पाल्पा, नेपाली कांग्रेस पाल्पाले पार्टीका वरिष्ठ नेता, पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा शोक वक्तव्य जारी गर्दै निधनको खबरले पाल्पा काँग्रेस स्तब्ध भएको भन्दै दुःख व्यक्त गरिएको हो ।
सभापति श्रेष्ठले नेपाली कांग्रेस पाल्पा तथा आफ्नो व्यक्तिगत तर्फबाट स्वर्गीय गोपालमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । शोक वक्तव्यमा स्वर्गीय श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण तथा राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।
वक्तव्यमा गोपालमान श्रेष्ठले उपप्रधानमन्त्रीका साथै शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा भू–संरक्षण तथा उद्योगमन्त्रीका रूपमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै देश र जनताको सेवामा समर्पित जीवन बिताएको जनाइएको छ । उनी २०१७ सालदेखि निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय रहँदै २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेस पाल्पाले स्मरण गरेको छ । लोकतन्त्र, संविधान र जनअधिकारको पक्षमा उनले पुर्याएको अतुलनीय योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने वक्तव्यमा उल्लेख छ ।

