Shittalpati
सिद्धार्थ राजमार्गको विकल्प : द्रुतमार्गको बहस

पदम न्यौपाने
सिद्धार्थ राजमार्ग नेपालका पाँच व्यस्त राजमार्ग मध्येको एक हो । रुपन्देहीको बेलहिया–नेपाल भारत सीमा) देखी मध्य नेपालको पर्यटकीय नगरी पोखरा जोड्ने १८१ किमि लम्बाई रहेको यो मार्गले मुख्य रूपमा कृषि उत्पादन र खाद्यान्न ढुवानीका लागि प्रयोगको आवश्यकताले निर्माण गरिएको थियो । नेपालको पश्चिमी विकासको प्रमुख धरोहर सिद्धार्थ राजमार्गले तराईलाई पहाडसँग जोड्दै आएको छ । तर यसको विकल्पका रूपमा प्रस्तावित द्रुतमार्गको बहसले राष्ट्रिय ध्यान खिचिरहेको छ । यो लेखमा राजमार्गको लम्बाई, जिल्लागत प्रभावका तथ्याङ्क, कालीगण्डकी करिडोरसँगको सम्बन्ध र द्रुतमार्गले ल्याउने परिवर्तन तथा अवसरहरूबारे विश्लेषण गरिनेछ । यो राजमार्ग नेपाल–भारत सीमाको बेलहिया (सिद्धार्थनगर) बाट सुरु भएर बुटवल हुँदै तानसेन (पाल्पा), वालिङ, स्याङ्जा, पुतलीबजार र पोखरासम्म पुग्छ । यो १९६४ मा निर्माण सुरु भई १९७१ मा सम्पन्न भएको थियो र १९७२ मा राजा वीरेन्द्रबाट उद्घाटन गरिएको थियो । यो राजमार्गले भरतीय सीमा र पोखरा जोड्ने, पाल्पा, स्याङ्जा र कास्कीलाई खाद्यान्न आपूर्ति गर्ने मात्र होइन यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुलाई बजार पहुँच उपलब्ध गराउने गर्दछ । यो राजमार्ग सञ्चालनमा आएपश्चात गुल्मी, पर्वत, बाग्लु·, म्याग्दी,अर्घाखाँची लगायतका जिल्लाका अधिकाशं क्षेत्रका उत्पादनको बजारीकरण र खाद्यान्न आपूर्तिमा ठूलो मद्दत गर्दै आएको छ । तत्कालिन आवस्थामा नेपालमा राजमार्गको रुपमा रहेको काठमाडौँ विरगञ्ज जोड्ने त्रिभूवन राजपथ मात्र थियो । त्रिभूवन राज पथले काठमाडौंलाई भारतसँग जोड्ने र सिद्धार्थले भारत सिमाना बेहलीया सुनौली देखी पोखरा जोडेको थियो । सन १९६० को दशकमा अन्य राजमार्गहरु पनि निर्माण तत्पश्चात मात्र पूर्वपश्चिम महेन्द्र राजमार्ग, काठमाडौं(कोदारी र पृथ्वी राजमार्ग (नौविसे(पोखरा) जोड्ने सडक सञ्जाल बनेका थिए । सिद्धार्थ राजमार्ग बनेपछि यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यटन विकास र प्रवद्र्धनमा ठूलो प्रभाव पर्नुको साथै राजमार्गले छोएका जिल्लाहरूमा ठूलो परिवर्तन ल्याएको छ । यसले छोका जिल्लामा रुपन्देही बाहेकका सबै जिल्लाहरु पहाडी जिल्ला पर्दछन् । यी जिल्लामा तराईबाट पहाडतर्फ कृषि उत्पादन (तरकारी, फलफूल, दूध आदि) को ढुवानी सजिलो बनाएको छ । यसलाई सिद्धार्थ करिडोरको रुपमा सम्बोधन पनि गरिन्छ । यस करिडोरले व्यापार, उद्योग र बजार पहुँच बढाएको छ । पाल्पा,स्याङ्जा, गुल्मी, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र यता अर्घाखाँची जस्ता जिल्लामा स्थानीय अर्थतन्त्रलाई गतिशिल बनाएको छ । यो मार्गले विशेषगरी भारतसँगको व्यापार पनि सहज