयको जन्मभूमि हो, विजयपथ त्यसको यात्रा हो र भगवती मन्दिर त्यस विजयको सांस्कृतिक गन्तव्य । त्यसैले अबको आवश्यकता एउटा नयाँ स्मारक थप्नु मात्र होइन; इतिहासलाई जोड्नु हो । बुटवलको वैशाखे विजय उत्सवलाई पाल्पाको भाद्रको भगवती जात्रासँग जोड्दै, जितगढीदेखि तानसेनसम्मको पुरानो बाटोलाई ‘विजयपथ’का रूपमा विकास गर्न सकेमा यो क्षेत्र नेपालको इतिहास, संस्कृति र पर्यटनको अनुपम धरोहर बन्नाउन हाम्रो पहल प्रारम्भ हुन जरुरी छ ।
 

सारमा,
कर्णेल उजीरसिंह थापाले जितेको विजयभूमि बुटवल हो । उनले विजयको कृतज्ञता अर्पण गरेको सांस्कृतिक भूमि पाल्पा हो । यी दुईलाई जोड्ने ऐतिहासिक बाटो नै हाम्रो साझा ‘विजयपथ’ हो । अन्त्यमा, अब हरेक वैशाख ७ गते बुटवल जीतगढीमा मनाइने विजय उत्सवले एउटा नयाँ सन्देश दिनुपर्छ, ‘जितगढीमा विजय सम्झौँ, विजयपथमा इतिहास पछ्याऔँ र भगवतीको चरणमा कृतज्ञता अर्पण गरौँ ।’ साथै, सेनकालिन पाल्पा राज्यको क्षमता र वजन अनि आधुनिक नेपालको इतिहासमा पाल्पाको विराशतको संयोजन गरौं । यही नै इतिहासप्रति सच्चा सम्मान र भावी पुस्ताप्रतिको हाम्रो सांस्कृतिक जिम्मेवारी हुनेछ ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update