Shittalpati
गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

पाल्पा, आज देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ गुरु पूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइने गरिन्छ । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
    
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ ।

गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको ज्योतिष एवं पण्डित होमनाथ न्यौवानेले बताए । उनले भने, “नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ । हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौँ । अनि धर्मलाई पेसासँग । 

जसका कारण धर्म विशुद्ध रूपमा प्रयोग भएको छैन । विषेशगरि गुरु पूर्णिमाको दिन भनेको सम्पूर्ण सठशास्त्रको लिपिबद्ध गरी प्रतिपादन गरेर लोक कल्याणार्थ प्रकाशन गरिएको अवसरमा मनाइँदै आएको छ । र भगवान् वेदव्यासको जन्म जयन्तीको अवसर भएका कारणले पनि यस दिनलाई गुरुहरूप्रति श्रद्धा र सम्मान गरी मनाइँदै आएको छ ।” गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट  गर्दै छन् ।
     
ज्ञान, शिक्षा, संस्कार र जीवनमा सही मार्गदर्शन प्रदान गर्ने गुरुहरूप्रति सम्मान व्यक्त गर्दै विभिन्न विद्यालय, क्याम्पस, धार्मिक संस्थान तथा समुदायमा विविध कार्यक्रम आयोजना गरिएका छन् । गुरु पूर्णिमाका अवसरमा विद्यार्थीहरूले आफ्ना शिक्षक तथा गुरुजनलाई टीका, फूलमाला र सम्मानपत्र प्रदान गरी आशीर्वाद लिने गर्दछन् । कतिपय स्थानमा प्रवचन, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम तथा वृक्षरोपणजस्ता सामाजिक गतिविधिसमेत सञ्चालन गरिदैं छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update