बनाएको छ । सिद्धार्थ राजमार्गको ठूलो प्रभाव सामाजिक क्षेत्रमा पनि देखिन्छ । गाउँ–गाउँमा स्वास्थ्य, शिक्षा र रोजगारीको पहुँच बढेको छ । सहायक मार्गहरुबाट बस सेवा र यातायातसँगको पहुँचले जनजीवनलाई सुरक्षित र सहज बनाएको छ । यसका साथै यो मार्ग सिद्धार्थ गौतम (बुद्ध) को नामबाट प्रेरित भएको कारण पनि बेग्लै सांस्कृतिक महत्व पनि बोकेको छ । यो मार्गले मुक्तिनाथ जस्तो पवित्र धार्मिक स्थल, नेपालको चारधाम मध्येका एक रिडिको हृ्षिकेश मन्दिर, कालिगण्डकी नदी र यहाँ पाउने  शालिग्राम लगायतहरूसँगको  पहुँच बढाएको छ । यसैगरी पोखरा जस्तो विविधतायुक्त पर्यटन केन्द्रसँग पनि जोडिएकोले भारतीय पर्यटकका लागि सहज वनाएको छ । यस्तै विविध पक्षले स्थानीय होटल, रेस्टुरेन्ट र हस्तकला उद्योगलाई टेवा दिएको छ । कालीगण्डकी क्षेत्रको इको–टुरिजम र ट्रेकिङलाई सहयोग पुर्‍याएको छ । सिद्धार्थ राजमार्ग कालीगण्डकी करिडोरसँग जोडिएको छ, जसबाट थप रणनीतिक महत्व पाएको छ । कालीगण्डकी करिडोरले मुस्ताङ र चिनको सिमाना कोरोला सम्मको पहुँच बढाएको छ । यो मार्ग भारतीय सिमाना र चिनको सिमाना जोड्ने सबै भन्दा छोटो मार्ग पनि हो । यो पहुँचबाट ऊर्जामा जलविद्युत विकास र प्रसारणमा सहयोग पुग्नेछ । यो पहुँचले सिद्धार्थ राजमार्गलाई उत्तर–दक्षिण करिडोरको हिस्सा बनाएको छ, जसले क्षेत्रीय एकीकरण र आर्थिक वृद्धिलाई थप बल दिएको छ । समग्रमा, यो राजमार्गले पश्चिम नेपालको विकासमा ऐतिहासिक योगदान दिएको छ । यसैगरी यो मार्गले प्रत्यक्ष अप्रत्यक्ष जोडिएका जिल्लाको जिल्लागत जिडिपी र आर्थिक वृद्धिदरमा १–२ प्रतिशतसम्म सहयोग पुर्‍याउने अध्ययनहरूले देखाएका छन् । यि र यस्तै अध्ययन प्रतिवेदनहरुको निष्कर्षले देखाएका अवसर र थप सिर्जना हुन सक्ने अवसर र प्रभावलाई मध्यनजर राख्दै यही राजमार्गका वरीपरि पर्ने र प्रभाव पारेका जिल्लाहरुको सामाजिक आर्थिक रुपान्तरण र उत्पादन बृद्धिका लागि केही वर्ष अगाडिदेखि सिद्धार्थ इकोनोमिक कोरिडोरको अवधारणालाई अगाडि ल्याएको छ ।  यो राजमार्गको प्रभाव र व्यस्तता बढ्न थालेपछि यसको स्तरोन्नती गरी डबल लेनको डेडिकेटेड मार्ग  बनाउन माग हुँदै आएको छ । 
द्रुतमार्ग (फास्ट ट्रयाक) को बहस : 
केही समय यता सिद्धार्थ राजमार्गको विकल्पका रूपमा प्रस्तावित द्रुतमार्ग (सम्भवतः बुटवल–पोखरा क्षेत्रमा छोटो, उच्च गतिको मार्ग, टनेल वा एक्सप्रेसवे) को बहस प्रारम्भ भएको छ । पोखरा र लुम्बिनीको दुरी घटाउने उद्देश्यले यो बहस सरकारीस्तर बाटै सुरु गरिएको छ । यो बहस ल्याउनुमा सरकारी तर्क यस्तो रहेको छ । लुम्बिनीदेखी भैरहवा जाने पर्यटकको समय बचत र सुरक्षा प्रथम आधार बनाइएको छ । यसबाट हालको घुम्ती र केही पहाडी खतरनाक खण्डले घण्टौं लाग्ने यात्रालाई छोट्याएर दुर्घटना घटाउन सक्ने र