Shittalpati
तानसेनमा २४सै घण्टा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन हुँदै 

पाल्पा, पाल्पाको तानसेनमा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नयाँ पोलिक्लिनिक सञ्चालनमा आउने भएको छ । खस्यौली स्वास्थ्य केन्द्रका डा. चुरामणि रेग्मी नेतृत्वको टोलीले तानसेन नगरपालिका–३, सिल्खानटोलमा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालनको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।
    
आइतबार आयोजित पत्रकार सम्मेलनमा डा. रेग्मीले जिल्लावासीलाई गुणस्तरीय, सर्वसुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित पोलिक्लिनिक सञ्चालन गर्न लागिएको जानकारी दिए । उनका अनुसार सेवा सुरु भएपछि सामान्यदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्मका लागि बुटवल, भैरहवा, काठमाडौंलगायतका सहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ । पोलिक्लिनिकबाट नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श तथा आवश्यक उपचार सेवा उपलब्ध गराइनेछ । साथै २४ सै घण्टा चिकित्सकसहितको आकस्मिक सेवा, ओपीडी, प्रयोगशाला, भिडियो एक्स–रे  (अल्ट्रासाउन्ड), एक्स–रे, ईसीजी तथा आवश्यक औषधि सेवा सञ्चालन गरिने डा. रेग्मीले बताए । 

उनका अनुसार बालरोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, छाला रोगलगायत विभिन्न विधाका विशेषज्ञ सेवा पनि नियमित रूपमा उपलब्ध हुनेछ । तानसेनमा हालसम्म सहज रूपमा उपलब्ध नभएका केही स्वास्थ्य सेवासमेत यस पोलिक्लिनिकमार्फत प्रदान गरिने उनले जानकारी दिए । डा. रेग्मीका अनुसार पोलिक्लिनिक सञ्चालनका लागि प्रारम्भिक चरणमा ८० लाख रुपैयाँ लगानी गरिएको छ । आवश्यक भवन व्यवस्थापन, आधुनिक स्वास्थ्य उपकरण जडान, दक्ष जनशक्ति व्यवस्थापन तथा सेवा सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उनले बताए । उनले भविष्यमा पोलिक्लिनिकलाई सुविधासम्पन्न अस्पतालका रूपमा विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै गुणस्तरीय, विश्वासिलो र नागरिकमैत्री स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

 कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण नागरिकहरू उपचारका लागि बुटवल, भैरहवा, काठमाडौंलगायतका सहर जान बाध्य रहेको उल्लेख गर्दै अब तानसेनमै २४सै घण्टा विशेषज्ञ सेवा सञ्चालन हुन लाग्नु सकारात्मक उपलब्धि भएको बताए । उनले पोलिक्लिनिकको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा सहभागी पत्रकारहरूले स्वच्छ प्रतिस्पर्धा, गुणस्तरीय सेवा र बिरामीमैत्री व्यवहारलाई प्राथमिकता दिँदै सेवा सञ्चालन गर्न सुझाव दिएका थिए । पत्रकार सम्मेलनको सञ्चालन सन्तोष ज्ञवालीले गरेका थिए ।


 

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update