Shittalpati
अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय मित्रता दिवस नेपालसहित विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
    
यस दिवसले मित्रता, आपसी विश्वास, सद्भाव, सहयोग र सामाजिक एकतालाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । दिवसको अवसरमा विभिन्न देशमा विद्यालय, सामाजिक संस्था तथा समुदायस्तरमा मित्रताको महत्वबारे सचेतना कार्यक्रम, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिन्छ । समाजमा शान्ति, सहिष्णुता र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्न मित्रताको महत्वपूर्ण भूमिका रहने विश्वासका साथ यो दिवस मनाउने गरिएको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत पनि शुभकामना साटासाट गर्दै मित्रताको सम्बन्धलाई थप सुदृढ बनाउने चलन बढ्दो छ । यस अवसरमा विभिन्न व्यक्ति तथा संस्थाले मित्रताले विभेद अन्त्य गरी एकता, सहकार्य र मानवीय सम्बन्धलाई बलियो बनाउने सन्देश दिएका छन् । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो विश्वभरि नै मनाउने गरिन्छ ।

 यो दिवसलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मान्यता दिईसकेको छ । पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीवनमा मानसिक तनाव र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोहि मित्र नहोस् र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उद्देश्य भनेको पनि साथीहरुसँग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनावबाट छुटकारा पाउनु हो । मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले शुरू गरेका हुन् । 

उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने आइडिया निकालेका थिए, तर ग्रीटिङ कार्डस इन्डष्ट्रीले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि गरिएको थियो । वल्र्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले त्यही मितिमा फ्रेन्डशिप डे मनाउने प्रस्ताव गरेको थियो । वल्र्ड फ्रेन्डशिप क्रुसेड एक विश्वव्यापी नागरिक संगठन हो र यसले मित्रताका माध्यमले संसारमा शान्तिको वकालत गर्ने गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा ३० जुलाईलाई फ्रेन्डशिप डेका रूपमा मनाइने घोषणा गरेको थियो । त्यसपछि फ्रेन्डशिप डेलाई आधिकारिक मान्यता दिइयो ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update