पोखरा पर्यटनलाई ठूलो बूस्ट दिने छ । यसैगरी ट्राफिक डाइभर्सनको अवसर हुनेछ । यसबाट सिद्धार्थ राजमार्गलाई स्थानीय र कृषि ढुवानीका लागि छोडेर द्रुतमार्गले भारी सवारी र पर्यटक ट्राफिक लिन सक्छ । यसले पुरानो मार्गको मर्मत–सम्भारको दवाब घटाउँछ भनिएको छ । यसैगरी छिटो यातायातले लगानी आकर्षण, उद्योग स्थापना र व्यापार वृद्धि गर्छ । आर्थिक फाइदा दिने र पर्यटनमा गुणात्मक वृद्धि (अन्तर्राष्ट्रिय पर्यटक बढ्ने) विश्वास गरिएकोछ । यसैगरी अन्य अवसरहरू जस्तै रोजगारी सिर्जना (निर्माण र सञ्चालनमा), नयाँ शहरी विकास र स्मार्ट सिटी अवधारणा अगाडि आउने, पर्यावरणीय सन्तुलन हुने र काठमाडौं–पोखरा दवाब घटाउदै क्षेत्रीय सन्तुलन कायम हुने विश्वास लिइएको छ ।
अहिलेको बहस
सिद्धार्थ राजमार्गको अहिलेको १८१ किमिमा पर्ने घुम्तीहरु काट्ने, स्तरोन्नती गर्ने र डबल लेनको डेडिकेटेड बनाउने र यसका लागि रु २५ अर्ब रुपैयाँ खर्च गर्ने र यसका लागि नेपाल सरकार आफै व्यवस्था गर्न सक्दछ । यसो गर्दा हाल राजमार्ग वरी परिररहेका बजार केन्द्रहरुको विस्तार हुने र हालको आर्थिक क्रियाकलापमा थप गतिशिलता आउने हुन्छ । यसो गरिदा पोखरा जाने पर्यटकका लागि दुरीमा कमी नआए पनि समय भने निश्चितरुपमा घट्नेछ । अहिलेको आवश्यकता पनि समय व्यवस्थापन नै हो । यसका साथै बहसमा आएको विकल्पको रुपमा चर्चरे आर्यभञ्ज्याङ र बाँस्टारी आर्यभञ्ज्याङको क्षेत्रमात्र परेको कारण खासै वैकल्पिक भन्न पनि नसकिने भएको कारण हालकै बाटोको स्तरोन्नती उपयुक्त भन्ने तर्कछ । यो तर्क किन पनि जायज छ भने यो बाटो स्तरोन्नती भई यहाँबाट गुड्ने गाडीहरु मध्ये मुक्तिनाथ जाने यात्रुहरु तानसेन, रानीघाट (रानी महल) रिडी हुँदै कालिगण्डकी कोरिडर मार्फत सबै भन्दा छिटो मुक्तिनाथ पुग्न सकिने हुनाले यो कोरिडरमा पर्ने विभिन्न स्थानहरुमा नयाँ अवसरहरु थपिन जाने र अर्थतन्त्रमा निकै फरक आउनेछ । यदि फास्ट ट्र्याकले सिद्धार्थ राजमार्गका मुख्य बजार र बस्तीहरूलाई बाइपास गर्‍यो भने पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, बागलुङ लगायतका जिल्लाका होटल, रेष्टुरेन्ट, यातायात व्यवसाय, साना पसल तथा स्थानीय उत्पादनको बजारमा प्रत्यक्ष असर पर्न सक्छ । अहिले दैनिक हजारौं यात्रु, ढुवानी सवारी र पर्यटक यही राजमार्ग प्रयोग गर्ने भएकाले स्थानीय अर्थतन्त्र यसैमा धेरै हदसम्म निर्भर छ । यात्रु घटेपछि स्थानीय रोजगारी र आयमा पनि कमी आउन सक्छ । अर्को तर्क द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण भयो भने रुपन्देही र पोखराको दुरी झण्डै ४० किमि घट्ने र समय पनि निकै कम लाग्ने हुनाले पर्यटन र आर्थिक गतिविधिमा बढोत्तरी आउने, लगानी अभिवृद्धि हुने, दुई ठूला शहरमा परेको बजारीकरणको चापमा पनि कमी आउने रहेको छ । यसका लागि