Shittalpati
पाल्पासहित तीन जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु

पाल्पा, पाल्पा, कपिलवस्तु र बाँकेमा बुधबार बिहान भएका तीन छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित ७ जनाको मृत्यु भएको छ ।  सम्बन्धित जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परी पाल्पामा १, कपिलवस्तुमा ३ र बाँकेमा ३ जना गरी ७ जनाको ज्यान गएको हो ।
    
पाल्पाको पूर्वखोला गाउँपालिका–१ तामाखानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लुम्बिनी प्रदेश ०१–००५ प ४०४१ नम्बरको मोटरसाइकल सडकबाट करिब २५ मिटर तल खस्दा चालक पूर्वखोला गाउँपालिका–१ सामुङ्गाका २८ वर्षीय दिमस सारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी जङ्गादी र इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।यस्तै कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकअन्तर्गत महाराजगञ्ज नगरपालिका–२ स्थित गैंडहवा चोक नजिक मदिरा बोकेको ना ५ ख २३६४ नम्बरको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगञ्ज नगरपालिका–३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनिया रहेका छन् । दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका कारण बिहान १० बजेसम्म घटनास्थल तनावग्रस्त बनेको थियो । पछि प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
    
यस्तै, बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा निस्सासिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३४ वर्षीय बिर्जा थारू रहेका छन् । प्रहरीका अनुसार दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा रहेको सेफ्टी ट्याङ्कीभित्र उनीहरू फसेको अवस्थामा मृत भेटिएका थिए । ट्याङ्की फुटाउन जेसीबीको प्रयोग गरी शव बाहिर निकालिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा विषाक्त ग्यासका कारण निस्सासिएर मृत्यु भएको आशङ्क गरिएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए । तीन वटै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update