झण्डै एक खर्ब रुपैयाँ लाग्ने अनुमान रहेको छ । यो रकम नेपाल सरकारको आफ्नै लगानी हुन नसक्ने हुनाले बैदेशिक कर्जा लिनु पर्ने हुन्छ । फास्ट ट्र्याकको सबैभन्दा ठूलो फाइदा भनेको यात्रा समय घट्नु, इन्धन खर्च कम हुनु, ढुवानी सहज हुनु र सडक सुरक्षामा सुधार आउनु हो । बुटवल–पोखरा वा अन्य गन्तव्यबीचको दूरी र समय घटेपछि पर्यटन, उद्योग, व्यापार र राष्ट्रिय अर्थतन्त्रलाई सकारात्मक टेवा पुग्न सक्छ । प्राकृतिक विपद् वा आपतकालीन अवस्थामा पनि वैकल्पिक द्रुतमार्ग उपयोगी हुन्छ । यदाकदा तेश्रो तर्क पनि सुनिन्छ जस अनुसार फास्ट ट्र्याक बनाउनै हुँदैन भन्ने होइन । विकासलाई रोक्नु समाधान होइन; सन्तुलित विकास नै सही समाधान हो । फास्ट ट्र्याकलाई राष्ट्रिय द्रुत यातायातका लागि प्रयोग गर्ने र सिद्धार्थ राजमार्गलाई क्षेत्रीय व्यापार, पर्यटन, सांस्कृतिक सम्पदा (Heritage Corridor) र स्थानीय यातायातको प्रमुख मार्गका रूपमा विकास गर्न सकिन्छ । जे भएपनि सिद्धार्थ राजमार्गको स्तरान्नती जरुरी छ । राजमार्गमा नियमित देखिदै आएका समस्याहरु समाधान अति जरुरी भइसकेको अवस्थालाई कसैले पनि नकार्न सक्दैन ।
अब सिद्धार्थ राजमार्गको दीर्घकालीन रणनीति के बनाउने
राजमार्ग अब पहुँचमार्ग मात्र होइन, जीवनपद्धतीसँंग जोडिएको हुन्छ । दैनिकीसँग सम्बन्ध राखेको हुन्छ । समृद्धिको सपनासँग सम्बन्धी राखेको हुन्छ, चाहे त्यो व्यक्तिको होस् या क्षेत्रको या राष्ट्रको । यसर्थ अब यो राजमार्गका बारेमा दीर्घकालीन रणनीति बनाउन जरुरी देखिन्छ । दीघकालीन रणनीतिमा तानसेन, वालिङ, बागलुङ लगायतका शहरलाई क्षेत्रीय व्यापार केन्द्रका रूपमा विकास गर्ने प्रष्ट लक्ष्य हुनु पर्दछ । सिद्धार्थ राजमार्गलाई हेरिटेज तथा पर्यटन करिडोरका रूपमा प्रवद्र्धन गर्ने कार्यक्रम हुनु पर्दछ । कृषि उत्पादन, स्थानीय उद्योग र हस्तकलाको बजार विस्तार गर्नेमा प्रष्टता हुनुपर्दछ । स्थान विशेष विश्रामस्थल, दृश्यावलोकन केन्द्र, होटल तथा पर्यटन पूर्वाधारमा लगानी बढाउने हुनुपर्दछ । भविष्यमा सम्भावित रेल वा अन्य आधुनिक यातायात सञ्जालसँग यी शहरलाई जोड्ने दीर्घकालीन योजना बनाउने आधार बन्नु पर्दछ ।
निष्कर्ष
सिद्धार्थ राजमार्गको विकल्पमा फास्ट ट्र्याक निर्माण आवश्यक हुन सक्छ, तर त्यसले सिद्धार्थ राजमार्गको महत्व घटाउने होइन, पूरक बन्नुपर्छ । फास्ट ट्र्याकले राष्ट्रिय स्तरको द्रुत आवागमन सम्हाल्ने र सिद्धार्थ राजमार्गले स्थानीय व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र क्षेत्रीय विकासलाई निरन्तर गति दिने गरी नीति निर्माण गर्नुपर्छ । यसरी मात्र पूर्वाधार विकास र स्थानीय अर्थतन्त्रबीच सन्तुलन कायम गर्दै समग्र देशको दिगो विकास सुनिश्चित गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update